कम्युनिस्ट शैलीको शासन

0
Shares

विगतका पुराना राजनीतिक दलहरूले आफूहरूलाई एकसे एक सच्चा कम्युनिस्ट भन्दै र भनाउँदै आए । बितेका करिब तीन दशक समयसम्म नेपाली जनताले उनीहरूका कम्युनिस्ट भनाइ र गराइका बीचको तदात्म्यता कहाँनेर छ होला भनेर पत्ता लगाउने कोशिश धेरैतिरबाट गरे । तर धेरै प्रयास गर्दा पनि त्यो तादात्म्यता फेला पार्न सकेनन् । शुरुमा सच्चा कम्युनिस्ट ठानिएका राजनीतिक दललाई पछि गएर मनले नपत्याए पनि तिमीहरू सच्चा कम्युनिस्ट होइनौ, केवल खोल ओढेर जनतालाई छक्याउने धोकबाज कम्युनिस्ट मात्र हौ भन्न मन लागेको थियो ।

यद्यपि यिनीहरूको खोले कम्युनिस्ट रवैयाको शासन कति लामो चल्ने हो ? भोलिका दिनमा यिनीहरूकै शासन र यिनैले बनाएको कानुनको घेरोमा बाँच्नुपर्ने कुरा ठानेर खुलस्तरुपमा विरोध गरी शत्रुता मोल्न चाहेनन् । बरु त्यसको साटो आफूलाई आफैँभित्र धैर्यधारण गर्न सिकाए । जनताले देखेको सपना इँटाभट्टामा जिउँदै निर्दोष मान्छे जलाएर मार्न लगाउने राजनीतिको खोल ओढेको व्यक्ति होस् कि राज्यको अर्बौं सम्पत्ति गैरकानुनी तबरले आफ्नो बनाएर रमाउने अपराधी मानसको रोगी व्यक्ति होस्, ती सबैलाई न्यायको कठघरामा कुनै कालखण्डको शासकले ल्याउन सक्ला कि नसक्ला ? भनेर धेरै नै चिन्ता लागेको थियो ।

स्वच्छ मनका करोड नेपालीले आजको यो दिन धेरै धैर्य गरेर कुरेर बसेका थिए । जब बालेन सरकार गठन भएर करिब तीन महिनाको अवधि पनि राम्ररी बित्न नपाउँदै ती पापकर्ममा लागेका र ठूला माछा ठानिएका अपराधीहरू कानुनको कठघरामा निर्ममताका साथ तानिइरहँदा आम नेपाली जनतालाई धेरै खुसी लागेको छ ।

ती आपराधिक मानसिकताका धनकोढी कम्युनिस्ट तथा आफूलाई सच्चा प्रजातन्त्रवादी ठान्ने ठगका मतियार महोदयहरू आफूहरूले गरेको त्यो अपराध कर्मको ढाकछोपका लागि धेरैतिर हारगुहार गर्दै त कहिले घुर्की लाउँदै गर्दा पनि ज्यादै निर्मम भएर लागेको बालेन नेतृत्वको सरकार उसका निर्मम र अनेक सुकर्मका कारण कम्युनिस्ट शासन पो हो कि जस्तो लाग्न थालेको छ । प्रधानमन्त्री बालेन्द्र साह आफैँमा कतैबाट कुनै बेइमानीको दागको टीकोसमेत नलागेका व्यक्ति भएका कारण ती पापाचारमा निर्लिप्त भएका कम्युनिस्ट नामधारी व्यक्तिहरूको धोती नराम्ररी खुस्काउँदै र नाङ्गेझार बनाउने काम निरन्तररुपमा भइरहेको छ ।

