काठमाडौं ।
विश्वप्रसिद्ध पप गायिका म्याडोनाले आफ्नो नयाँ सांगीतिक कृतिको तयारीका क्रममा जीवन, परिवार र सांगीतिक यात्रासँग जोडिएका धेरै रोचक अनुभव सार्वजनिक गरेकी छन्। चर्चित प्रस्तोता ग्राहम नोर्टनसँगको करिब एक घण्टा लामो अन्तर्वार्तामा म्याडोनाले सँगको कुराकानीमा उनले काइली मिनोगप्रति आफूलाई ईर्ष्या लागेको क्षणदेखि भाइसँगको अन्तिम भेट, छोरीसँगको सम्बन्ध र भविष्यका योजनाबारे खुलस्त चर्चा गरेकी हुन्।
म्याडोनाले एक समय आफूलाई अष्ट्रेलियाली गायिका काइली मिनोगप्रति ईर्ष्या लागेको स्वीकार गरिन्। उनका अनुसार तत्कालीन श्रीमान् गाय रिची काइलीप्रति आकर्षित भएको जस्तो लागेपछि आफूले काइलीजत्तिकी सुन्दर कहिल्यै हुन नसक्ने सोच्ने गर्थिन्।
कुराकानीका क्रममा उनले निकट भविष्यमा बेलायतको चर्चित संगीत महोत्सवमा विशेष प्रस्तुति दिन सक्ने संकेत पनि गरिन्। यद्यपि यसबारे स्पष्ट पुष्टि भने गरिनन्।
उनको नयाँ सांगीतिक कृतिमा व्यक्तिगत जीवनका धेरै पाटा समेटिएका छन्। यसमा उनकी जेठी छोरी लुर्डेस लियोनसँगको पहिलो संयुक्त गीत समावेश छ। म्याडोनाका अनुसार छोरीले लामो समयसम्म आमाको प्रभावका कारण अवसर पाएको भनेर चिनिन नचाहेकाले सहकार्य गर्न रुचाएकी थिइनन्। पछि आफ्ना मनका भावनाबारे खुलेर कुरा गरेपछि दुवैले सँगै गीत सिर्जना गरेका हुन्।
त्यस्तै, कृतिमा समावेश ‘फ्राजाइल’ शीर्षकको गीत उनका भाइ क्रिस्टोफरको सम्झनामा आधारित छ। लामो समय सम्बन्धमा दूरी आए पनि क्रिस्टोफरको अन्तिम दिनहरूमा दुवैबीच पुनः मेलमिलाप भएको थियो। म्याडोनाले भाइको पीडा र बिछोडलाई संगीतमार्फत व्यक्त गर्नु आफ्ना लागि भावनात्मक उपचारजस्तै भएको बताएकी छन्।
उनले एउटा गीत अचानक केही मिनेटमै तयार भएको अनुभव पनि सुनाइन्। संगीतकारले धुन बजाइरहेका बेला आएको प्रेरणाबाट गीतका शब्द र लय तत्काल बनेको उनको भनाइ छ।
संगीत क्षेत्रमा स्थापित हुनुअघि आफूले निकै संघर्ष गरेको स्मरण गर्दै म्याडोनाले न्यूयोर्कका सुरुवाती दिनहरू सम्झिइन्। आर्थिक अभावका कारण महँगा पहिरन किन्न नसके पनि पुराना कपडा र सामग्रीलाई नयाँ शैलीमा प्रयोग गरेर आफ्नै पहिचान बनाएको उनले बताइन्।
यसैबीच, हालै आयोजित एक चर्चित सांगीतिक कार्यक्रममा लगाएको ऐतिहासिक पोशाक हराएको घटनाले आफूलाई निकै दुःखी बनाएको पनि उनले खुलासा गरिन्। दुई दशक पुरानो सम्झनासँग जोडिएको उक्त पोशाक र केही बहुमूल्य सामग्री हराएपछि अनुसन्धान जारी रहे पनि अहिलेसम्म फेला परेको छैन।
नयाँ सांगीतिक कृतिमार्फत आफ्नो जीवनका अनुभव, सम्बन्ध, संघर्ष र सम्झनालाई प्रस्तुत गर्न खोजेकी म्याडोनाले यसपटक केवल मनोरञ्जन मात्र नभई आफ्ना भावनात्मक कथा पनि दर्शक र श्रोतामाझ पुर्याउने प्रयास गरेको बताएकी छन्।











प्रतिक्रिया