काठमाडौं।
छत्तीसगढको प्रसिद्ध लोककला पाण्डवनीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने पद्मविभूषण सम्मानित गायिका डा. तीजन बाईको ७० वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि पार्किन्सनलगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेकी तीजन बाईले आइतबार बिहान रायपुरस्थित एम्स अस्पतालमा अन्तिम सास फेरिन्।
एम्स रायपुरका जनसम्पर्क अधिकारी डा. लक्ष्मीनारायण चौधरीका अनुसार तीजन बाईलाई गत मे २७ मा अस्पतालमा भर्ना गरिएको थियो। जुलाई ४ र ५ को मध्यरात २:४५ बजे उनलाई हृदयघात भएको र उपचारकै क्रममा बिहान करिब ३:१५ बजे उनको निधन भएको हो।
तीजन बाई आफ्नो सशक्त आवाज, प्रभावशाली अभिनय र विशिष्ट प्रस्तुति शैलीका कारण परिचित थिइन्। उनले महाभारतका कथालाई पाण्डवनी गायनमार्फत जीवन्त रूपमा प्रस्तुत गर्दै यस लोककलालाई भारत मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि स्थापित गराएकी थिइन्।
छत्तीसगढको भिलाईस्थित गनियारी गाउँमा जन्मिएकी उनले सानै उमेरदेखि पाण्डवनी गायन सुरु गरेकी थिइन्। १३ वर्षको उमेरमै पहिलोपटक मञ्चमा प्रस्तुति दिएकी उनी पछि यस विधाकी सबैभन्दा चर्चित कलाकारका रूपमा स्थापित भइन्।
दशकौँ लामो सांगीतिक यात्रामा उनले भारतका साथै विभिन्न देशमा पाण्डवनी प्रस्तुत गर्दै यस लोककलाको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्याइन्। भारतीय लोककला र संस्कृतिमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई पद्मश्री, पद्मभूषण र भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्मविभूषणबाट सम्मानित गरिएको थियो।
तीजन बाईको निधनसँगै भारतीय लोकसंगीत तथा पाण्डवनी परम्पराले एक युगान्तकारी कलाकार गुमाएको छ। बीबीसी











प्रतिक्रिया