वासिङ्टन।
संयुक्त राज्य अमेरिकाले ब्रिटेनबाट स्वतन्त्र भएको २५०औँ वार्षिकोत्सव मनाइरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै ‘अमेरिकी सपना’ पुनः फर्किएको दाबी गरेका छन्। उनले आफ्नो प्रशासनका उपलब्धिहरूको चर्चा गर्दै राजनीतिक विरोधीमाथि समेत कडा टिप्पणी गरेका छन्।
करिब ४० मिनेट लामो सम्बोधनमा ट्रम्पले अमेरिकी उद्यमशीलता, राष्ट्रिय गौरव र सुरक्षा व्यवस्थाको चर्चा गरे। उनले सेना र प्रहरीमा भर्ती हुन चाहनेको संख्या बढेको उल्लेख गर्दै अहिले ती क्षेत्रमा जागिर पाउन झनै प्रतिस्पर्धा बढेको बताए।
भाषणका क्रममा ट्रम्पले ‘कम्युनिस्ट’ र ‘साम्यवाद’माथि तीव्र आलोचना गरे। उनले साम्यवादलाई ‘क्यान्सर’सँग तुलना गर्दै त्यसलाई निर्मूल गर्नुपर्ने धारणा राखे। ट्रम्पले यसअघि पनि डेमोक्र्याट र आफ्ना राजनीतिक विरोधीहरूलाई ‘कम्युनिस्ट’को संज्ञा दिँदै आएका छन्।
‘स्यालुट टु अमेरिका’ नाम दिइएको समारोह खराब मौसमका कारण केही घण्टा ढिलो सुरु भएको थियो। कार्यक्रममा ऐतिहासिक अमेरिकी झण्डाको प्रदर्शन, युद्ध नायकहरूको सम्मान तथा विभिन्न सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो।
सम्बोधनका क्रममा ट्रम्पले आफ्नो विधायी एजेन्डाबारे पनि चर्चा गरे। उनले मतदान प्रणालीमा सुधार ल्याउने उद्देश्यसहित प्रस्ताव गरिएको ‘सेभ अमेरिका एक्ट’ पारित गराउने प्रतिबद्धता व्यक्त गरे। उक्त प्रस्तावमा मतदानका क्रममा नागरिकता र परिचय खुल्ने प्रमाण अनिवार्य गर्ने तथा विशेष अवस्थाबाहेक हुलाकमार्फत मतदानमा कडाइ गर्ने व्यवस्था समेटिएको छ।
यसैगरी उनले जन्मसिद्ध नागरिकताको व्यवस्थामा परिवर्तन गर्ने प्रयास र अमेरिकी संविधानको दोस्रो संशोधनअन्तर्गत रहेको हतियार बोक्ने अधिकारको संरक्षणमा आफ्नो प्रशासन प्रतिबद्ध रहेको बताए।
ट्रम्पले विदेश नीतिका विषय पनि उठाउँदै भेनेजुएला र इरानसँग सम्बन्धित अमेरिकी सैन्य गतिविधिको उल्लेख गरेका थिए।
यद्यपि ट्रम्पको सम्बोधन विवादरहित भने रहेन। विपक्षीहरूले स्वतन्त्रता दिवसजस्तो राष्ट्रिय अवसरलाई उनले राजनीतिक रूपमा उपयोग गरेको आरोप लगाएका छन्। ट्रम्पले आफूलाई राष्ट्रिय उत्सवको केन्द्रमा राख्ने प्रयास गरेको भन्दै आलोचना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।











प्रतिक्रिया