काठमाडौं ।
पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले लगातार चौथो हार बेहोरेको छ ।
आइतबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक चौथो खेलमा दुई पटकसम्म बनाएको अग्रता जोगाउन नसक्दा नेपाल बंगलादेशसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुग्यो। उत्कृष्ट सुरुवात गर्दै नेपालले पहिलो सेट २५–१८ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेर २–१ को अग्रता बनाएको थियो । तर, निर्णायक क्षणमा लय गुमाउँदा बंगलादेशले २५–१९ र २५–२३ ले चौथो सेट जित्दै खेललाई पाँचौँ सेटमा पुर्यायो । अन्तिम तथा निर्णायक सेटमा बंगलादेशले १५–११ को जित निकाल्दै खेल आफ्नो बनायो ।
प्रतियोगितामा नेपालको यो तेस्रो पाँचौँ सेटको पराजय हो । यसअघि श्रीलंका र काजकस्तानविरुद्ध पनि नेपाल निर्णायक सेटसम्म पुगेर पराजित भएको थियो भने आयोजक पाकिस्तानसँग सोझै ३–० को सेटमा हार बेहोरेको थियो । नेपाल, पाकिस्तान, काजकस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान सहभागी ६ राष्ट्रिय टोलीबीच राउन्ड रोबिन प्रणालीमा सञ्चालित प्रतियोगिताका शीर्ष चार टोली सेमिफाइनल पुग्ने प्रावधान छ । लगातार चौथो हारसँगै अघिल्लो चरणको यात्रा कठिन बनेको नेपालले आफ्नो अन्तिम लिग खेल सोमबार उज्वेकिस्तानविरुद्ध खेल्दैछ ।











प्रतिक्रिया