हामी मानिसमा एउटा बानी छ– बिर्सने । हामी को हौँ, हाम्रो स्वभाव के हो, हाम्रो प्रकृति के हो, हाम्रो चाहना के हो, हाम्रो आवश्यकता के हो ? हामी यी कुराहरूलाई बिर्सन्छौँ । वस्तुतः कुनचाहिँ यस्तो चीज छ जसलाई भुलेपछि हाम्रो जीवनमा एउटा यस्तो अवस्था उत्पन्न हुन्छ, जसले गर्दा हामी यी सबै कुरालाई बिर्सन्छौँ– ‘यो सबैथोक के हो, के भइरहेको छ, मलाई किन यस्तो नराम्रो भइरहेको छ, कसैलाई चाहिँ किन राम्रो भइरहेको छ !’
उल्लिखित धेरै कुरालाई हामी बिर्सन्छौँ । वास्तविकता के हो भने, अज्ञानता तपाईंभन्दा टाढा छैन अनि ज्ञान पनि तपाईंभन्दा टाढा छैन । सुख र दुःख दुवै तपाईंभन्दा टाढा छैन । तपाईं आफ्नो जीवनमा जतासुकै जानुहोस्, जेसुकै काम गर्नुहोस्– सुख र दुःख दुवै कुरा तपाईंको साथैमा हिँडिरहेको हुन्छ ।
तपाईंको जीवनमा सबै कुरा छ र छैन पनि । दुवै कुरा हुन्छ । तपाईं आफ्नो कोठाभित्र पसेपछि चुकुल लाउनुहुन्छ । त्यतिखेर पनि तपाईं एक्लै हुनुहुन्न । अन्य थुप्रै कुराहरू तपाईंभित्र त्यस कोठामा गएका हुन्छन् । तपाईं पनि हुनुहुन्छ, जीवन पनि छ अनि मृत्यु पनि हुन्छ । त्यस कोठामा सबै कुरा हुन्छन्– ज्ञान, अज्ञान, अँध्यारो र उज्यालो पनि हुन्छन् । वास्तवमा ती सृष्टिकर्ता पनि त्यस कोठाभित्र साथैमा हुन्छन् ।
यदि हामीले ढोकालाई बन्द गरेर त्यसमा ताल्चा लगाएपछि बत्ती निभायौँ भने अँध्यारो हुनेछ । जब ढोका पहिल्यै बन्द थियो भने अँध्यारो कहाँबाट आयो होला ? कसरी भने, त्यो तपाईंको साथमा नै आयो । धर्म पनि तपाईंसँगै छ अनि अधर्म पनि तपाईंसँगै छ । सारा कुरा– तपाईं जहाँ जानुहुन्छ त्यहाँ सबै हुन्छ ।
फरक के मात्र हो भने, यदि तपाईंलाई यी सबै साथैमा हुन्छन् भन्ने थाहा भयो भने तपाईंले चाहनुभएको कुरालाई अपनाउन सक्नुहुन्छ । प्रेम पनि तपाईंसँगै आएको छ अनि घृणा पनि । यदि तपाईं जिउन सिक्न चाहनुहुन्छ भने प्रेमलाई आत्मसात् गर्न सिक्नुहोस्, घृणालाई होइन । ज्ञानलाई स्वीकार गर्न सिक्नुहोस्, अज्ञानतालाई होइन । यदि जीवनमा प्रकाश होस् भन्ने चाहनुहुन्छ भने आफ्नो जीवनमा प्रकाश ल्याउन सिक्नुहोस् । अँध्यारो आपैmँ हटेर जानेछ ।
यदि तपाईं आफ्नो जीवनलाई थोरै भए पनि बदल्न चाहनुहुन्छ भने, केवल तीन सेकेन्ड सोच्नुहोस् । काम गर्नुभन्दा पहिला सोच्नुहोस् । केवल तीन सकेन्ड– तपाईं के गर्न लागिरहनुभएको छ । त्यसपछि जे गर्न चाहनुहुन्छ गर्नुहोस् । किनभने, क्रोध पनि तपाईंसँगै हुन्छ अनि क्षमा पनि । तीन सेकेन्डमा तपाईं रोज्न सक्नुहुन्छ– क्रोध चाहिन्छ कि क्षमा । क्षमाले प्रेमलाई ल्याउँछ । प्रेमले उज्यालो ल्याउनेछ । उज्यालोले आनन्द ल्याउनेछ– तीन सेकेन्डमा । वास्तवमा तपाईं पहिला गर्नुहुन्छ अनि पछि सोच्नुहुन्छ । यसै कारण तपाईंको जीवनमा दुःख हुन्छ ।
हामी जे–जे गर्छौं, यसमा दुईवटा नै सम्भाव्यता रहन्छ– राम्रो पनि हुन सक्ला र खराब पनि हुन सक्ला । यदि हामीले सोच–विचार गरेर काम ग¥यौँ, यो बुझेर काम ग¥यौँ– हाम्रो प्रकृति नै हो बिर्सने अनि मैले के कोशिश गर्नुपर्छ भने म नबिर्सूं, त्यस चीजलाई नबिर्सूं जुन मेरा लागि आवश्यक छ । यदि यो कुरा याद रह्यो भने तपाईंको जिन्दगीमा आपैmँ नै परिवर्तन आउँछ । यदि हामी यो संसारमा कुनै परिवर्तनको कामना गर्छौं भने त्यो परिवर्तन पनि संसारबाट शुरु हुने होइन । त्यो तपाईंबाटै प्रारम्भ हुन्छ ।
