कृषि व्यवसायबाटै मनग्य आम्दानी

282
Shares

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–४, बडकादियालेका ५६ वर्षीय पर्शुराम आचार्य २४ वर्षदेखि व्यावसायिक कृषिमा रमाइरहनुभएको छ । घर–घु¥यानकै १६ रोपनी जग्गामा व्यावसायिक तरकारी तथा फलफूल खेतीबाट उहाँले वार्षिक ७ लाख बढी आम्दानी गर्नुहुन्छ । आचार्यले फलफूल र तरकारीको बेर्नासमेत उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ ।

मौसमी र बेमौसमी तरकारी, फलफूलका साथै बेर्नाहरुसमेत उत्पादन गर्ने र बिक्री गर्ने गरेको आचार्यको भनाइ छ । बजारको खाँचो नभएकाले उत्पादन भएका सबै वस्तु बिक्री हुने कृषक आचार्यले सुनाउनुभयो । खोटाङ बजार, चिसापानी बजार, सिम्पानी बजारलगायतका जिल्लाका उत्तरी क्षेत्र र भोजपुरको पान्धारेसम्म उहाँको उत्पादनको माग हुने गरेको छ ।

जेठी बुहारी र एक श्रीमतीका साथमा रहेर आचार्यले कृषि कर्म गरिरहनुभएको छ । खोटेहाङ गाउँपालिकाभरि नै आफूले जतिको दिगो कृषि व्यवसाय कसैले नअपनाएको आचार्यको दाबी छ । स्थानीयलगायत तीनै तहका सरकारले दिगो कृषकलाई प्राथमिकतामा राखेर अनुदान तथा सहयोग गर्नुपर्ने उहाँले माग राख्नुभएको छ ।
सिंचाइ उहाँको अर्को समस्या हो । खानेपानीकै हाहाकार भएको बडकादियालेमा उहाँले निकै टाढा मुहानबाट पानी ल्याएर पोखरीमा जम्मा गरी सिचाइ गर्नुभएको छ ।

कृषिमा लाग्न चाहने स्थानीयहरुलाई समेत उहाँले जानेको सिकेको जानकारी खुलेरै बाँड्ने गर्नुभएको छ । उहाँले धनकुटा, काठमाडौं, दिक्तेललगायतका ठाउँमा विभिन्न समयावधिको कृषिसम्बन्धी तालिमहरु लिनुभएको छ । तनमन दिएर कर्म गरे घरगाउँमै रमाएर बाँच्न र बचाउन अनि समृद्धिको बाटो समाउन सकिने आचार्यको सन्देश छ ।