सीमा रक्षा र जनसुरक्षामा असफल सरकारको औचित्य सकिन्छ : भीम रावल


काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको पहिलो दायित्व राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा भएको बताएका छन्। काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकार यो कर्तव्यबाट विमुख हुनेबित्तिकै त्यसको औचित्य समाप्त हुने टिप्पणी गरे।

रावलले सरकारी जग्गा अतिक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिँदै वास्तविक भूमिहीन, श्रमजीवी र विपन्न नागरिकको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए। साथै, संविधानमा उल्लेख भएअनुसार परराष्ट्र नीति राष्ट्रिय हित, असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित हुनुपर्ने तथा असमान सन्धि नगर्ने व्यवस्था व्यवहारमा कार्यान्वयन हुन नसकेको दाबी गरे। उनले माथिल्लो कर्णाली र महाकालीसँग सम्बन्धित सम्झौताहरूलाई असमान सन्धिको उदाहरणका रूपमा उल्लेख गरे।