काठमाडौं।
अविरल वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारीसाधन सञ्चालन रोकिएको छ।
आइतबार अपराह्न करिब ३ बजेदेखि चौकीडाँडा र घुमाउने क्षेत्रको डाइभर्सनमा क्षति पुगेपछि राजमार्ग हुँदै चल्ने सबै प्रकारका सवारीसाधनलाई रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार राजमार्गको प्रभावित खण्ड सुरक्षित नबन्दासम्म यातायात सञ्चालन गरिने छैन। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै दुवैतर्फबाट आएका सवारीसाधनलाई विभिन्न स्थानमा रोकिएको उनले बताए।
प्रहरीका अनुसार काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेका सवारीलाई काभ्रेभञ्ज्याङ र मंगलटार क्षेत्रमा तथा पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीलाई सिन्धुलीको नेपालथोकमा होल्ड गरिएको छ।
सडकको अवस्था सुधार भएपछि मात्रै यातायात सञ्चालनबारे निर्णय गरिने प्रहरीले जनाएको छ।











प्रतिक्रिया