शुल्क नतिर्ने मेडिकल कलेजलाई काउन्सिलको चेतावनी

बक्यौता नतिरे विद्यार्थीको अस्थायी दर्ता रोकिने


काठमाडौं। 

नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना शुल्कबापत काउन्सिललाई बुझाउनुपर्ने बाँकी रकम तत्काल भुक्तानी नगर्ने मेडिकल तथा डेन्टल कलेजका विद्यार्थीको अस्थायी दर्ता (प्रोभिजनल रजिस्ट्रेसन) तथा विदेशी चिकित्सक शिक्षकको दर्ता (फरेन नेसनल डाक्टर्स रजिस्ट्रेसन) प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।

काउन्सिलले बिहीबार सूचना जारी गर्दै नेपालमा चिकित्सा शिक्षा सञ्चालन गरिरहेका केही मेडिकल तथा डेन्टल कलेजहरूले विद्यार्थी भर्ना तथा अन्य शीर्षकमा काउन्सिललाई बुझाउनुपर्ने शुल्क लामो समयदेखि नतिरेको जनाएको हो ।

यसअघि काउन्सिलले २०८२ चैत २७ गते गोरखापत्रमार्फत र २०८३ वैशाख २४ गते आफ्नो आधिकारिक वेबसाइटमार्फत बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको थियो। ती सूचनापछि आफ्नो दायित्व पूरा गरी बाँकी रकम बुझाएका संस्थाप्रति काउन्सिलले धन्यवाद समेत व्यक्त गरेको छ ।

तर, पटक–पटकको सूचना र पत्राचारपछि पनि केही मेडिकल तथा डेन्टल कलेजले हालसम्म बक्यौता रकम नतिरेको काउन्सिलको भनाइ छ । काउन्सिलले २०८३ जेठ १८ गतेको पूर्वनिर्णयअनुसार बक्यौता रकम उल्लेख गर्दै सम्बन्धित संस्थाहरूलाई पुनः पत्राचारसमेत गरिसकेको जनाएको छ ।

काउन्सिलका रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी सूचनामा अब पनि बक्यौता नतिरे सम्बन्धित कलेजका विद्यार्थीको प्रोभिजनल रजिस्ट्रेसन तथा विदेशी नागरिक चिकित्सक शिक्षकको दर्ता प्रक्रिया रोकिने स्पष्ट गरिएको छ ।

काउन्सिलले यस निर्णयबाट विद्यार्थी वा संस्थालाई पर्न सक्ने असुविधा तथा क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित मेडिकल तथा डेन्टल कलेज स्वयंले वहन गर्नुपर्ने स्पष्ट पारेको छ ।

चिकित्सा शिक्षा नियमन गर्ने निकायले आर्थिक दायित्व पूरा नगर्ने संस्थाविरुद्ध कडाइ गरेसँगै बक्यौता नतिर्ने मेडिकल कलेजहरू थप दबाबमा परेका छन् ।