सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण


काठमाडौं।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा आयोजित कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरू, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई तथा बालाजु शाखा प्रमुख मदन खतिवडालगायतको उपस्थिति रहेको थियो।

उक्त अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाडा मगरले प्राप्त सामग्रीले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्न तथा कठिन परिस्थितिमा नागरिकको ज्यान बचाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि सन नेपाल लाइफप्रति आभार व्यक्त गर्नुभयो।

त्यसैगरी कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरी बलले देशको विपद् व्यवस्थापन तथा उद्धार कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै बीमा व्यवसाय पनि नागरिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। उहाँले विपद्पछिको राहतमा मात्र नभई विपद् पूर्वतयारीलाई पनि सुदृढ बनाउन कम्पनीले आपतकालीन जोखिम व्यवस्थापनमा योगदान पुर्‍याउने उद्देश्यले उद्धार सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो।

हाल सन नेपाल लाइफले देशभरका १५० शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। शिक्षा, स्वास्थ्य तथा जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।