नेपालको प्रमुख आदिवासी जानजाति समुदायमध्ये गुरुङ एक हो । संस्कृतिको धनी गुरुङ समुदायमा संस्कार, संस्कृति र सत्कारको राम्रो परम्परा रहेको पाइन्छ । केही क्षण यस्तो बनेर आइदिन्छ, जसले कुनै एउटा घटना र पुस्ताको पूरै चेतनाको कथा बोकेर हिँडिदिन्छ ।
भदौ २३–२४ को जेनजी आन्दोलन त्यस्तो एउटा क्षण भइदियो, जसले आउँदो पुस्ताको पूरै चेतना बदलिदियो । त्यो आन्दोलन युवाहरुको भीड मात्र थिएन, आशा र निराशाबीचको नयाँ राजनीतिक चेतनाको संगमस्थल थियो । भ्रष्ट, दलाल, दम्भी अनि ढाँट–छलको राजनीति गर्ने राजनीतिक निर्लज्जताविरुद्ध आक्रोशको ज्वाला थियो । त्यही ज्वालाको रापले तिर्खाएका नौजवानहरुलाई पानी खुवाउँदा खुवाउँदै जन्मिएको नाम हो– सुधन गुरुङ ।
हुन त उनीसँग मेरो व्यक्तिगत चिनजान छैन । म उनलाई चिन्छु, उनी मलाई चिन्दैनन् । ‘हामी नेपाल’ नामको संस्थाका सञ्चालक उनी जेनजी आन्दोलनबाट एकाएक राष्ट्रिय राजनीतिमा उदाए । उनी जेनजी समूहका होइनन्, त्यसैले पानी बाँडेर आन्दोलनकारीको गला भिजाउने मोर्चामा देखिएका थिए । परिस्थिति यस्तो आइदियो कि जसलाई सम्हाल्न उनी सडकमा ओर्लिनै प¥यो । परिस्थितिको अग्रभावमा आउनै प¥यो । बढ्दो बेरोजगारी, युवाको विदेश पलायन, अविश्वासिलो राज्यसत्ता, सधैँको राजनीतिक खिचातानी, अन्यौल र अस्थिरताले नेटो काटिसकेको तत्कालीन अवस्थाले एउटा निकास दिनै पथ्र्यो । त्यही निकासको विन्दु बनेर उदायो जेनजी आन्दोलन अथवा नयाँ चेतनाको प्रतिविम्बको विष्फोट ।
उनले ‘म कसैलाई छोड्दिन’ भन्दै स्थितिलाई सम्हाल्न निकै ठूलो भूमिका खेलेका दृश्यहरु सामाजिक सञ्जालले प्रस्ट पारेकै हुन् । अन्ततः परिस्थिति सग्लिदै गयो । एकाएक उनी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चर्चामा आए । कसैको समर्थन त कसैको आलोचनाबीच उनी रास्वपाबाट चुनाव लडे, जिते र गृहमन्त्री बने । संघर्ष, आलोचना, विवाद र समर्थनका बीच यहाँसम्म आइपुगेका उनको असली परीक्षा शुरु भएको छ ।
धेरै युवाहरुले उनीभित्र आफ्नै प्रतिविम्ब देखेका छन् । पीडितहरुले पहिलोपटक आफ्ना लागि बोलिदिने कोही पाएका छन् । संघर्षको बाटो सरल हुँदैन, त्यहाँ आलोचना, आरोप र अविश्वासका खाडलहरु पार गर्नुपर्ने हुन्छ । उनलाई कसैले परिवर्तनको दूत त कसैले अनुभवहीन व्यक्ति भने । कसैले हिम्मतको प्रशंसा गरे त कसैले उनको भूमिकामाथि प्रश्न उठाए । यी सबै अवस्थाबाट उनी खारिए र राष्ट्रिय राजनीतिमा स्थापित भए ।
जेनजी आन्दोलनले इतिहासको पाना बनाउँदै गर्दा सडकमा देखिएका कतिपय अनुहारहरु हराउँदै गए, कति सम्झनामा सीमित भए, कति तितरबितर भए तर सुधन गुरुङको यात्रा रोकिएन । इतिहासका पाना थप्ने काम भइरह्यो । राजनीतिक रुपान्तरण, सुशासन, परिवर्तनको आशा र पीडितलाई न्याय दिलाउनु उनका लागि चुनौती बनेर आएको छ । राजनीति गर्नु सामान्य होला तर राजनीतिमा लागेर परिवर्तन गराउनु असामान्य हो ।
आन्दोलनको मोर्चाभन्दा सत्ता सञ्चालनको मोर्चा बढी जटिल हुन्छ । गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहँदा अब पीडीतलाई न्याय दिनुपर्नेछ । गृहमन्त्रीको कुर्सी अधिकार प्राप्त होइन, जिम्मेवारीको प्रतीक हो, त्यो प्रस्ट पार्नु छ । किनकि नागरिकको सुरक्षा, सुशासन, शान्ति, लोकतन्त्रका मूल्य–मान्यताहरु यसैमा गाँसिएको छ ।
यो देश चिया बेच्ने, पानी बेच्ने र मकै बेच्नेको पनि हो ।
