आमिर खानले गौरी स्प्राटसँग गरे तेस्रो विवाह, सार्वजनिक भयो विवाहको पहिलो तस्बिर


बलिउडका चर्चित अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्राटले कानुनी रूपमा विवाह गरेका छन्। दुवैले विशेष विवाह ऐनअन्तर्गत आईतवार रजिस्टर्ड विवाह गरेर नयाँ जीवनको सुरुवात गरेका हुन्।

विवाहपछि आमिरको टोलीले सामाजिक सञ्जालमार्फत नवविवाहित जोडीको पहिलो आधिकारिक तस्बिर सार्वजनिक गरेको छ। सार्वजनिक तस्बिरमा आमिर र गौरी भुइँमा बसेर विवाह दर्तासम्बन्धी कागजातमा हस्ताक्षर गरिरहेको देखिन्छ। उनीहरूसँग परिवारका सदस्य र सन्तानहरू पनि उपस्थित रहेको बताइएको छ।

विवाह समारोह निकै सादगीपूर्ण र सीमित पारिवारिक उपस्थितिमा सम्पन्न भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आमिर र गौरीले भव्य कार्यक्रमभन्दा पारिवारिक वातावरणलाई प्राथमिकता दिएको बताइएको छ।

आमिर खानका लागि यो तेस्रो विवाह हो। यसअघि उनले रीना दत्ता र किरण रावसँग विवाह गरेका थिए। सम्बन्धविच्छेदपछि पनि उनी दुवैसँग मैत्रीपूर्ण सम्बन्धमा रहेका छन्।

केही समयदेखि आमिर र गौरीको सम्बन्ध चर्चामा थियो। अन्ततः दुवैले औपचारिक रूपमा विवाह गर्दै आफ्नो सम्बन्धलाई नयाँ नाम दिएका छन्। विवाहको पहिलो तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ।