गर्मी मौसममा फलफूलको सेवन स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि निकै लाभदायक मानिन्छ। फलफूलमा पाइने भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्टले शरीरलाई ऊर्जा दिनुका साथै छालालाई भित्रबाट पोषण प्रदान गर्छन्। धूलो, घाम र पसिनाका कारण गर्मीमा छाला निस्तेज हुने, डढ्ने तथा विभिन्न समस्या देखिने गर्छन्। यस्ता समस्याबाट बच्न फलफूलको सेवन र तिनको प्राकृतिक फेसप्याक उपयोगी हुन सक्छ।
आँप
फलको राजा मानिने आँप भिटामिन ‘ए’ को उत्कृष्ट स्रोत हो। यसले छाला र आँखाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। सनट्यान हटाउन तथा अनुहारको चमक बढाउन दुई चम्चा आँपको गुदीमा एक चम्चा मह, एक चम्चा दही र एक चिम्टी बेसार मिसाएर अनुहारमा लगाउन सकिन्छ। १०–१५ मिनेटपछि धुँदा छाला ताजा र चम्किलो देखिन्छ।
खरबुजा
गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने खरबुजा छालाका लागि पनि उत्तिकै लाभदायक हुन्छ। दुई चम्चा खरबुजाको गुदीमा आधा चम्चा मह र डेढ चम्चा मुल्तानी माटो मिसाएर अनुहारमा हल्का मसाज गर्नुपर्छ। १० मिनेटपछि अनुहार धुँदा छालाको प्राकृतिक चमक बढ्न मद्दत मिल्छ।
केरा
बाह्रै महिना पाइने केरा गर्मीमा झन् लोकप्रिय हुन्छ। केराको गुदीमा थोरै मह मिसाएर अनुहार र घाँटीमा पाँच मिनेट मसाज गरी केही समय सुक्न दिनुपर्छ। त्यसपछि धुँदा ब्ल्याकहेड्स कम हुनुका साथै छाला नरम र चम्किलो देखिन्छ।
अंगुर
अंगुरले पाचन प्रणालीलाई स्वस्थ राख्नुका साथै छालाको सौन्दर्य बढाउन पनि मद्दत गर्छ। अंगुरको गुदीमा मुल्तानी माटो मिसाएर फेसप्याक बनाएर अनुहारमा लगाउन सकिन्छ। १५–२० मिनेटपछि धुँदा छाला सफा र उज्यालो देखिन्छ।
मेवा
मेवामा छालाको स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्व पाइन्छन्। नियमित रूपमा मेवा सेवन गर्दा अनुहारको चाउरीपन कम गर्न सहयोग पुग्छ। एक चम्चा मेवाको गुदी, एक चम्चा मह र एक चम्चा मुल्तानी माटो मिसाएर अनुहारमा लगाउँदा छालामा चमक आउनुका साथै चाउरीपन घट्न मद्दत मिल्छ।
कागती
गर्मीमा कागतीपानी शरीरलाई शीतलता दिनका साथै छालाको सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ। कागतीको रसलाई सिधै वा बेसन, दही, मह तथा मुल्तानी माटोसँग मिसाएर प्रयोग गर्दा छालाको टोन सुधार्न र चमक बढाउन सहयोग पुग्छ।
नरिवल पानी
नरिवल पानीले शरीरलाई हाइड्रेट राख्नुका साथै छालाको सौन्दर्य बढाउन पनि सहयोग गर्छ। यसमा पाइने भिटामिन ‘ई’ छालाका लागि फाइदाजनक मानिन्छ। नरिवल पानीलाई सिधै वा बेसन तथा मुल्तानी माटोसँग मिसाएर अनुहारमा प्रयोग गर्दा छाला ताजा र स्वस्थ देखिन्छ।
गर्मी मौसममा फलफूललाई खानपानमा समावेश गर्नुका साथै प्राकृतिक फेसप्याकका रूपमा प्रयोग गर्न सके छालाले आवश्यक पोषण पाउँछ। यसले सौन्दर्यलाई प्राकृतिक रूपमा निखार्न मद्दत पुर्याउँछ।











प्रतिक्रिया