विश्वकपको रौनकबीच नेपाली फुटबलमाथि फिफाको निलम्बन, अन्तर्राष्ट्रिय सहभागिता रोकियो


काठमाडौं ।

विश्वकप फुटबलको उत्साह विश्वभर बढिरहेका बेला नेपाली फुटबल भने ठूलो झट्कामा परेको छ। विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक मामिलामा सरकारी हस्तक्षेप भएको निष्कर्ष निकाल्दै नेपाललाई निलम्बन गरेको जानकारी सार्वजनिक भएको छ।

एन्फाका महासचिव किरण राईले बिहीबार बिहान फिफाबाट निलम्बनसम्बन्धी जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार निलम्बन तत्काल प्रभावबाट लागू भएको छ। फिफा र एएफसीले यसअघि नै एन्फाको स्वायत्ततामाथि हस्तक्षेप नगर्न नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषद्लाई पटक–पटक चेतावनी दिएका थिए। राखेपले एन्फालाई निलम्बन गर्ने, निर्वाचन प्रक्रिया रोक्ने तथा विधान संशोधनसम्बन्धी निर्देशन दिने निर्णयहरूलाई फिफाले ‘अनुचित तेस्रो पक्षको हस्तक्षेप’ मानेको थियो।

निलम्बन कायम रहुञ्जेल नेपालका राष्ट्रिय फुटबल टोली, क्लब तथा फुटबल पदाधिकारीहरूले फिफा र एएफसीअन्तर्गतका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता, कार्यक्रम वा बैठकमा सहभागी हुन पाउने छैनन्। साथै नेपालले फिफाबाट प्राप्त गर्ने विकास सहायता र प्राविधिक सहयोगसमेत प्रभावित हुने सम्भावना छ। यस घटनाले नेपाली फुटबलको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको छ। विश्वकपको माहोल तातिरहेका बेला नेपाली फुटबल अन्तर्राष्ट्रिय मञ्चबाट बाहिरिनु खेल क्षेत्रकै लागि ठूलो धक्का मानिएको छ।