काठमाडौं ।
पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तको सीमावर्ती दाना सार क्षेत्रमा भएको भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने ८ जना घाइते भएका छन्।
बलुचिस्तान सरकारका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको यात्रुवाहक बस शेरानी जिल्लाको पहाडी सडकमा अनियन्त्रित भई सयौं फिट गहिरो खोंचमा खसेको थियो। दुर्घटनापछि बस पूर्ण रूपमा ध्वस्त भएको छ।
बलुचिस्तानका मुख्यमन्त्रीका सहायक शाहिद रिन्दले दुर्घटनामा ४० जनाको ज्यान गएको पुष्टि गर्दै घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाग्रस्त बसले आफ्ना यात्रुसँगै अर्को बिग्रिएको बसका यात्रुहरूलाई समेत बोकेको देखिएको छ। यसका कारण बसमा क्षमता भन्दा बढी यात्रु रहेको आशंका गरिएको छ।
दुर्गम पहाडी भू–भाग र गहिरो खोंचका कारण उद्धार कार्य निकै कठिन बनेको थियो। उद्धार टोलीले धेरै घण्टाको प्रयासपछि शव तथा घाइतेहरूलाई बाहिर निकालेको जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रूपमा तीव्र गति, प्राविधिक समस्या वा चालकको नियन्त्रण गुम्नु दुर्घटनाको सम्भावित कारण हुन सक्ने अनुमान गरिएको छ।











प्रतिक्रिया