त्यो अनुभूति पनि दिलाउनु छ । ‘पानी बेच्ने’ सुधनको इतिहास भविष्यले कस्तो लेख्छ ? त्यो भविष्यलाई नै छोडौं तर एउटा परिवर्तनको आवाज सिंहदरबार पुगेको भने पक्कै हो । माइतीघर मण्डलाका पीडितहरुका माझ, अन्यायविरुद्धका आवाजमा र बाँच्नकै लागि निराशाले परिवार छोड्न विवश भएका व्यक्तिहरुका लागि सुधन गुरुङको उपस्थिति मलहमसरह भएको छ ।
परिवर्तनको खोजी र पीडितको आवाज जहाँ हुन्छ, त्यहाँ उनको उपस्थिति अनिवार्य देखिन्छ । मञ्चमा उभिएर दिने भाषणभन्दा पीडितको झुपडीमै पुगेर दुःख, कष्ट र अन्यायले एक्लो महसुस गरिरहेकाहरुको आवाज सुनिदिने मान्छे हुन्– सुधन गुरुङ । लोकतन्त्रको दुहाइ दिनेहरुले भुइँ मान्छेलाई बिर्सिरहँदा सुधन उनीहरुको सहारा बनेर उदाएका छन् । सम्पत्ति, पद, प्रतिष्ठाको अहंकारले नागरिकप्रति अन्धो बनाइएको लोकतन्त्रलाई आँखा देखाउने प्रयत्न गर्दै छन् । शायद यही कारणले होला, उनलाई राजनीतिक नेताभन्दा पनि आशाको झिल्कोको रुपमा हेरिएको छ । गरिबी, बेसहारा, पीडित, उपेक्षित र अँध्यारोमा बाँच्न बाध्य भएकाहरुले सुनिदिने अनुहार उनैलाई देख्न थालेका छन् ।
भलै पीडितका आवाज सुन्ने उनी आज समाधानको निर्णय गर्ने ठाउँमा पुगेका छन् । अब उनले कहाँ पुगे होइन, कसका लागि त्यहाँ पुगे भन्ने जटिल मानक स्थापित गराउनुपर्नेछ । दुःखी, पीडितका आशाहरुले उनलाई छाया बनेर पछ्याइरहेको छ । सडकको संघर्ष र सिंहदरबारको शक्ति, मन्त्रालयको कुर्सी र दुःखीको पीडाको अन्तर ठूलै हुन्छ ।
त्यो अन्तरलाई बिर्सिएर जुन नेताले काम गर्छ, त्यो शासक होइन, वास्तविक जननेता बन्छ । हामीले देखेको ‘नेपाल कहिले बन्छ ?’ भएका उद्योगधन्दा सखाप पारियो, जनतालाई बेरोजगारी बनाइयो, परिणाम बेरोजगारीको विशाल खाडल बन्यो । ‘हामी जुत्ता बनाएर बस्ने होइन, त्यसैले जुत्ता कारखाना बेचेकै हो’ भन्दा पनि निरीह बनेर सुन्ने दिन आयो । परिवार पाल्न र बिहान–बेलुका हातमुख जोर्नकै लागि विदेशिन बाध्य बनाइयो । विभिन्न बहानामा नागरिकलाई बेच्ने काम भयो । नागरिकलाई मृत्युको भुमरीमा पारेर लोकतन्त्रको जप गर्नेहरु वास्तवमै अन्धो भइसकेका थिए । यही प्रतिवादको आवाज हो– जेनजी आन्दोलन । यसको अग्रपंक्तिमा देखिएका पात्र हुन्– सुधन गुरुङ ।
यो सुधन गुरुङको व्यक्तिगत जीवनको कथा होइन, एउटा यूवा पुस्ताको कथा हो । साहस र हिम्मत गर्नेको कथा हो । निराशालाई आशामा बदल्नेहरुको कथा हो । आफ्नो आवाजको कुनै अर्थ छैन भन्नेहरुको कथा हो । आज सडकमा उठेको कुनै आवाज भोलि सिंहदरबारमा पुग्न सक्छ भन्नेहरुको कथा हो । राजनीतिमा उसको उदय कसरी भयोले होइन, प्राप्त जिम्मेवारी कसरी निर्वाह ग¥योले इतिहास बनाउँछ । नेपालको राजनीतिमा कति आए–गए तर सम्झनामा रहने कमै भए । त्यसैले प्राप्त जिम्मेवारीलाई जनहित र देशहितमा प्रयोग गर्न नसके उनी पनि असंख्य असफलहरुको सूचीमा एउटा नाम थप्न भने सफल हुनेछन् ।
उनले बोकेको सपना अब व्यक्तिगत रहेन, हजारौंको साझा सपना बनेको छ । यी सपनालाई विपनामा परिणत गर्ने उनका भविष्यका कर्महरुले हो । माइती घरको आवाज होस् वा झुपडीको आवाज, लोकतन्त्रको वकालत गर्ने कुनै नेतालाई सुन्ने फुर्सद छैन । तर सुधनको त्यो आवाज सुन्ने र न्याय दिने हिम्मतले लोकतान्त्रिक इतिहासको एउटा अध्याय भने पक्कै थप्ने नै छ ।











प्रतिक्रिया