सरकारको कम्युनिस्ट शैलीको कामले आम नेपाली जनताको उत्साह तथा हौसला अधिक मात्रामा बढेर जान थालेको छ । त्यति मात्र होइन, विगतका राजनीतिको खास्टो ओढेर राज्यको धन अनेक तरिकाले दोहन गर्ने र आफू मोटाउने काममा उन्मत्त भएर लागेका कसैलाई पनि त्यतिकै छोड्नु नहुने, छोडेमा विगतको भन्दा पनि उग्ररुपमा देश दोहन हुने कुरा निश्चितजस्तै भएकाले तिनलाई कानुनको कठघरामा उभ्याएर तिनले गैरकानुनी वा अवैधरुपमा हडपेको धन एककन्ची पनि नछोडी टक्टक्याएर लिनुपर्छ ।

यदि तिनका उपर मानवअधिकारको विषयको उठान हुन्छ र कार्यवाहीमा अवरोध आउँछ भने कानुनको उक्त बुँदा परिस्थितिअनुसार परिमार्जन गरेरै भए पनि उक्त बाटो खोल्न सरकार उद्यत हुनै पर्छ । यस्तै अपराधीका लागि निर्मम बन्नु र धर्मात्माका लागि उदार विचार तथा सोहीअनुसारको कर्ममा लाग्नु शासकको ठूलो धर्म हो ।

विगतको सच्चा कम्युनिस्ट भनिएको राजनीतिक दलका उपाध्यक्ष, नेता तथा पूर्व–सरकारको अर्थमन्त्रीका रूपमा पटक–पटक कार्यभारसमेत सम्हालेका विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । विगतमा अर्थमन्त्रीको पदमा पटक–पटक रहँदा उनले गरेका आर्थिक अनियमितताका कारण उनी पक्राउ परेको कुरा थाहा हुन आएको छ । जब विष्णु पौडेल पक्राउ परे, तब विगतका कम्युनिस्ट भक्त नेताहरू अब आफ्नो केही बल नचल्ने भो भनेर आन्तरिक रुपमा निराश बनेका भए तापनि त्यो निराशा र आतेसलाई खास्टोले छोप्दै प्रतिशोध साँध्ने बालेन नेतृत्वको सरकारको विरुद्धमा आन्दोलनमा उत्रने घोषणा गर्दै छन् ।

यसको मतलब के भने, हामीले विगतमा शक्ति र सत्ताको मादले जे–जति कुकर्म गरेका छौँ त्यसको उछितो नकाढियोस् भन्ने अनुरोधात्मक धम्की दिएर भए पनि बालेन सरकारको गतिलाई रोक्न र त्यतिमै पूर्णविराम लगाउन सकिन्छ कि भन्ने आशाको त्यान्द्रोमा अल्झिएर बाँच्दै गरेको वर्तमान परिपे्रक्ष्य रहेको छ । यता बालेन नेतृत्वको सरकार अनुसन्धानको कामलाई रोक्नुको साटो अझै धेरै वा ठूलो रफ्तारमा अगाडि बढाउने तयारीमा रहेको छ ।

सरकारको नजरमा विष्णु पौडेल मात्र होइन कि अध्यक्ष केपी शर्मा ओलीलगायतका विगतमा लाभको पदधारण गरेका अनि परोक्षरुपमा तिनीहरुसँग जोडिएका जो–कसैलाई पनि नछोड्ने रणनीति शायद बनिएको हुनसक्छ ।
बालेन सरकारलाई चाहिँ बरु कम्युनिस्ट सरकार भनिदिए फरक पर्नेवाला छैन । सरकारको यो कार्यवाहीले पुराना पार्टीका नेताले एकदिन भोक लागेको बेला के खाना खान पाइएला ? भनेर सोच्ने वा एकछाक खानका लागि चिन्ता लिने दिन आउन पनि बेर लाग्नेछैन ।

