हराएको ३३ वर्षपछि फर्किए आकाश भैरवका मूर्ति

282
Shares

दोलखा । दोलखा शहरबाट ३३ वर्षअघि हराएका आकाश भैरव (हाँथ्व देउ) का दुई मूर्ति यही असार ४ गते साबिक ठाँउमा प्रतिस्थापन गरिएको छ । आकाश भैरवका ती मूर्तिहरु २०५० साल फागुन २२ गते र २०५१ साल फागुन २४ गते नक्छे प्रधान परिवारको कुलघरबाट हराएका (चोरी भएका) थिए ।

चोरी भएर अमेरिका पुगेका ती मूर्तिहरु नेपाल फर्काइएपछि असार ४ गते सदरमुकाम चरिकोटबाटै बाजागाजासहित बजार परिक्रमा गराउँदै दोलखा शहर पु¥याएर साबिक नक्छे प्रधान परिवारको कुलघरमा प्रतिस्थापन गरिएको पत्रकार एवं नक्छे प्रधान परिवार कुलका सदस्य उपेन्द्र प्रधानले बताए ।

दोलखा शहरबाट हराएका ती मूर्ति चोरी गरी अमेरिकामा पु¥याइएको थियो । न्यूयोर्कस्थित रुविन र डल्लास आर्ट म्युजियम पुगेका ती दुई मूर्ति २०८० मंसिर १८ गते न्यूयोर्क एटोर्नी जनरल अफिसबाट त्यहाँको नेपाली वाणिज्य दूतावासलाई हस्तान्तरण गरिएको थियो ।

२०८० माघ १७ गते पुरातत्व विभागले आकाश भैरव (हाँथ्व देउ) का दुई मूर्ति नेपाल आएको जानकारी दिएपछि २०८० माघ १८ गतेदेखि ती मूर्तिहरुलाई नेपाल राष्ट्रिय संग्रहालयको प्रदर्शन कक्षमा राखिएको थियो ।
मूर्ति हराएको २४ वर्षपछि २०७४ भाद्र २० गते इन्द्रजात्राको अवसरमा स्थानीय अभियन्ता अनिलचन्द्र श्रेष्ठले चोरी भएको आकाश भैरव (हाँथ्व देउ) का दुई मूर्तिको तस्वीर आफ्नो फेसबुक पेजमा राख्दै ‘फोटोमा मात्र देख्न सक्छौँ हाम्रो हाँथ्व देउ’ भनेर लेखेका थिए ।

अनिलचन्द्र श्रेष्ठको उक्त पोस्टकै आधारमा २०७९ भाद्रमा बाँपिझ्याला मिडियामा पत्रकार बालकृष्ण पासाले आकाश भैरव (हाँथ्व देउ) बारे विवरण सार्वजनिक गरेपछि यसको खोजी शुरु भएको थियो । यी दुई मूर्तिको खोजीमा लस्ट आर्टस् अफ नेपालले सहयोग गरेको स्थानीयको भनाइ छ ।

लस्ट आर्टस् अफ नेपालले खोजीकै क्रममा २०७९ आसोज २ गते आफ्नो फेसबुक पेजबाट अमेरिकाको रुविन र डल्लास म्युजियममा आकाश भैरव (हाँथ्व देउ) का दुई मूर्ति रहेको विवरण सार्वजनिक गरेपछि मूर्तिलाई नेपाल ल्याउने प्रक्रिया शुरु गरिएको अभियन्ता अनिलचन्द्र श्रेष्ठले बताए ।

दुई मूर्ति अमेरिकाको म्युजियममा रहेको जानकारी आएपछि अनिलचन्द्र श्रेष्ठ र सांस्कृतिक अभियन्ता यज्ञकुमार प्रधानले मूर्ति हराएको समयमा जिल्ला प्रहरी कार्यालय दोलखा र हनुमानढोका प्रहरी कार्यालय काठमाडौँमा जाहेरी दिएको कागजात संकलन गरी नेपाल सम्पदा संरक्षण अभियानका सचिव सञ्जय अधिकारीलाई उपलब्ध गराएपछि उनले पुरातत्व विभागमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीपछि नेपाल सम्पदा संरक्षण अभियानका सचिव सञ्जय अधिकारी, अभियन्ता अनिलचन्द्र श्रेष्ठ र यज्ञकुमार प्रधानले पटक–पटक न्यूयोर्कस्थित अमेरिकाका महान्यायाधिवक्तासँग छलफल गरेका थिए ।

सोही क्रममा पुरातत्व विभागका अधिकृत सरिता सुवेदीले दोलखा शहरमा स्थानीय सांस्कृतिक अध्यता एवं अभियन्ता शान्तकृष्ण श्रेष्ठको सहयोगमा नक्छे प्रधान परिवारको कुलघरमा रहेको आकाश भैरव (हाँथ्व देउ) को घाँटीको अवलोकन र त्यहाँ रहेको इन्सक्रिप्सनको फोटो खिचेर लगेपछि उक्त मूर्तिहरु नेपाल ल्याउन सकिएको अभियन्ता अनिलचन्द्र श्रेष्ठले जनाएका छन् ।

मूर्ति नेपाल ल्याउने क्रममा नेवा गुठी न्यूयोर्कका अध्यक्ष विजयमान सिंह र सचिव प्रेमगोपाल महर्जनको समेत महत्वपूर्ण सहयोग रहेको नक्छे प्रधान परिवारको कुलका सदस्यहरुले बताएका छन् ।