बाँकेको बैजनाथमा एम्बुलेन्स दुर्घटना, चालकसहित चार जना घाइते


नेपालगञ्ज ।

बाँकेको बैजनाथ गाउँपालिका–१ हात्तिसारस्थित रत्न राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। रुकुमबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे.१ झ. ३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीसाधनलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका–५ निवासी ३४ वर्षीय दिपेश ढकालले चलाइरहेका थिए। दुर्घटनामा चालक ढकालसहित एम्बुलेन्समा सवार चौरजहारी नगरपालिका–१० निवासी २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। चालकसहित सबै घाइतेको अवस्था मध्यम रहेको छ।