पार्टीको शीर्ष नेतृत्वको हौसला र आदेशको बलमा यी सबै कुकर्महरू भएका थिए भनेर मान्न सकिन्छ । वर्तमान सरकारले यी भ्रष्ट व्यक्तिलाई कार्यवाही गरेर मात्रै पुग्नेवाला छैन । भोलिका दिनमा केवल कार्यवाहीका डरले मात्र होइन कि अनुशासन, नैतिक आचरण आदिको पनि ख्याल राखेर चाहे कर्मचारी हुन्, चाहे नेतृत्व सम्हाल्ने नेता हुन्, तिनले कसैले पनि भ्रष्ट र पतीत बनेर देश डुबाउने हर्कत गर्न नचाहून्, अनि चाहेर पनि गर्न नसकून् । यही नै राजनीतिक परम्परा बन्न सकोस् भन्ने आम जनताको अपेक्षा हो ।

जनअपेक्षाअनुसार अर्बौं वा खर्बौं रुपियाँ भ्रष्टाचार गरेर देश डुबाउने अनि देशको अर्थतन्त्रलाई थला पार्ने व्यक्तिलाई मृत्युदण्डको सजाय उपयुक्त हुने कुरा पनि सुझाएका छन् । तथापि वर्तमान बालेन नेतृत्वको सरकारकै शैलीमा कार्यवाही तथा अनुसन्धान द्रुत गतिमा अगाडि बढाउने हो भने र यही शैलीले सुशासन कायम हुन सक्यो, कर्मचारी तन्त्र सदाचारी बन्न सक्यो भने हत्या–हिंसाको बाटो भरसक नरोज्नु नै उपयुक्त हुन्छ ।

अर्को कुरा, हाम्रो देश आफैँमा शान्तिपूर्ण देश अनि भगवान् गौतम बुद्धको जन्म र उनका उपदेशले प्रभावित भएर तिनै उपदेशका अनुसार गर्दै आएको सानो र सुन्दर मुलुक भएकोले हिंसा–हत्याको बाटो अपनाउन उपयुक्त हुँदैन । आखिर भ्रष्टाचार गर्ने नेता होस् वा कर्मचारी होस्, ऊ पनि हाम्रै समुदायको सदस्य भएकोले भोलिका दिनमा प्रतिशोधको भावना बढेर जान सक्छ । यो भावनाले आपसमा विखण्डन गराउँछ । देशविकासका कामका लागि देशका हरेक पक्षका नागरिकको आ–आफ्नै प्रकारको भूमिका रहेको हुन्छ । सबैले आ–आफ्नो भूमिका निर्वाह गरेका खण्डमा देशोन्नतिको रफ्तार द्रुत गतिमा अगाडि बढाउन सकिन्छ ।

वर्तमान बालेन नेतृत्वको सरकारले जुन नीतिका आधारमा शासन चलाउँदै छ, आम नेपाली जनताले नेपालमा राणा शासन अन्त्य भएर प्रजातान्त्रिक व्यवस्थाको आरम्भसँगै सोही नीतिको शासनको अपेक्षा गरेका थिए । तर शासकका विविध कमजोरीका कारण जनताका अपेक्षा पूरा हुन सकेका थिएनन् । वि.सं. २००७ देखि २०८२ सालम्मको लामो कालखण्ड कुर्दा र विभिन्न सिद्धान्तधारी नेताको नेतृत्वमा सरकार गठन हुँदै गए पनि वर्तमानको बालेन सरकारको नीतिको आधारमा शासन चलेको थिएन ।

देश लुट्ने भ्रष्टहरूलाई सख्त कार्यवाही गर्नुको साटो उसले गरेका अपराधलाई अनेक तिकडमका साथ ढाकछोप गरेर गुपचुप राख्ने र शासक स्वयंले फाइदा उठाउने परिपाटीको विकास भएर जान थाल्यो । आम नेपाली जनताले यो कुरा यथार्थमा बुझेर पनि आजित भइसकेका र वर्तमान सरकारको शैलीले निर्ममताका साथ कार्यक्षेत्रमा उत्रन सक्ने शासक र शासनको खोज गर्दै गरेको अवस्थामा बालेन नेतृत्वको सरकार सत्तामा आउन सक्नु आम जनताको जित भएको ठान्नुपर्छ ।