तपाईं जे–जति कार्य गर्दै हुनुहुन्छ, आनन्द पाउने अपेक्षाले नै गर्दै हुनुहुन्छ । तपाईं दुःख सहन गर्न सक्नुहुन्न । मानिसको नाताले तपाईंको प्रकृति कस्तो छ भने, तपाईं दुःख सहन सक्नुहुन्न । तथापि, अपार सुखलाई भने तपाईं सहन सक्नुहुन्छ । मानिसका लागि सुखको कुनै सीमा हुँदैन । सानो दुःखका कारण पनि मानिस दुःखी हुन्छ । हरेक चीजमा सुख र दुःख दुवै हुन्छ तर यसमध्येबाट तपाईंले नै छान्नुपर्छ । तपाईं आफ्नो जीवनमा के चाहनुहुन्छ– सुख चाहनुहुन्छ या दुःखको चाहना राख्नुहुन्छ ! जुन दिन दुःखी हुन चाहनुहुन्छ, दुःख पनि उपलब्ध हुन्छ । जुन दिन सुखको अपेक्षा गर्नुहुन्छ, त्यो सुख पनि उपलब्ध हुन्छ । यदि तपाईंले मेरो यस कुरालाई बुझ्नुभयो भने तपाईंले आफ्नो जीवनमा धेरै कुरामा परिवर्तन ल्याउन सक्नुहुन्छ ।
जीवनमा सफलता पाउने चाहना हरेक मानिसमा हुन्छ । कोही राम्रो जागिर पाएर सफलता पाउन चाहन्छ भने कोही ठूलो घर बनाएर । तर, यी सबै कुरासँगै हामीलाई के पनि थाहा हुनुपर्छ भने, वास्तविक सफलता भनेको के हो ? यस्तो के गर्न सकिएला, जसबाट जीवनमा वास्तविक सफलता प्राप्त गर्न सकिन्छ ? हरेक नयाँ दिनले आपैmँमा एउटा नयाँ आशा र उमङ्गका साथमा यस जीवनलाई सफल बनाउने एउटा अर्को मौका प्रदान गर्दछ । त्यसकारण के बुझ्न आवश्यक छ भने, हामीले यस जीवनको सफलताका लागि छानिरहेको विकल्प के ठीक छ त ?
प्रायः मानिसहरू के विश्वास गर्ने गर्छन् भने, कोही न कोही विशिष्ट व्यक्ति अवश्य पनि प्रकट हुनेछन्, जसले तिनका सबै समस्यालाई चुट्कीका भरमा समाधान गरिदिन्छन् । तर यथार्थ भने त्यस्तो छैन । सत्य के हो भने, आफ्नो समस्यालाई सुल्झाउनका लागि तपाईं आपैmँ सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ । अतः तपाईं स्पष्ट भएर हेर्न शुरु गर्नुहोस् । उचित विकल्पलाई चुन्नुहोस् अनि छान्नुभएको विकल्पलाई व्यवहारमा ल्याउनुहोस् । जीवनमा हामीले अवश्य पनि विकल्पलाई रोज्नुपर्छ । हामी अत्यन्तै निराशाजनक अवस्थामा भए पनि विकल्पलाई छनोट गर्नुपर्छ । कहिलेकाहीँ यो गाह्रो हुन सक्छ तर असम्भव भने हुँदैन । किनभने हामीमध्ये हरेक व्यक्तिभित्र शक्तिको एउटा ठूलो स्रोत छ ।
यसै सन्दर्भमा एउटा सानो सिंहको कथा छ । जङ्गलमा आगो लागेका कारण एउटा सिंहको बच्चो (डमरु) आफ्नी आमाबाट विछोडिएको थियो । उसकै छेउबाटै एकजना भेडा गोठालो गइरहेका थिए । उनले त्यो सानो सिंहको बच्चालाई देखेर आपूmसँगै घरमा लिएर गए । उनले त्यो सिंहको बच्चालाई भेडासँगै राखिदिए । समय बित्दै गयो अनि त्यो सिंहको बच्चो भेडासँगै ठूलो हुँदै गयो ।
एकदिन एउटा ठूलो सिंह आयो अनि जोडसँग गर्जिन थाल्यो । यसै कारणले सबै भेडाहरू आफ्नो ज्यान जोगाउनका लागि यता–उता लुक्न लागे । सबैलाई लुकेको देखेपछि त्यो सिंहको बच्चो पनि लुक्न गयो । ठूलो सिंहले यस्तो देखेर सोध्यो, ‘तिमी किन लुकिरहेका छौ, तिमी त सिंह हौ ।’ सानो सिंहले भन्यो, ‘त्यो त ठीक हो तर तपाईं मलाई नखानुहोस् !’
