विश्वकै कुख्यात सिरियल किलर डाक्टर


जस्ले एकपछि अर्को गर्दै कयौको लियो ज्यान

काठमाडौं ।

बेलायतका इतिहासकै सबैभन्दा कुख्यात सिरियल किलर मानिएका चिकित्सक हरोल्ड शिपम्यानलाई दोषी ठहर गरिएको २५ वर्ष बितिसक्दा पनि उनले काम गरेको सहरका बासिन्दाले त्यस घटनाको पीडा अझै बिर्सन सकेका छैनन्। बिरामीको उपचार गर्ने जिम्मेवारी पाएका एक चिकित्सकले सयौं मानिसको ज्यान लिएको घटना आज पनि बेलायती अपराध इतिहासको सबैभन्दा डरलाग्दो घटनामध्ये एक मानिन्छ।

३१ जनवरी २००० मा बेलायती अदालतले ५४ वर्षीय चिकित्सक हरोल्ड शिपम्यानलाई १५ जना बिरामीको हत्या गरेको अभियोगमा १५ वटा आजीवन कारावासको सजाय सुनाएको थियो। उनले आफ्नी ८१ वर्षीया बिरामी क्याथलिन ग्रन्डीको इच्छापत्र नक्कली बनाएर करिब तीन लाख ८६ हजार पाउन्ड हडप्न खोजेको अभियोगमा थप चार वर्षको सजाय पनि पाएका थिए।

तर त्यसपछि सरकारले गठन गरेको स्वतन्त्र अनुसन्धान आयोगले सार्वजनिक गरेको करिब दुई हजार पृष्ठको प्रतिवेदनले शिपम्यानले सन् १९७० को दशकदेखि १९९० को दशकको अन्त्यसम्म कम्तीमा २१५ जनाको हत्या गरेको निष्कर्ष निकालेको थियो। अनुसन्धानकर्ताका अनुसार वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको थियो।

शिपम्यानका अधिकांश पीडित ग्रेटर म्यानचेस्टरको हाइड सहरका वृद्ध महिलाहरू थिए। उनीहरू उपचारका लागि शिपम्यानकहाँ पुगेपछि उनले डायामोर्फिन नामक शक्तिशाली ओपिओइड औषधिको घातक मात्रा इन्जेक्सनमार्फत दिएर हत्या गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

प्रतिवेदनअनुसार शिपम्यानको पहिलो पुष्टि भएको शिकार इभा लायन्स थिइन्। उनलाई सन् १९७५ को मार्चमा आफ्नो ७१औँ जन्मदिनको अघिल्लो दिन हत्या गरिएको थियो। त्यसबेला शिपम्यान वेस्ट योर्कशायरस्थित अब्राहम ओरमेरोड मेडिकल प्राक्टिसमा कार्यरत थिए।

पछि उनले हाइडस्थित डोनीब्रुक हाउस समूह क्लिनिकमा कार्यरत रहँदा ७१ जनाको हत्या गरेका थिए। सन् १९९२ पछि आफ्नै निजी क्लिनिक सञ्चालन गर्न थालेपछि थप १४३ बिरामीको हत्या गरेको अनुसन्धानले देखाएको थियो।

हाइडकी प्याट्रिसिया पावेलले आफ्नो आमाको ज्यान आफूले बचाएको विश्वास गर्छिन्।

उनका अनुसार सन् १९९८ मा उनकी ६४ वर्षीया आमा मार्गरेट बेकविथ उपचारका लागि शिपम्यानको क्लिनिक पुगेकी थिइन्। त्यस क्रममा शिपम्यानले आमालाई औषधि दिनुअघि छोरीलाई कोठाबाट बाहिर निस्किन आग्रह गरेका थिए।

तर पावेललाई चिकित्सकको व्यवहारप्रति सुरुदेखि नै शंका लागेको थियो।

उनले भनिन्, “उनले मेरी आमालाई औषधि दिन खोजे, तर मैले स्पष्ट रूपमा उहाँले त्यो औषधि खानुहुन्न भनेँ।”उनले आमालाई पनि चिकित्सकमाथि विश्वास नगर्न आग्रह गरिन्। अन्ततः शिपम्यानले औषधिको सट्टा एउटा प्रेस्क्रिप्सन लेखेर उनीहरूलाई घर फर्काएका थिए।

पावेल भन्छिन्, “त्यस दिन मसँगै भएकाले उनले जे गर्न खोजेका थिए, त्यो असफल भयो।”उनकी आमा केही वर्षअघि मात्रै प्राकृतिक कारणले निधन भएकी थिइन्। उनी भन्छिन्, “आमासँग बिताउन पाएका ती वर्षहरू मेरा लागि अमूल्य थिए। तर अन्य धेरै परिवारले त्यो अवसर पाएनन्।”

पावेलका अनुसार शिपम्यान पक्राउ परेपछि स्थानीय बासिन्दामा चिकित्सकप्रतिको विश्वास नै डगमगाएको थियो।”म अहिले पनि डाक्टरलाई सजिलै विश्वास गर्न सक्दिनँ,” उनले भनिन्।

स्थानीय बासिन्दा लुइस एलिसेटो पनि शिपम्यानकी बिरामी थिइन्। उनका अनुसार हातमा आएको सामान्य डाबर देखाउन जाँदा शिपम्यानले उनको समस्या बेवास्ता गर्दै भनेका थिए, “यदि सबै मानिस हातको डाबर लिएर आउन थाले भने यो क्लिनिक कहिल्यै खाली हुँदैन।”पछि उनले शिपम्यानका धेरै पीडितलाई व्यक्तिगत रूपमा चिनेको बताइन्।”उनी अत्यन्त निर्दयी र दुष्ट व्यक्ति थिए,” उनले भनिन्।

शिपम्यानलाई पक्राउ गरेपछि आजीवन कारावासको सजाय सुनाइएको थियो। तर सजाय सुनाइएको चार वर्षपछि सन् २००४ मा उनले जेलभित्रै आत्महत्या गरेका थिए।

शिपम्यानको अपराधले बेलायतको स्वास्थ्य प्रणालीलाई नै झकझक्यायो। त्यसपछि बिरामीको मृत्यु प्रमाणीकरण, औषधि वितरण, चिकित्सकको निगरानी तथा मृत्युको अनुसन्धानसम्बन्धी कानुन र प्रक्रियामा व्यापक सुधार गरिएको थियो।आज पनि शिपम्यानको नाम चिकित्सा पेशाको इतिहासमा सबैभन्दा ठूलो विश्वासघातका रूपमा लिइन्छ। बिरामीको ज्यान बचाउने जिम्मेवारी पाएका चिकित्सकले नै सयौं मानिसको ज्यान लिएपछि बेलायतमा स्वास्थ्य सेवाप्रतिको विश्वास पुनः स्थापित गर्न वर्षौं लागेको थियो।