भ्रामक समाचारप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण


काठमाडौं ।

हाल विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नेपाल चिकित्सक संघका सम्बन्धमा प्रकाशित तथा प्रसारित भएका भ्रामक, तथ्यहीन र भ्रम सिर्जना गर्ने समाचार तथा अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७(१) अनुसार कुनै पनि व्यक्तिले आधुनिक औषधीसम्बन्धी चिकित्सा कार्य गर्ने उद्देश्यले आफूले प्राप्त नगरेको आधुनिक औषधी सम्बन्धी डिग्री, डिप्लोमा, प्रमाणपत्र, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडेर लेख्न वा लेखाउन पाइँदैन । साथै, सम्बन्धित शैक्षिक योग्यता हासिल गरी कानुनी प्रक्रिया पूरा गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले मात्र आधुनिक चिकित्सकीय अभ्यास गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

नेपाल चिकित्सक संघ सदैव योग्य, दर्ताप्राप्त चिकित्सकबाट मात्र आधुनिक चिकित्सा सेवा प्रवाह हुनुपर्ने पक्षमा दृढ रहेको स्पष्ट पार्न चाहन्छ । साथै अवैध रूपमा चिकित्सा अभ्यास गर्ने प्रवृत्तिविरुद्ध संघ सधैं स्पष्ट र अडिग रूपमा उभिएको छ । हाल विभिन्न सामाजिक सञ्जालमार्फत गैर–चिकित्सक व्यक्तिहरूले चिकित्सकीय अभ्यास गर्ने, औषधी सिफारिस गर्ने तथा स्वास्थ्यसम्बन्धी भ्रामक जानकारी प्रवाह गर्ने कार्य बढ्दो क्रममा रहेको देखिएको छ ।

यस्ता गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्न सक्ने भएकाले नेपाल मेडिकल काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सकहरूले मात्र आधुनिक चिकित्सकीय अभ्यास गर्न तथा औषधी सिफारिस गर्नुपर्ने भन्दै नेपाल चिकित्सक संघले आग्रह गरेको छ ।

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न परिषद् (काउन्सिल) हरूबीच आवश्यक समन्वय र सहकार्य गरी चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको दर्ता, कार्यक्षेत्र तथा अधिकारसँग सम्बन्धित देखिएका समस्याहरू कानुनी र संस्थागत रूपमा समाधान गर्न सम्बन्धित सबै निकायलाई नेपाल चिकित्सक संघले अपिल गरेको छ ।