लमजुङ।
मर्स्याङदी गाउँपालिकाले पालिकाभित्रका फुटबल तथा भलिबल खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन गरेको छ । आर्थिक वर्ष २०८२-०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअन्तर्गत सञ्चालन गरिएको फुटबल तथा भलिबल खेलाडी सम्मान तथा प्रोत्साहन कार्यक्रममार्फत खेलाडीहरुलाई नगद तथा खेल सामग्री प्रदान गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले खेलकुद क्षेत्रको विकास, युवाहरुको क्षमता अभिवृद्धि तथा अनुशासित र स्वस्थ समाज निर्माणमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। खेलाडीहरुको मनोबल उच्च राख्न र खेल क्षेत्रको विकासमा टेवा पु¥याउन गाउँपालिकाले आगामी दिनमा पनि आवश्यक सहयोग तथा प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मर्स्याङदी गाउँपालिकाका स्थायी बासिन्दा भई नियमित रुपमा फुटबल तथा भलिबल खेलमा आबद्ध रहेका खेलाडीहरुलाई सम्मान गरिएको थियो । गाउँपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका तथा मर्स्याङदी कप, वडा स्तरीय अन्डर–१९ फुटबल प्रतियोगिता, भलिबल प्रतियोगितालगायत खेलकुद गतिविधिमार्फत खेल क्षेत्रको विकासमा योगदान पु¥याएका खेलाडीहरुको योगदानको कदर गर्दै सम्मान तथा प्रोत्साहन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्षका स्वकीय सचिव प्रदीप गुरुङका अनुसार पालिकाले २५ जना खेलाडीलाई जनही १० हजार रुपैयाँ नगद तथा १० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरेको छ । खेलाडीहरुको प्रतिभा संरक्षण, मनोबल अभिवृद्धि तथा खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
खेलाडीहरुको सम्मान, प्रतिभाको प्रोत्साहन तथा उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले मर्स्याङदी गाउँपालिकामा खेलकुद विकासप्रति सकारात्मक सन्देश प्रवाह गरेको विश्वास लिइएको छ ।











प्रतिक्रिया