मुगु । तीन वर्षअघि सोरु गाउँपालिकाको तारापानीमा आएको बाढीपहिरो प्रभावितको पुनस्र्थापना एवं राहतका लागि विनियोजित रकम वितरणमा भएको ढिलाइ र लापरबाही, कोभिड–१९ महामारीका बेला सोरु गाउँपालिकाले गरेको स्वास्थ्य सामग्री खरिद तथा वितरणमा देखिएको अनियमितता तथा लापरबाही, विभिन्न विकास आयोजनाहरूमा देखिएको अनियमितताका बारेमा युवाहरुको समूहबीच छलफल भएको छ । मुगु जिल्लाका हरेक अनियमितता तथा भ्रष्टाचारको आरोप लागेका विषयहरुमा समेत छलफल भएको छ ।
युवाहरूका अनुसार रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा उज्ज्वल भविष्यको खोजीमा मुगुका गाउँहरुबाट शहरतर्फ बसाइँ सराइ तीव्र बन्दै गएको छ । जसका कारण गाउँहरूमा वृद्धवृद्धा, अत्यन्त गरिब नागरिक तथा सीमित अवसर प्राप्त व्यक्तिहरू मात्र बस्न बाध्य भएका छन् । यसले ग्रामीण क्षेत्रको सामाजिक तथा आर्थिक संरचनामै गम्भीर असर पारेको उनीहरूको निष्कर्ष छ ।
यसै सन्दर्भमा उदाहरणको लागि सोरु गाउँपालिका–१० मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल मतदाता संख्या ८१८ मा ४४५ मात्र मतदान भएको थियो । यसरी बसाइँ सराइको कारण धेरै मतदाताले मतदान अधिकार प्रयोग गर्न नपाएको तथ्यले ग्रामीण क्षेत्रको वास्तविक अवस्था झल्काएको युवाहरूले बताएका छन् ।
भेलाले मुगुका सबै स्थानीय तहमा युवा प्रतिनिधि चयन गरी भ्रष्टाचार, अनियमितता, विकास निर्माणमा हुने ढिलासुस्ती, कर्मचारी तथा राजनीतिक नेतृत्वको गैरजवाफदेहिता, जनगुनासो तथा आपतकालीन समस्याहरूको तथ्यगत अभिलेखीकरण गर्ने निर्णय गरेको छ । संकलित विषयवस्तुलाई स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय सरकार तथा विषयगत राज्यमा मातहतसम्म पु¥याई समाधानका लागि निरन्तर खबरदारी गरिने जनाइएको छ ।
भेलाका संयोजक युवा अभियन्ता तथा कृषिशास्त्री आशिष देवकोटाले मुगुको विकास, सुशासन र जनअधिकारका पक्षमा युवाहरू अब संगठितरूपमा अगाडि बढ्ने बताएका छन् । उनले भ्रष्टाचारविरुद्धको यो अभियान कुनै व्यक्ति वा दलविरुद्ध नभई जनहित, पारदर्शिता, जवाफदेहिता र समृद्ध मुगु निर्माणका लागि भएको स्पष्ट पारे ।
भेलामा सहभागी युवाहरूले कर्णाली प्रदेशका अन्य जिल्लाका युवासँग समेत सहकार्य र समन्वय गर्दै अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनताका समस्या समाधान, सुशासनको स्थापना तथा भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अभियानलाई निरन्तरता दिइने उनीहरूको भनाइ छ ।











प्रतिक्रिया