काठमाडौं।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ । महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान का रूपमा मनाउन लागेको जनाएको छ ।
नेफिनका अध्यक्ष निमा ह्योल्मो लामाले खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको सहभागिता गराई दिवसलाई अधिकार प्राप्तिको सशक्त आन्दोलनका रूपमा स्थापित गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार यो कार्यक्रमले नेपालका आदिवासी जनजातिको एकता, विविधता र साझा अधिकारको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउनेछ ।
यो पटकको विश्व आदिवासी दिवस नेपालले मात्र हर्ने नभइकन विश्वलाई एउटा सन्देश दिने किसिमले तयारी गरिरहेका छौं, उपाध्यक्ष तथा प्रचार तथा प्रसार समितिका संयोजक अमृत बहादुर सुनुवारले भने । उहाँका अनुसार यस पटक आदिवासी दिवस साँस्कृतिक र खानाका परिकारहरुको महोत्सबको रुपमा आयोजना हुने बताए ।
महासंघका महासचिव विमल सारु मगरले यस वर्ष दिवसलाई नयाँ शैलीमा आयोजना गर्न खुलामञ्च रोजिएको बताए । काठमाडौं उपत्यकामा मात्रै करिब २० लाख आदिवासी जनजातिको बसोबास रहेको उल्लेख गर्दै उनले कम्तीमा ३५ हजार सहभागी उपस्थित गराउने लक्ष्यका साथ व्यापक तयारी भइरहेको जानकारी दिए ।
महासंघका अनुसार तयारीलाई प्रभावकारी बनाउन २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । विभिन्न जातीय सदस्य संस्था, प्रदेश तथा जिल्ला समन्वय समितिहरू, युवा, महिला, विद्यार्थी तथा सांस्कृतिक समूहहरू कार्यक्रमको तयारीमा सक्रिय रूपमा जुटेका छन् ।
संस्कृति, पहिचान र मौलिकताको विराट उत्सव
यस वर्षको विश्व आदिवासी दिवस नेपालका ५६ भन्दा बढी आदिवासी जनजातिको मौलिक संस्कृति, कला, परम्परा र जीवनशैली एकै स्थानमा अवलोकन गर्न सकिने विशेष अवसर बन्नेछ ।
कार्यक्रममा विभिन्न समुदायका परम्परागत खानाका परिकारहरूको प्रदर्शनी तथा बिक्री, मौलिक हस्तकला, जातीय पोशाक, सांस्कृतिक सामग्री, मौलिक बाजागाजा तथा जीवनशैली झल्काउने प्रदर्शनी गरिनेछ । साथै विभिन्न जातीय समुदायका कलाकारहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्य, गीत, बाजागाजा र सांस्कृतिक प्रस्तुति मार्फत नेपालको आदिवासी विविधतालाई जीवन्त रूपमा प्रस्तुत गर्नेछन् ।
भाषा, संस्कृति र अधिकारको साझा आवाज
विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिका मातृभाषा संरक्षण, भाषा पत्रकारिता, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतमा अधिकार, भूमि, पहिचान, समानुपातिक सहभागिता, सामाजिक न्याय र संविधानप्रदत्त अधिकार सम्बन्धी विषयलाई विशेष रूपमा उठाइने नेफिनले जनाएको छ ।
नेपालमा ५९ मान्यता प्राप्त आदिवासी जनजाति समुदाय रहेका छन् । प्रत्येक समुदायको आफ्नै भाषा, संस्कृति, इतिहास, परम्परा, ज्ञान प्रणाली, चाडपर्व, रीतिरिवाज र मौलिक जीवनशैली रहेको छ । यी सम्पदाको संरक्षण र भावी पुस्तामा हस्तान्तरण गर्न विश्व आदिवासी दिवसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
आन्दोलनका उपलब्धिको समीक्षा
कार्यक्रममा नेपालका आदिवासी आन्दोलनले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धि, संविधानमा आदिवासी जनजातिको पहिचान, अन्तर्राष्ट्रिय श्रम संगठन (क्ष्ीइ–१६९), संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकारसम्बन्धी घोषणापत्र (ग्ल्म्च्क्ष्ए) लगायतका विषयमा पनि चर्चा गरिनेछ । साथै अझै प्राप्त हुन बाँकी अधिकारका विषयमा साझा प्रतिबद्धता व्यक्त गरिने जनाइएको छ ।
विश्वलाई नेपालको विविधताको सन्देश
नेफिनका पदाधिकारीका अनुसार यस वर्षको कार्यक्रम केवल दिवस मनाउने औपचारिकता होइन, नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई विश्वसामु गर्वका साथ प्रस्तुत गर्ने विशेष अवसर हुनेछ । खुलामञ्चमा एकै दिन दर्जनौं जातीय समुदायको सांस्कृतिक झाँकी, मौलिक बाजागाजा, परम्परागत पोशाक र खानाका परिकार प्रदर्शन गरिने भएकाले कार्यक्रम नेपालकै सबैभन्दा ठूलो आदिवासी सांस्कृतिक महोत्सवमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
महासंघले सम्पूर्ण आदिवासी जनजाति समुदाय, सरोकारवाला निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई नेपालको सांस्कृतिक विविधता, मौलिक सभ्यता र आदिवासी जनजातिको पहिचान तथा अधिकारको साझा अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।











प्रतिक्रिया