काठमाडौं ।
पृथ्वीमा देखिएका प्रारम्भिक जनावरहरू यौन प्रजननमा त्यति सफल थिएनन्, जसका कारण जीवहरूको विविधता करोडौं वर्षसम्म सीमित रहेको नयाँ अध्ययनले देखाएको छ। वैज्ञानिकहरूका अनुसार यौन प्रजननको विकास भएपछि मात्र पृथ्वीमा जीवहरूको विकास र विविधीकरण तीव्र गतिमा अघि बढ्न थालेको थियो।
क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले करिब ५७ करोड ४० लाख वर्षअघि पृथ्वीमा बसोबास गर्ने सबैभन्दा पुराना ज्ञात जनावरहरूको जीवाश्म अध्ययन गरेका थिए। ती जीवहरूले एउटै अभिभावकको आनुवंशिक सामग्रीबाट सन्तान उत्पादन गर्ने अलैंगिक प्रजनन विधि अपनाउने गर्थे।
नेचर इकोलोजी एन्ड इभोलुसन नामक वैज्ञानिक पत्रिकामा प्रकाशित अध्ययनले लामो समयदेखि जीवाश्मविद्हरूलाई सताइरहेको एउटा प्रश्नको जवाफ दिन खोजेको छ—पृथ्वीमा जनावरहरूको जीवन करोडौं वर्षसम्म किन खासै परिवर्तन भएन?
पृथ्वीका सबैभन्दा पुराना जीवमध्ये ‘फ्र्याक्टोफुसस’ नामक जीव पनि एक थियो। यद्यपि यसको स्वरूप जनावरभन्दा बढी फर्न वनस्पतिजस्तै देखिन्थ्यो। यो जीव करिब ६३ करोड ५० लाखदेखि ५३ करोड ९० लाख वर्षअघिको एडियाकारन युगमा अस्तित्वमा थियो।
यी जीवहरूमा मुख, अंग वा हातखुट्टा थिएनन्। वैज्ञानिकहरूको अनुमानअनुसार तिनीहरूले वरिपरिको पानीबाट प्रत्यक्ष पोषक तत्व सोस्ने गर्थे। तिनीहरूले स्ट्रबेरी बिरुवाले झैँ ‘रनर’ पठाएर आफ्नै प्रतिलिपि अर्थात् क्लोन उत्पादन गर्दै प्रजनन गर्थे।
अध्ययनकी प्रमुख अनुसन्धानकर्ता डा. एमिली मिचेलका अनुसार त्यतिबेला पृथ्वीमा जीवन अपेक्षाकृत सहज थियो। “एडियाकारन युगमा जीवन निकै आरामदायी थियो, त्यसैले यौन प्रजननको आवश्यकता खासै थिएन। प्रतिस्पर्धा पनि कम भएकाले परिवर्तन गर्नुपर्ने दबाब थिएन,” उनले बताइन्।
अनुसन्धान टोलीले क्यानडाको न्यूफाउन्डल्यान्डस्थित मिस्टेकन पोइन्ट’क्षेत्रका जीवाश्महरूको अध्ययन गरेको थियो। यो स्थान एडियाकारन युगका जीवाश्महरूको विश्वकै महत्वपूर्ण भण्डार मानिन्छ।
वैज्ञानिकहरूले कम्प्युटर नमुना निर्माण गरी प्रारम्भिक जनावर समुदायले विभिन्न वातावरणीय अवस्थाहरूमा कसरी व्यवहार गर्थे भन्ने विश्लेषण गरे। यसबाट प्रारम्भिक जनावरहरूमा किन प्रजातिगत विविधता कम थियो भन्ने बुझ्न मद्दत मिल्यो।
अध्ययनअनुसार एडियाकारन युगका जनावरहरू पोषक तत्वले भरिपूर्ण समुद्री वातावरणमा बस्थे, जहाँ स्रोतका लागि प्रतिस्पर्धा न्यून थियो। तर जब तिनीहरू गहिरो समुद्रबाट कम गहिराइ भएका क्षेत्रमा फैलिन थाले, तब ज्वारभाटा, आँधीबेहरी, तापक्रमको उतारचढाव र पोषक तत्वको परिवर्तनजस्ता चुनौतीहरू सामना गर्नुपर्यो।यही दबाब र वातावरणीय तनावले यौन प्रजननको विकासलाई प्रेरित गरेको वैज्ञानिकहरूको निष्कर्ष छ।
डा. मिचेलका अनुसार, तनावले यौन प्रजननलाई जन्म दियो। त्यसपछि जनावरहरूले नयाँ स्थानमा बसाइँ सर्न र नयाँ क्षेत्र कब्जा गर्न थाले। प्रतिस्पर्धा बढेसँगै तिनीहरूको फैलावट पनि तीव्र भयो।
नयाँ वातावरण र नयाँ प्रजनन विधिसँगै जीवहरूमा आनुवंशिक विविधता बढ्न थाल्यो। परिणामस्वरूप नयाँ–नयाँ प्रजातिहरूको विकास तीव्र गतिमा भयो।यो प्रक्रिया त्यसपछिको क्याम्ब्रियन युगमा अझ तीव्र बन्यो, जब जनावरहरूले चलायमान जीवनशैली अपनाउन थाले। वैज्ञानिकहरूका अनुसार यही परिवर्तनले पृथ्वीमा आज देखिने विशाल जैविक विविधताको आधार तयार गरेको थियो।











प्रतिक्रिया