‘केही कर्मसाधकहरू’सँग गाँसिएका जीवनाथ धमला

94
Shares

जीवनाथ धमला नेपाली साहित्यमा परिचित नाम हो । उनी विशेषतः विशिष्ट व्यक्तिहरूको वृत्तचित्र बनाउने कलामा सुपरिचित छन् । उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने विभिन्न विशिष्ट व्यक्तिहरूका जीवनी र व्यक्तित्वमा आधारित वृत्तचित्रसँग जोडिएका छन् । नेपाल टेलिभिजनका दृश्यहरू सीमाविहीन भएर फैलिएजस्तै जीवनाथ धमलाको कर्म ‘कर्मसाधकहरू’लाई पहिचान गर्ने गरी फैलिएको छ । उनका तिनै दृष्टिहरूको फैलावटबाट बनेको पुस्तकको नाम हो ‘केही कर्मसाधकहरू’ ।

रेडियो नेपालमा समाचार वाचन गर्ने कृष्णा ताम्राकार, नेपाल टेलिभिजनमा ‘विश्व घटना’ प्रस्तुत गर्ने दुर्गानाथ शर्मा, रेडियो नेपालकै ‘साहित्य संसार’ कार्यक्रममा स्वर दिने दाहाल यज्ञनिधि, रेडियो नेपालमा ‘घटना र विचार’ प्रस्तुत गर्ने पुरुषोत्तम दाहाल र नेपाल टेलिभिजनबाट प्रसारण भएका विभिन्न विशिष्ट व्यक्तित्वहरूका जीवनी र व्यक्तित्वबारेका वृत्तचित्रमा प्रस्तुति दिने जीवनाथ धमला मलाई आ–आफ्ना क्षेत्रका उस्तै–उस्तै मानकजस्ता लाग्छन् ।

मानवशास्त्र विषयको औपचारिक अध्ययन गरेका धमला त्यस प्राज्ञिकताको सीमाभन्दा पर पुगेर साहित्याकाशमा समेत फक्रिन र फुल्न पुगेका छन् । उनले नेपाल टेलिभिजनमा विशिष्ट व्यक्तिहरूका वृत्तचित्र मात्र बनाएका छैनन्, त्यसभित्र जीवन्तता र सरसता भरेर ती वृत्तचित्रलाई रुचिकर पनि बनाएका छन् । एक दर्जनभन्दा ज्यादा पुस्तकका रचनाकार र कैयौं फुटकर कविता तथा लेखका स्रष्टा बनिसकेका धमलाले नजिकबाट पर्गेलेका विभिन्न विधाका व्यक्तिहरूको जीवनी र व्यक्तित्वलाई समेटेर उक्त पुस्तक बनाएका छन् ।

उनको रोजाइमा परेका प्रायः कर्मसाधकहरूको बारेमा अन्य लेखकहरूले समेत सोधपत्र लेखेर विद्यावारिधि÷महाविद्यावारिधि नै गरिसकेका भए पनि यस पुस्तकका लेखक धमलाका संक्षिप्त परिचयका भुल्काबाट कर्मसाधकहरू थप आलोकित भएका छन् ।

कुनै पनि वस्तुलाई हेर्दा हेरिने ठाउँअनुसार अलग–अलग दृश्य देखिन्छ । दृश्यजस्तै व्यक्तिलाई हेर्ने दृष्टिकोण पनि समय र सन्दर्भअनुसार बेग्लाबेग्लै हुन्छ । एउटै व्यक्तिले एउटै व्यक्तिलाई हेर्ने र चिन्ने दृष्टिकोण पनि समय र सन्दर्भले फरक हुन सक्छ । लेखकले एउटै कर्मसाधकका बारेमा भिन्न–भिन्न समयमा लेखेका कुराहरूलाई भिन्नता देखाएर नै प्रस्तुत गरेका छन् । शीर्षकमा दोहोरोपना देखिए पनि खुराकमा पोखिएका विश्लेषण र दृष्टिकोणहरू फरक र मौलिक लाग्छन् ।

यस पुस्तकभित्र समेटिएका कर्मसाधक व्यक्तित्वभित्र राजनीतिक क्षेत्रका ६ जना मुर्धन्य व्यक्तिहरू समावेश भएका छन् । साहित्य क्षेत्रका अग्रज आठजना अनुहारहरू सजिएका छन् । ललितकला क्षेत्रका सातजना कलाकार र एक समूह गरी आठ शीर्षकमा विभिन्न अनुहारहरूलाई उभ्याएका छन् । प्राज्ञिक र शैक्षिक क्षेत्रबाट चारजना शिक्षासाधकहरू चयन भएका छन् । अनि समाज सेवा, पत्रकारिता र सांगीतिक क्षेत्रका विशिष्ट साधकहरू ६ जनालाई पुस्तकमा समावेश गरिएको छ ।

