वैज्ञानिकहरूले संसारकै सबैभन्दा अनौठो र कुरूप देखिने शार्कमध्ये एक मानिने गोब्लिन शार्कलाई पहिलोपटक यसको प्राकृतिक बासस्थानमा जीवित अवस्थामा क्यामेरामा कैद गरेका छन्।
‘जर्नल अफ फिस बायोलोजीमा प्रकाशित नयाँ अध्ययनअनुसार सन् २०१९ मा दक्षिण प्रशान्त महासागरस्थित जार्भिस टापुनजिक अनुसन्धान गरिरहेका हवाई विश्वविद्यालयका वैज्ञानिकहरूले यो दुर्लभ शार्कलाई अवलोकन गरेका थिए।
‘गोब्लिन शार्क आफ्नो अगाडि तन्किने विशेष जबडाका कारण परिचित छ। यसको जबडाले प्रतिघण्टा होइन, प्रतिक्षण करिब ३.१ मिटरको गतिमा अगाडि फुत्किएर शिकारलाई समात्ने क्षमता राख्छ। यही विशेषताले यसलाई समुद्रको सबैभन्दा अनौठो शिकारीमध्ये एक बनाएको छ।
यसअघि वैज्ञानिकहरूलाई यो प्रजातिबारे जानकारी मुख्यतः माछा मार्ने क्रममा समुद्रको गहिराइबाट भेटिएका मृत नमुनाहरूबाट मात्र प्राप्त भएको थियो। यी शार्कहरू सामान्यतया समुद्रको सतहबाट करिब १,२०० मिटर गहिराइसम्म बस्ने विश्वास गरिन्थ्यो।
अध्ययनका प्रमुख लेखक तथा हवाई विश्वविद्यालयका अनुसन्धानकर्ता आरोन जुडाहले भने, “समुद्रको गहिराइमा बस्ने सबैभन्दा रहस्यमय शार्कमध्ये एकलाई आफ्नै प्राकृतिक वातावरणमा स्वस्थ अवस्थामा देख्न पाउनु अविस्मरणीय अनुभव हो।”
उनका अनुसार यो शार्क अपेक्षाभन्दा अझ गहिरो स्थानमा भेटिएको थियो। टोंगा समुद्री खाडलको ढलान क्षेत्रमा गरिएको अर्को अवलोकनले यस प्रजाति पहिले सोचेभन्दा झन्डै ७०० मिटर बढी गहिराइमा पनि बस्न सक्ने देखाएको छ।
पहिलो दृश्य समुद्रमुनि सञ्चालन गरिएको ‘हर्क्युलिस’ नामक रोबोटिक उपकरणमा जडित क्यामेराले कैद गरेको थियो। अनुसन्धान टोलीले प्रत्यक्ष प्रसारणको रेकर्ड अध्ययन गर्ने क्रममा पछि मात्रै उक्त जीव गोब्लिन शार्क भएको पुष्टि गरेको थियो।
त्यसपछि सन् २०२४ मा टोंगा समुद्री खाडलनजिक अर्को अनुसन्धान टोलीले चारा राखिएको विशेष क्यामेरामार्फत यस प्रजातिको दोस्रो दृश्य रेकर्ड गर्यो।
गोब्लिन शार्क सामान्यतया ३.६ मिटर अर्थात् करिब १२ फिटसम्म लामो हुन्छ। यसको शरीरको लगभग दश प्रतिशत भाग अत्यन्त लामो र चप्टो थुतुनोले ओगटेको हुन्छ, जसले यसलाई अन्य शार्कभन्दा पूर्ण रूपमा फरक देखाउँछ।
वैज्ञानिकहरूका अनुसार यो प्रजाति जति अनौठो देखिन्छ, त्यति नै दुर्लभ पनि छ। यसको अवलोकन विशाल स्क्विड वा मारियाना समुद्री खाडलका अन्य रहस्यमय जीवहरूको अवलोकनजत्तिकै दुर्लभ मानिन्छ।
यही कारणले गोब्लिन शार्कबारे अझै धेरै तथ्य अज्ञात छन्। यसको खानपान र शिकार गर्ने तरिकाबाहेक यस प्रजातिको जीवनशैली, प्रजनन र व्यवहारबारे वैज्ञानिक जानकारी सीमित छ।
पछिल्ला वर्षहरूमा क्यानरी टापु र जापानको तटवर्ती क्षेत्रमा समेत गोब्लिन शार्क देखिएको रिपोर्ट भए पनि ती अधिकांश अवलोकन प्राकृतिक गहिरो बासस्थानभन्दा बाहिर भएका थिए। यसपटक भने वैज्ञानिकहरूले पहिलोपटक यसलाई आफ्नै प्राकृतिक वातावरणमा प्रत्यक्ष रूपमा अवलोकन गर्न सफल भएका हुन्।











प्रतिक्रिया