यो कुरा सुनेर ठूलो सिंहले सबै कुरा बुझ्यो । भेडासँगै बस्दा–बस्दा यो सानो सिंहले आपूmलाई भेडो नै भनेर मान्न थालेछ । उसले त्यसलाई नदीको किनारमा लगेर भन्यो, ‘हेर तिमी को हौ ?’
त्यसपछि सानो सिंहले भन्यो, ‘म त ठ्याक्कै तपाईंजस्तै छु ।’
ठूलो सिंहले भन्यो, ‘हो, तिमी सिंह हौ ! आफ्नो शक्तिलाई चिन अनि जोडले गर्जना लगाऊ ।’
यो कथाको सार के हो भने, आफ्नो शक्तिलाई चिन्नुहोस् । आफ्नो साँचो स्वरूपलाई पहिचान गर्नुहोस् । वास्तविक सफलतालाई प्राप्त गर्न सबैभन्दा उत्तम विकल्पलाई चुन्नुहोस् । जुन विकल्पलाई तपाईंले चुन्नुहुन्छ, त्यसलाई व्यावहारिक रूपले आफ्नो जीवनमा ल्याउन प्रारम्भ गर्नुहोस् ।
हामी धेरै कुरा सुन्छौँ । यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ तर भित्र डर हुन्छ– मलाई के हुने हो ! यो समय डराउनका लागि होइन । यो समय त ध्यानपूर्वक काम गर्नका लागि हो । शान्तिपूर्ण तबरमा काम गर्नका लागि हो । जसले गर्दा यो समयको पूर्ण रूपले फाइदा लिँदै आनन्दसँग रहन सकौँ । यो कसरी सम्भव हुन्छ ? यसका लागि कुनै अरूथोक नभएर तपाईंलाई तपाईंको आफ्नै आवश्यकता छ । किनकि, तपाईंभित्र गुण पनि छ र अवगुण पनि छ । तपाईंभित्र त्यो चीज पनि छ, जसले तपाईंलाई दुःख दिन्छ । अनि तपाईंभित्र त्यो चीज पनि छ, जसले तपाईंलाई आनन्दविभोर तुल्याइदिन्छ । कुरा के हो भने, हामी कुनचाहिँलाई छनोट गर्छौं !
यो संसार एउटा सपिङ मल (बजार) हो । अनि तपाईंलाई चिट्ठा परेको छ । तपाईं यस सपिङ मलमा हुनुहुन्छ । तपाईं यहाँ हरेक चीजको आनन्द लिन सक्नुहुन्छ । तर, जाने समय आएपछि तपाईंले आपूmसँग कुनै पनि चीजलाई लैजान पाउनुहुन्न । यस्तो कानुन छ । तथापि तपाईं चीजबीजलाई यसरी जम्मा गर्दै हुनुहुन्छ । जस्तो कि तपाईं यसलाई साथैमा लिएर जान पाउनुहुन्छ । तर, लिएर जान सक्नुहुन्न । अनि के गर्नुहुन्छ ? एउटै कुरा गर्न सक्नुहुन्छ– त्यो हो, तपाईं आफ्नो जीवनमा यहाँ रहुन्जेलसम्म पूरा फाइदा लिन सक्नुहुन्छ । आनन्द लिन सक्नुहुन्छ । त्यसो हो भने, मेरो जीवन आनन्दसँग बितिरहेको छ कि छैन ?
सबैजसो भविष्यको कुरा गर्छन् । तर, यही समयको कुरा कोही पनि गरिरहेका छैनन् । म यही समयको कुरा गर्न चाहन्छु । किनकि, यो समय यी दुई पर्खालको बीचमा छ । एउटा पर्खाल, जहाँ तपाईं यो संसारमा आउनुभएको छ । अनि अर्को पर्खाल, जहाँबाट अर्कोतिर तपाईं कहाँ जानुहुन्छ, यो कुरा कसैलाई पनि थाहा हुनेछैन । यी दुई पर्खालका बीचमा तपाईंसँग यो जुन समय छ, त्यो हो– तपाईंको जीवन । जसलाई तपाईं दुःखी भएर पनि बिताउन सक्नुहुन्छ र सुखी भएर पनि बिताउन सक्नुहुन्छ । यदि तपाईंले यसलाई रुँदै–रुँदै बिताउनुभयो भने तपाईंलाई दुःख नै हुन्छ । यदि तपाईं यसलाई आनन्दका साथ बिताउनुहुन्छ भने आनन्द प्राप्त हुन्छ, सुख प्राप्त हुन्छ ।
म चाहन्छु, तपाईंको जीवनमा सुख होओस् । यो कठिन परिस्थितिमा पनि तपाईंको जीवनमा आनन्द हुनुपर्छ र आनन्द सम्भव छ । त्यसका लागि तपाईंलाई ‘तपाईं’कै आवश्यकता पर्छ । त्यसैले आपूmभित्र भएको त्यो शक्तिलाई चिन्नुहोस् । त्यो शान्तिलाई चिन्नुहोस् अनि आनन्दमा रहनुहोस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया