दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले आफू आमा बन्न लागेको जानकारी सार्वजनिक गरेकी छन्। विवाह भएको करिब छ महिनापछि उनले पहिलो सन्तानको अपेक्षा गरिरहेकी खबर साझा गरेकी हुन्।
हालै प्रदर्शनमा आएको फिल्म मा इन्टी बंगारमको सफलताको अवसरमा हैदराबादमा आयोजित कार्यक्रममा सामन्थाले आफ्नो जीवनको नयाँ अध्यायबारे खुलासा गरिन्। कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी केही समय परिवार र स्वास्थ्यलाई प्राथमिकता दिने तथा फिल्मी कामबाट अस्थायी विश्राम लिने बताइन्।
उनले भनिन्, मा इन्टी बंगारम पछि म केही समय विश्राम लिन्छु। अब मातृत्वको यात्रामा ध्यान दिन चाहन्छु। तर आफ्ना दर्शक र शुभेच्छुकबाट धेरै समय टाढा रहने छैन, चाँडै नयाँ परियोजनासहित फर्किनेछु।”उनको घोषणापछि कार्यक्रममा उपस्थित सबैले ताली बजाएर बधाई दिएका थिए। सामन्थाले पनि सबैको माया र समर्थनप्रति आभार व्यक्त गरिन्।
कार्यक्रममा उनका पति राज निदिमोरू पनि उपस्थित थिए। सामन्थाले खुसीको खबर सुनाउँदा राज निकै उत्साहित देखिएको बताइएको छ। पछिल्ला केही सातायता सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोका आधारमा उनी गर्भवती भएको चर्चा चलिरहेको थियो। अब भने सामन्थाले स्वयं उक्त खबर पुष्टि गरेकी छन्।सामन्थाको व्यक्तिगत जीवनबारे चर्चा गर्दा, उनले सन् २०१७ मा अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन्। दुवै सन् २०२१ मा अलग भएका थिए। त्यसपछि सामन्था र राज निदिमोरूबीचको सम्बन्धबारे विभिन्न अड्कलबाजी हुँदै आएको थियो। अन्ततः उनीहरूले डिसेम्बर २०२५ मा विवाह गरेका थिए।











प्रतिक्रिया