काठमाडौँ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले पदभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले गरेका ४८ प्रमुख कार्य सार्वजनिक गरेकी छन्।
मन्त्रालयका अनुसार २२३ वटा स्थानीय तहमा रिक्त वा निमित्तको भरमा रहेका प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति गरिएको छ। सहकारी क्षेत्रतर्फ १ हजार ७५४ साना बचतकर्तालाई दुई करोड ६३ लाख रुपैयाँ फिर्ता गरिएको छ भने १५४ ऋणीबाट चार करोड ३२ लाख ८२ हजार ३१० रुपैयाँ ऋण असुली गरिएको जनाएको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई २९ वटा लालपुर्जा वितरण गरिएको छ। साथै, ६ स्थानीय तहबाट नापी तथा मालपोत सेवा विस्तार गरिएको र वडा तहबाट डिजिटल सिफारिस गर्ने सफ्टवेयर परीक्षणको चरणमा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएको, बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नेपाल सरकारको नाममा कायम गरेको तथा मालपोत र नापी कार्यालयमा सेवाग्राहीबाहेक अन्य व्यक्तिको प्रवेशमा रोक लगाएको पनि जनाएको छ।
त्यसैगरी बागमती, गण्डकी र मधेश प्रदेशमा निजामती अस्पतालको सेवा विस्तार गरिएको तथा सिंहदरबार परिसरमा निजामती अस्पतालको सेवा एकाइ सञ्चालनमा ल्याइएको उल्लेख छ।
विदेशी आवासीय अनुमति लिएका तथा लामो समय सम्पर्कविहीन रहेका आठ कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै, बैंकबाटै जग्गा रोक्का–फुकुवा गर्ने व्यवस्था, ‘मेरो कित्ता’ मोबाइल एप सञ्चालन तथा रावल आयोग र सहकारी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।














प्रतिक्रिया