निर्देशक अशोक थापा मगर खुस्मापछि नयाँ फिल्म जलाकी लिएर दर्शकमाझ आउँदैछन्।
दुई फरक भावका पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी मंसिर ४ गते रिलिज गर्ने घोषणा गरिएको छ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सोनाम तोप्देन र उपासना सिंह ठकुरीलाई दुई विपरीत मनोभावमा प्रस्तुत गरिएको छ। एउटा पोस्टरमा उनीहरू प्रेम, आत्मीयता र विश्वासले भरिएको रोमान्टिक क्षणमा देखिएका छन् भने अर्को पोस्टरले मौनता, दूरी, पीडा र सम्बन्धभित्रको भावनात्मक द्वन्द्व चित्रण गरेको छ। पोस्टरले फिल्म केवल प्रेमकथामा सीमित नभई सम्बन्धका उतारचढाव र जीवनका संवेदनशील पक्षलाई पनि समेट्ने सङ्केत गरेको छ।
पहिलो पोस्टरमा सोनाम र उपासना अंकमालमा बाँधिएको दृश्यले प्रेमको उज्यालो पक्ष प्रस्तुत गर्छ। मुस्कान, आत्मीय स्पर्श र एकअर्काप्रतिको विश्वासले भरिएको उक्त दृश्यले दर्शकलाई प्रेमको कोमल अनुभूति दिलाउने प्रयास गरेको छ। दोस्रो पोस्टरमा भने उपासनाले सोनामको का“धमा टाउको राखेकी छन् भने सोनाम गम्भीर मुद्रामा टाढातिर हेरिरहेका छन्। उनीहरूको मौन अभिव्यक्तिले प्रेमभित्र लुकेका पीडा, संघर्ष र भावनात्मक द्वन्द्व झल्काएको छ।
निर्देशक मगरका अनुसार जलाकी मगर समुदायमा आस्था, सम्झना, माया र पहिचानको प्रतीक मानिने ढु“गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। फिल्मले यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्नेछ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकीद्वारा निर्माणाधीन फिल्ममा सोनाम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन तथा विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय रहेको छ।
बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर देखिनेछन्। यसै फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्ममा डेब्यु गरेकी छन्।
फिल्ममा गीत सुरेन्द्र राना र राम अविरल विष्ट, स्वर एसडी योगी, अञ्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगर, संगीत एसडी योगी र सरित राई, तथा छायाकन शैलेन्द्र डी. कार्कीको रहेको छ।
अशोकको पहिलो फिल्म खुस्माले व्यावसायिक सफलता हासिल गरेको थियो। त्यसमा समावेश रुकुम मैकोट गीत टिकटक, फेसबुक रिल्स र युट्युबमा अत्यधिक लोकप्रिय बनेको थियो।











प्रतिक्रिया