युवामा बढ्दो कब्जियत संकट, लाजले लुकाउँदा शल्यक्रियासम्म

1.6k
Shares

काठमाडौं। 

१८ वर्षीया एक युवती महिनौंदेखि शौचालय जान डराउन थालेकी थिइन् । दिसा गर्दा असह्य पीडा हुन्थ्यो । हरेक पटक दिसासँगै रगत बग्थ्यो । बेला बेलामा भित्री वस्त्रसमेत रगतले भिज्थ्यो । कलेजमा लामो समय बस्न सक्दिनथिन्, साथीहरूसँग सहज भएर हिँडडुल गर्न पनि अप्ठ्यारो हुन्थ्यो । खाना खाएपछि दिसा लाग्ने डरले खानासमेत कम गर्न थालिन् । तर, मलद्वारको समस्या भएकै कारण परिवार, साथीहरुलाई भन्न लाज लाग्यो । अन्ततः पीडा असह्य भएपछि अस्पताल पुगिन्, जहाँ चिकित्सकले शल्यक्रिया गर्नुप¥यो ।

यो घटना अहिले नेपालका युवामा तीव्र रूपमा बढिरहेको कब्जियत र मलद्वारसम्बन्धी रोगको प्रतिनिधि उदाहरण भएको चिकित्सकहरू बताउँछन् ।

दिसा गर्न नसक्दा रगत बग्ने, लाजले चिकित्सककहाँ नजाँदा शल्यक्रियासम्म

युवामा बढ्दो कब्जियत र मलद्वार रोगको जोखिम; जंकफुड,पानीको मात्रा कमी, अनियमित खानपान, अनिन्द्रा र मोबाइल जीवनशैली मुख्य कारण

धुलिखेल अस्पतालका कोलोरेक्टल तथा आन्द्राको जनरल सर्जन डा. बलराम मल्लका अनुसार पछिल्लो समय युवा तथा किशोरकिशोरीमा कब्जियतको समस्या उल्लेख्य रूपमा बढिरहेको छ । यसको प्रमुख कारण पर्याप्त पानी नपिउनु, पानीको सट्टा जुस तथा अन्य पेय पदार्थलाई प्राथमिकता दिनु, अत्यधिक प्रशोधित (प्रोसेस्ड) खाना सेवन गर्नु तथा खानामा रेसायुक्त (फाइबरयुक्त) पदार्थको कमी हुनु हो । “तनावले पनि दिसा गर्ने बानीमा परिवर्तन ल्याउँछ, जसले कब्जियतको समस्या थप बढाउँछ,“ उहाँ भन्नुहुन्छ । 

डा. मल्लका अनुसार अहिले यो समस्या युवामा मात्र सीमित छैन, प्रसूति तथा सुत्केरी महिला, जेष्ट नागरिक, साना बालबालिकामा समेत कब्जियत र पेट दुख्ने समस्या बढ्दै गएको छ । “समाधानका लागि दैनिक पर्याप्त पानी पिउने, नियमित समयमा खाना खाने, प्रशस्त फलफूल, सागसब्जी तथा फाइबरयुक्त खाना खाने, तनाव कम गर्ने र खाजाको रूपमा चाउचाउ जस्ता प्रशोधित खाना खाने बानी त्याग्न आवश्यक छ,“ उहाँले सुझाव दिनुभयो । “जुसले पानीको आवश्यकता पूरा गर्दैन, त्यसैले दैनिक पर्याप्त मात्रामा सफा पानी पिउने बानी बसाल्नुपर्छ,“ उहाँको भनाइ छ । कोलोरेक्टल तथा जनरल सर्जन डा. बलराम मल्लका अनुसार पछिल्लो समय विद्यालय र कलेज पढ्ने उमेरका किशोर–किशोरीमा कब्जियत, मलद्वार च्यातिने (एनल फिसर), पाइल्सलगायत समस्या उल्लेखनीय रूपमा बढेका छन् । यसको मुख्य कारण बदलिँदो जीवनशैली र खानपान रहेको उहाँ बताउँनुहुन्छ ।

“अहिलेका युवाहरूले पर्याप्त पानी पिउँदैनन् । बिहानको खाना छाड्ने, दिउँसो ढिलो खाने, बेलुका जंकफुड खाने, फलफूल र हरियो सागसब्जी कम खाने बानी बढेको छ । त्यसमा रातिसम्म मोबाइल चलाउने, तनावमा बस्ने र शौचालयमा पनि लामो समय मोबाइल हेरेर बस्ने बानीले हरेक दिन नियमित समयमा दिसा नहुँदा कब्जियत बढाइरहेको छ,“ डा. मल्लले नेपाल समाचारपत्रसँग भन्नुभयो । 

उहाँका अनुसार कब्जियत लामो समय रहँदा मल कडा हुन्छ । दिसा गर्दा अत्यधिक जोड लगाउनुपर्ने भएकाले मलद्वारमा चिरा पर्छ, कमलो मासु फाटिन्छ, रगत बग्न थाल्छ र असह्य पीडा हुन्छ । मलद्धारमा डल्ला, मासुको लुन्द्रा निस्कने, सुन्निने र मलद्धार साघुरो हुने, दिसा बस्दा पोल्ने, दख्ने, लामो समय सिटमा बस्दा या हिड्दा पनि गाह्रो हुने, चिडचिडाहट हुने, धेरै दुखाइले मानिस अचेत समेत हुन सक्छ । त्यसैले समयमै उपचार नगरे सामान्य समस्या पनि शल्यक्रिया गर्नुपर्ने अवस्थासम्म पुग्न सक्छ ।

डा. मल्लका अनुसार धेरै युवाले लाजका कारण समस्या लुकाउने गर्छन् । “दिसा गर्दा रगत आउने, मलद्वार दुख्ने वा गिर्खा आउने समस्या भए पनि परिवारलाई भन्न सक्दैनन् । अस्पताल आउँदा रोग निकै जटिल भइसकेको हुन्छ,“ उहाले भन्नुभयो ।

चिकित्सकहरूका अनुसार अहिले धेरै विद्यार्थी बिहान केही नखाई स्कूल, कलेज जाने, क्यान्टिन र बाहिरका चिल्लो, मसलेदार मैदाका परिकार र प्रशोधित जुसहरु खाने । दिनभर पानी कम पिउने, मोमो, चाउमिन, चाउचाउ, पानीपुरी, समोसाजस्ता झटपटे खाना खाने र राति अबेरसम्म मोबाइल तथा सामाजिक सञ्जालमा व्यस्त रहने प्रवृत्ति बढेको छ । पढाइको तनाव र मानसिक दबाबले पनि पाचन प्रणालीमा असर पारिरहेको उनीहरूको भनाइ छ ।

विशेषज्ञहरूका अनुसार शौचालयमा मोबाइल लिएर लामो समय बस्ने बानीले पनि मलद्वारमा अनावश्यक दबाब बढाउँछ । यसले पाइल्स र अन्य रोगको जोखिम बढाउने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् ।

डा. मल्लले समस्या रोकथामका लागि दैनिक पर्याप्त पानी पिउने, रेसायुक्त खाना, फलफूल र हरियो तरकारी खाने, बिहानको खाना नछाड्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा दिसा रोक्ने बानी त्याग्न सुझाव दिनुभयो । “कलेज जाने विद्यार्थीले सकेसम्म घरमै बनेको खाना र फलफूल बोकेर लैजानुपर्छ । कब्जियतलाई सामान्य समस्या भनेर बेवास्ता गर्नु हुँदैन,“ उहाँले भन्नुभयो ।

स्वास्थ्यकर्मीहरूका अनुसार यो समस्या व्यक्तिगत बानीमा मात्र सीमित छैन । परिवारले पनि बालबालिकाको खानपानमा ध्यान दिनु, जंकफुडको प्रयोग घटाउनु र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु आवश्यक छ । विद्यालय र कलेजले समेत पोषण तथा स्वास्थ्य शिक्षालाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ ।

विशेषज्ञहरूले सरकारले पनि विद्यालय वरपर खुला रूपमा बिक्री हुने अस्वस्थकर जंकफुड, अत्यधिक तेल, नुन र मसला भएका खाद्य पदार्थको गुणस्तर परीक्षण तथा अनुगमन कडा बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । सुरक्षित खाद्य वातावरण, पोषणसम्बन्धी जनचेतना र विद्यालय तहदेखि स्वस्थ खानपानको संस्कार विकास गर्न नसके युवामा कब्जियत र पाचन प्रणालीका रोग अझ बढ्ने चेतावनी उनीहरूको छ ।

चिकित्सकहरूको सन्देश स्पष्ट छ—दिसा गर्दा रगत आउने, मलद्वार दुख्ने वा कब्जियत लामो समय रहने समस्या लाज मान्ने विषय होइन । समयमै उपचार गरे सामान्य औषधि र जीवनशैली परिवर्तनबाट निको हुन सक्छ, ढिला गरे शल्यक्रियासम्म पुग्न सक्छ ।