–कैदीबन्दीको भत्ता र श्रम आम्दानीमा चलखेलको आरोप
–गिरी पक्राउपछि मोरङ कारागार तनावग्रस्त, नाइके सरुवा नगर्न कैदीबन्दीको विरोध
विराटनगर ।
नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागार मोरङका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा गिरीलाई शनिवार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीको निवासमा खानतलासी गरेको थियो । घरमा शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकमसमेत असुली गर्ने गरेको आरोप छ ।
मोरङ कारागारमा हाल १ हजार ९२ पुरुष र १ सय ७ महिला गरी कुल १ हजार १ सय ९९ कैदीबन्दी रहेका छन् । उनीहरूले दैनिक ८० रुपियाँ भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपियाँ हुन आउँछ । त्यसबाहेक कारागारभित्र करिब ५ सय जनाले मुडा र १ सय जनाले गलैँचा बुन्ने काम गर्छन् ।
ती सामग्री बिक्रीबाट आएको रकम र सरकारले पठाउने जाडो गर्मी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो । जाडोमा २५ सय र गर्मीमा २५ सय रुपैयाँ कपडा खरिदका लागि भनेर सरकारले उपलब्ध गराउँदै आएको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने– ‘कैदीबन्दीको पैसा कुन–कुन च्यानलबाट गिरीको खातामा पुग्यो भन्नेबारे हामी प्रमाण संकलन गरिरहेका छौँ । प्रारम्भिक सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।’
गिरीले आफ्ना सहयोगीको खातामा पैसा पठाउन लगाएर लिने गरेको प्रहरी स्रोतले दाबी ग¥यो । प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको घर अगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको थियो । गाडीमा केही फेला नपरेपछि प्रहरीले घरभित्र सर्च गरेको थियो ।
मोरङका प्रहरी उपरीक्षक एसपी कवित कटुवालले घटनाको विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।
मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार मिश्रले कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर रकम असुली गर्ने गरेको सूचनाका आधारमा गिरीलाई नियन्त्रणमा लिइएको बताउनुभएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही कैद भुक्तान गरिसकेका गिरी कारागारबाट छुटेपछि कांग्रेसको राजनीतिमा सक्रिय थिए । गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गर्नुभएको छ ।
मोरङ कारागारमा तनाव, नाइकेलाई सरुवा नगर्न माग
पूर्वचौकीदारसमेत रहेका गिरी पक्राउ परेपछि मोरङ कारागारका कैदीबन्दीहरू आन्दोलित बनेका छन् । गिरीसँग मिलेमतोको आशङ्कामा प्रहरीले कारागारका वर्तमान नाइके राकेश यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएपछि कैदीबन्दीले नाराबाजी गरेका हुन् ।
नाइके यादवलाई कारागारबाट अन्यत्र सार्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । गिरीलाई कारबाही गर्नुपर्ने तर यादवलाई सरुवा गर्न नपाइने उनीहरूको माग छ ।
तनाव बढेपछि प्रहरीले यादवलाई पुनः कारागारमै लगेर बयान लिएको छ । सुरक्षा निकायका एक उच्च अधिकारीका अनुसार गिरीले कारागारमा नाइके हुँदा जेल पर्नुअगाडिकै मितिमा विभिन्न बहानामा कैदीबन्दीहरूलाई तमसुक गराएर पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।











प्रतिक्रिया