मिस नेवा नेपालका प्रतियोगीको सफलताको कामनासहित १ लाख बत्ती प्रज्वलन


काठमाडौं ।

१९ औँ मिस नेवा नेपाल ११४६ मा सहभागी २१ जना प्रतियोगीहरूको उज्ज्वल भविष्य, सफल जीवनयात्रा तथा विश्व शान्तिको कामनासहित काठमाडौंको कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन गरिएको छ।

नेप्लीज फेसन होमद्वारा आयोजित कार्यक्रममा प्रतियोगीहरूको व्यक्तिगत सफलता, सकारात्मक सोच तथा मानव समुदायमा सुख, शान्ति, समृद्धि र सद्भाव कायम रहोस् भन्ने उद्देश्यले दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ।

आध्यात्मिक आस्था र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्पन्न कार्यक्रममा मिस नेवा नेपालका २१ प्रतियोगी, उनीहरूका अभिभावक, पूर्व मिस नेवा नेपाल विजेताहरू प्रलिशा शाक्य, सकिना महर्जन र कृषा महर्जन, मिस नेवा सोसियल वेल्फेयर एम्बासडर तिमिला महर्जन, संस्थाकी सल्लाहकार डा. बिमला शाक्य तथा फाइट फर लाइफ नेपालका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले प्रतियोगीहरूको सपना साकार होस्, उनीहरूको आगामी यात्रा आत्मविश्वास, अनुशासन र सेवाभावले प्रेरित बनोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। साथै विश्वभर शान्ति, सद्भाव, सहअस्तित्व र मानवीय मूल्यहरूको प्रवर्द्धनका लागि सामूहिक प्रार्थना पनि गरिएको थियो।

नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवा नेपाल सौन्दर्य प्रतियोगितामा मात्र सीमित नभई नेवा समुदायको भाषा, संस्कृति, परम्परा, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको संरक्षण तथा प्रवर्द्धन गर्ने अभियानका रूपमा स्थापित हुँदै गएको बताइन्।

उनका अनुसार १ लाख बत्ती प्रज्वलन कार्यक्रमले प्रतियोगिताले बोकेको सामाजिक, सांस्कृतिक र आध्यात्मिक सन्देशलाई थप प्रभावकारी रूपमा उजागर गरेको छ।