दक्षिण–पूर्वी एसियामा स्वास्थ्य आपत्कालीन कोष विस्तारको तयारी

जलवायुजन्य विपद् र महामारीको जोखिम बढ्दै गएपछि डब्लुएचओ र सदस्य राष्ट्रबीच छलफल


नयाँ दिल्ली, (एजेन्सी)

जलवायु परिवर्तनजन्य विपद्, संक्रामक रोगको प्रकोप तथा अन्य स्वास्थ्य आपत्कालीन अवस्था दक्षिण–पूर्वी एसिया क्षेत्रमा झन् जटिल र बारम्बार देखिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र सदस्य राष्ट्रहरूले दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोष (एसईएआरएचईएफ) लाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल गरेका छन् ।

डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रकी कार्यवाहक प्रमुख डा. क्याथरिना बोहेमेले स्वास्थ्य आपत्कालीन अवस्था दिनप्रतिदिन जटिल, महँगो र बारम्बार हुने भएकाले संकटका बेला तत्काल परिचालन गर्न सकिने लचिलो वित्तीय संयन्त्र आवश्यक भएको बताइन् ।

“स्वास्थ्य आपत्कालीन अवस्था बढ्दै गएको छ । यस्ता संकटका बेला जीवन बचाउन तत्काल परिचालन गर्न सकिने वित्तीय स्रोत आवश्यक हुन्छ । एसईएआरएचईएफ क्षेत्रीय एकताको उत्कृष्ट उदाहरण हो, जसले सदस्य राष्ट्रहरूलाई संकटका बेला एकअर्कालाई सहयोग गर्न सक्षम बनाएको छ,“ उहाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयद्वारा भर्चुअल रूपमा आयोजित एसईएआरएचईएफ शासन व्यवस्थासम्बन्धी कार्यसमूहको १५औँ बैठकमा सदस्य राष्ट्रहरूले कोषको प्रगति समीक्षा गर्दै यसको दिगो वित्तीय व्यवस्थापनका लागि स्रोत परिचालन रणनीतिबारे छलफल गरेका थिए ।
छलफलमा परोपकारी संस्था, विकास साझेदार तथा निजी क्षेत्रसँग सहकार्य विस्तार गरी दाताको दायरा फराकिलो बनाउने, साथै दक्षिण–पूर्वी एसियाको उत्पादन क्षमता, ढुवानी व्यवस्था र प्राविधिक दक्षतालाई उपयोग गर्दै नगदरहित (इन–काइन्ड) सहयोग परिचालन गर्ने उपायहरूमा समेत सहमति खोजिएको थियो ।
कार्यसमूहका सिफारिसहरू आगामी सेप्टेम्बरमा हुने विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा थप छलफलका लागि प्रस्तुत गरिनेछ ।

५१ वटा स्वास्थ्य आपत्कालीन अवस्थालाई सहयोग

सन् २००८ मा हिन्द महासागर सुनामीपछि स्थापना गरिएको एसईएआरएचईएफ दक्षिण–पूर्वी एसिया क्षेत्रको प्रमुख स्वास्थ्य आपत्कालीन वित्तीय संयन्त्रका रूपमा विकास भएको छ । स्थापनायता यस कोषले १० सदस्य राष्ट्रमा देखा परेका ५१ वटा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि ८२ लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ । यसबाट आपत्कालीन प्रतिकार्य मात्र नभई आपत्कालीन सञ्चालन केन्द्र, द्रुत प्रतिकार्य टोली तथा क्षेत्रीय आपत्कालीन सामग्री भण्डारण प्रणाली सुदृढ बनाउन समेत सहयोग पुगेको डब्लुएचओले जारी गरेको गरेको विज्ञप्तीमा जनाएको छ ।

डब्लुएचओका अनुसार एसईएआरएचईएफलाई थप सुदृढ बनाउने प्रयासले दक्षिण–पूर्वी एसिया क्षेत्रमा स्वास्थ्य आपत्कालीन तयारी, द्रुत प्रतिकार्य क्षमता तथा संकटका बेला सदस्य राष्ट्रलाई समयमै आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।