१५ दिन खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन निर्देशन

470
Shares

काठमाडौं ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकले १५ दिनका लागि खाद्यान्न अभाव हुन नदिन निर्देशन दिएको छ । बुधवार बसेको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

यो वर्ष बढी खडेरी लागे पनि आकस्मिक बाढीपहिरो आउनसक्ने भएपछि सरकारले नयाँ रणनीति अपनाएको हो । उक्त कार्ययोजनाअनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोलानाला, नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालमा विपद्को गाम्भीर्यताबमोजिम आवश्यकताअनुसार सवारीसाधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
बैठकले अवरोध भएका राजमार्ग र सडक तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेभी इक्युपमेन्ट चालकसहित चौबिसै घण्टा तयारीमा राख्न सडक विभाग, सातवटै प्रदेश र ७ सय ५३ वटै स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

खोज, उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्रीहरू तयारी अवस्थामा राख्न स्थानीय सरकारलाई अनुरोध गर्ने, समयमै अन्तरदेशीय विपद्सम्बन्धी पूर्वसूचना प्राप्त गर्न कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नेलगायतका निर्णय गरेको छ ।

बैठकले जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान महाशाखा मनसुन अवधिभर सातैदिन चौबिसै घण्टा सञ्चालन गर्ने प्रबन्ध मिलाउन विभागलाई अनुरोध गर्ने, भारत सरकारको प्रतिबद्धताअनुसार आउन बाँकी बेलिब्रिजका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायमा अनुरोध गर्ने, खोज तथा उद्धार सामग्रीको अभाव हुन नदिन निजी क्षेत्र, संघ, संस्था, नागरिक समाजलगायतसँग सहकार्य गरी ड्रोन एसोसियसन, नेपाल एसोसियसन अफ ¥याफिटङ् एजेन्सीलगायतलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

मौसम विज्ञान विभागका अनुसार यो वर्ष नेपालमा औसत समयभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । केही दिनमा देशभर मनसुन फैलिएसँगै भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट ढिलो गरी शुक्रवार नेपाल भित्रिएको मनसुन चार प्रदेशमा विस्तार भएको हो । महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ । यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने सम्भावना रहेको छ ।

मौसमविद्हरूले यो वर्षको पहिलो ठूलो वर्षा सम्भवतः आइतवारबाट हुने सम्भावना रहेको जनाएका छन् । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विभागका प्राध्यापक दीपक अर्यालले आउँदो हप्ता ठूलो वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ ।

महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाएको छ । मौसमसम्बन्धी अद्यावधिक जानकारी तथा आगामी तीन दिनको मौसम बुलेटिन नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई पटक पटक आग्रह गरिरहेको छ ।

मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । विभागका अनुसार यसवर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुनेछ ।

यस वर्षको मनसुन अवधिमा वर्षा कम हुनुका साथै दिउँसो र रातिको तापक्रम (अधिकतम र न्यूनतम तापक्रम) समेत औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । यसले गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने विज्ञहरूको चेतावनी छ । खासगरी तराई क्षेत्रमा कृषि उत्पादकत्व र दैनिक जनजीवनमा प्रभाव पार्ने देखिएको छ । केही वर्षयता जलवायु परिवर्तनको प्रभावका कारण मौसममा व्यापक फेरबदल देखिएको छ । वर्षायाममा पनि कुनै ठाउँमा अत्यधिक पानी पर्ने र कुनै ठाउँमा पानी नै नपर्ने खण्डवृष्टि अवस्था देखिने गरेको छ ।

यो वर्ष सुरुमा बढी त्यसपछि कम फेरि अन्तिमतिर बढी वर्षा हुने सम्भावना छ, अर्थात् भदौ अन्तिम सातादेखि असोज महिनाभित्र मौसम बाहिरिने समयमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूको दाबी छ ।
यो वर्ष छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र पानीको अभावले मनसुन अझ खतरनाक बन्न सक्ने आशंका छ । मौसमविद्ले मनसुनी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना र पूर्वानुमानको आधारमा मात्र आफ्नो योजना बनाउन र घर छाडेर बाहिर जान आग्रह गरेको छ ।

साथै सर्वसाधारण तथा सरोकारवाला निकायलाई मौसम विज्ञान विभागले जारी गर्ने ‘तीनदिने मौसम बुलेटिन’ नियमित रूपमा हेर्न र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेको छ । यो वर्षको मौसम पूर्वअनुमान गर्दै मौसमविद् अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पूर्वी नेपालमा मनसुन आइपुगे पनि यो कम्तीमा एक हप्ता पश्चिमी नेपाल नपुग्न सक्छ ।’

पश्चिमी वायु अझै सक्रिय छ र मनसुनीय हावा त्यति बलियो छैन, त्यसैले सम्पूर्ण नेपालमा पुग्न धेरै समय लागिरहेको छ । यस मनसुनमा औसतभन्दा कम वर्षा हुने देखाएको छ । यद्यपि यो परिवर्तन भइरहेको छ त्यसैले पूर्वी नेपालमा सामान्य वर्षा हुन सक्छ, केही ठाउँमा अझै कम वर्षा हुन सक्छ । पश्चिमी नेपालमा सामान्यभन्दा कम वर्षा हुने सम्भावना छ र पश्चिमी तराईमा धेरै कम वर्षा हुन सक्ने उहाँको भनाइ थियो ।