हलिउड निर्देशक कार्ल एरिक रिन्शलाई नेटफ्लिक्सबाट प्राप्त करिब १ करोड १० लाख अमेरिकी डलर दुरुपयोग गरेको मुद्दामा अमेरिकी अदालतले साढे दुई वर्षको जेल सजाय सुनाएको छ।
‘४७ रोनिन’ चलचित्रका निर्देशकका रूपमा परिचित ४८ वर्षीय रिन्शमाथि विज्ञान–कथामा आधारित टेलिभिजन शृङ्खलाको निर्माणका लागि दिइएको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको थियो। अदालतले उनलाई सङ्घीय ठगी तथा अवैध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा दोषी ठहर गरेको हो।
अदालतको आदेशअनुसार रिन्शले जेल सजायसँगै तीन वर्ष निगरानीमा बस्नुपर्नेछ। साथै, विवादित रकम बराबरको सम्पत्ति जफत गरिने र जरिवाना पनि तिर्नुपर्नेछ।
सजाय सुनाइनुअघि अदालतमा उनले आफ्नो कार्यप्रति जिम्मेवारी स्वीकार गर्दै माफी मागेका थिए। अमेरिकी सरकारी पक्षले भने अदालतको निर्णयले आर्थिक ठगीविरुद्ध कडा सन्देश दिएको जनाएको छ।
अभियोजन पक्षका अनुसार नेटफ्लिक्सले विज्ञान–कथामा आधारित शृङ्खला निर्माणका लागि रिन्शलाई करोडौँ डलर उपलब्ध गराएको थियो। निर्माण सम्पन्न गर्न थप बजेट आवश्यक रहेको भन्दै उनले अतिरिक्त रकम मागेका थिए। तर उक्त रकम परियोजनामा प्रयोग नगरी व्यक्तिगत खातामा राखिएको आरोप छ।
अनुसन्धानबाट प्राप्त विवरणअनुसार उनले रकमको केही भाग विभिन्न लगानीमा प्रयोग गरेका थिए, जसमा ठूलो रकम घाटामा गएको बताइएको छ। बाँकी रकम क्रिप्टोकरेन्सी, विलासी सवारीसाधन तथा अन्य महँगा वस्तु खरिदमा खर्च गरिएको अभियोजन पक्षको दाबी छ।
सुनुवाइका क्रममा नेटफ्लिक्सका अधिकारीहरूले कम्पनीले शृङ्खलाको एक सिजन निर्माणका लागि मात्र सम्झौता गरेको र परियोजना निर्धारित रूपमा पूरा नभएको बताएका थिए।











प्रतिक्रिया