लेखकले छनौट गरेका कर्मसाधकहरूका त्याग, तपस्या, योगदान, बलिदान, समर्पण, निष्ठा, परोपकार र साधकी जीवन अनि तीक्ष्ण क्षमता र प्रतिभाबाट प्रभावित भएर अक्षरहरू छरेका छन् । प्रशंसाका शब्दहरूमा भुल्भुलाएका छन् । उनको यस लेखनीले ती कर्मसाधकहरूको जीवनी र व्यक्तित्व अझ उज्यालिन पुगेको छ ।

यस पुस्तकले धमलाको रुचि, समर्पण र सम्बन्धलाई सविस्तार चिनाएको छ । उनी आफ्नो क्षेत्र र परिवेशभन्दा टाढा पुगेका छन् । आफ्नो क्षेत्रभन्दा अन्य क्षेत्रका आफूलाई प्रभाव पार्ने व्यक्तिहरूको बयान गर्दै सार्वजनिक भएका पाटाहरूको र आफैसँग गाँसिएका नयाँ–नयाँ सम्बन्ध एवं घटनाहरूलाई पुस्तकका शब्दचित्रभित्र समेटिएको छ । उनी जहाँ–जहाँ पुगे, जस–जसलाई भेटे र जस–जसको प्रभाव उनीभित्र प¥यो, ती कुराहरूलाई यस पुस्तकको सामग्री बनाएर समेटेका छन् ।

पहिले सार्वजनिक नभएका कर्मसाधकहरूका इतिहासहरू जानकारी पाउँदा पाठकहरूलाई पुस्तकभित्र मोती भेटिएको अनुभूति हुन्छ । ती व्यक्तित्वहरूको चित्रण गर्दा उनले राजनीतिक विचारबाट उन्मुक्त भएर विश्लेषण गरेका छन् । उनका हेराइहरूमा विशिष्टता झुल्किएका छन् ।

हरेक कर्मसाधकहरूलाई विधाअनुसार अलग–अलग पुस्तकमा समेटेको भए पाठकहरूले ती कर्मसाधकहरूको बारेमा अझ धेरै कुरा जान्न–बुझ्न पाउने थिए होला । त्यस्तो विस्तृत सोध गर्ने काम अरूबाट पहिल्यै भइसकेको हुनाले लेखकले यसरी एकै पुस्तकमा समेटेको हुन सक्छ । तैपनि पाठकहरूमा जाग्ने त्यस प्रकारको भोक भने यस पुस्तकले मेटाउन सक्दैन । पाठकहरूको त्यो भोक मेटाउन प्रत्येक विधाका बेग्लाबग्लै व्यक्तित्वहरूको बेग्लाबेग्लै पुस्तकहरूको अपेक्षा गरे भने त्यो अपेक्षा पूरा गर्नुपर्ने दायित्व लेखकको काँधमा थपिन सक्छ ।

सबै कर्मसाधकहरूको साधना समान रूपको र समान ओजनको नहोला पनि । तथापि ती कर्मसाधकहरूलाई समान बनाएर समेटिएको विषयमा पाठकहरूले चित्त नबुझाउन पनि सक्छन् । कर्मसाधकहरूको योगदानहरूको मानक बनाएर त्यस मानकभित्र पर्नेहरूको प्रस्तुति दिएको भए पाठकहरूलाई व्यक्तित्व पहिचान गर्न सहज हुने थियो भन्ने लाग्छ ।

पुस्तकमा शीर्षक, उपशीर्षक वा खण्डहरू नछुट्टिएकाले अनि सिङ्गो आलेखभित्रका अन्तरवस्तुहरू नछुट्याइएको कारणले सम्बन्धित व्यक्तिबारेको समग्र आलेख पढेर समुद्रबाट मोतीको खोजी गरेजस्तै खोज्नुपर्ने हुनाले धैर्यता र लामो प्रयास गरेपछि मात्र पाठकहरूले मोती भेटेको अनुभूत गर्नेछन् । मोती फेला पार्न त्यति सहज पनि त हुँदैन ।
पुस्तकको मूल्य रु. ६९९÷– राखेको देख्दा त्यसमा व्यापारिक भाव झल्केको कल्पन्छ मेरो मनले ।

त्यसलाई ७ सय रुपियाँ नै पारेको भए पनि के बिग्रिन्थ्यो र ? लेखकको सरलता र स्पष्टता नै झल्कने थियो भन्ने लाग्छ । प्यासिफिक पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको यो पुस्तकको आकार पाद टिप्पणीसहित ३३६ पृष्ठमा फैलिएको भए पनि पढ्दा रुचिकर नै भएर पुस्तक टुंगिन्छ । लेखक धमलाको सिर्जनशील कलम अझ तिख्खर भएर नयाँ सिर्जना बोकी पाठकहरूमाझ आइरहोस् ।