अहिले जस–जसले सरकारको कामको विरोध गर्दै गरेको स्वर उराल्दै छन्, ती सबै लाउके तथा टाउके भ्रष्टाचारीका मतियार वा साझेदार हुन् । करोड जनताको साथ पाएको वर्तमान सरकारले अपराधीलाई एक–एक गर्दै छानेर उनीहरूले कमाएको अकुत सम्पत्ति जफत गरी यतिन्जेल मस्ती जीवन बिताएका अनि गरिबी के हो, भोक लागेर खान नपाउँदाको दारुण अवस्था कस्तो हुँदो रहेछ ? भन्ने आभास गराउन सक्नुपर्ने हुन्छ ।

विगतको लामो कालखण्डसम्म शासनको कुर्सीमा बसेर देशको अर्बौं सम्पत्ति लुटेका लुटेराहरूले यो तीतो यथार्थलाई आत्मसात् गरेर आफू लुटेरा हुँ, पापकर्मी हुँ, आफूले गरेको पापकर्मको फल आफूले भोग्नै पर्छ भन्नेजस्ता यथार्थ कुरालाई आत्मसात् गर्न र आफूलाई सुधारको बाटोमा हिँडाउने कुरालाई सहजै आत्मसात् गर्न सकिरहेका छैनन् । बरु त्यसको साटो सरकारले आफूहरूमाथि प्रतिशोध साँधेको आरोप लगाएर आफूलाई निर्दोष प्रमाणित गर्न खोजिरहेका छन् ।

यसको अर्थ के हुन्छ भने, उनीहरूभित्रको अहंकारको पर्दा अझै आफैँ खोल्न त परै जाओस्, प्रहरी पुगी पक्राउ पूर्जा थमाएर पक्राउ गरिरहँदा र अनुसन्धान गर्दै गरेकै अवस्थामा पनि आफ्ना अपराधहरू लुकाउनै खोजेको पाइन्छ । पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्दै गर्दाको समयमा उनको राजनीतिक दललगायतका अन्य राजनीतिक दलले समेत यसो गर्नुपथ्र्यो र यसो गर्नुहुँदैनथ्यो भनेर पौडेलका पक्षमा बोल्ने र यिनलाई निर्दोष साबित गराउने प्रयासमा लागेकाहरूले सरकारको यो कदमको विरोध गरेको पाइयो ।

पूर्वअर्थमन्त्री विष्णु पौडेल स्वयंभन्दा उनका बारेमा धेरै थाहा पाउने अरुले पो जोगाउन खोजेको जस्तो गरेका थिए । शासनको बागडोर सम्हालेका सबैजसो नेताहरूमा अत्यधिक मोहले सिर्जना गरेको यो कर्मको दोष धेरै वा थोरै रहेकै छ । यस कारण उनीहरू सबैको दृष्टि नै दोषीजस्तो लाग्छ । बालेन नेतृत्वको कम्युनिस्ट शैलीको यो कार्यवाही झन्–झन् प्रभावकारी बन्दै गएको भए तापनि केवल कार्यवाहीको नाममा पक्राउ गर्ने अनि विगतको जस्तै अर्ब रुपियाँ भ्रष्टाचार गर्नेलाई करोड पनि होइन, केवल केही लाख मात्र असुलेर उन्मुक्ति दिने काम कतैबाट भएछ भने आम जनताको मानसबाट बालेन नेतृत्वको सरकारप्रतिको विश्वास ९५ प्रतिशत घटेर जाने कुरा निश्चित छ । भ्रष्टाचारी भनेर प्रमाणित भएको भोलिका दिनमा भिक्षा मागेर अथवा जेसुकै गरोस् उसले भ्रष्टाचार गरेर कमाएको धन सुको पनि नछाडी असुल गराएरै छोड्नुपर्छ । बालेन सरकारप्रतिको विश्वास आगामी दिनमा पनि जतिको त्यति नै रहेको छ ।