नेपाल च्रमणमा रमाउँदै बलिउड अभिनेत्री शर्लीन चोपडा


भारतीय अभिनेत्री तथा मोडल शर्लिन चोपडा यतिबेला काठमाडौं भ्रमणमा छिन्। नेपाल बसाइका क्रममा उनले प्रसिद्ध पशुपतिनाथ मन्दिर पुगेर भगवान् शिवको दर्शन तथा पूजा गरेकी छन्।

शर्लिनले आफ्नो सामाजिक सञ्जालमा पशुपतिनाथ भ्रमणका तस्वीरहरू साझा गर्दै काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पुगेर शिवको आशीर्वाद प्राप्त गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस भएको उल्लेख गरेकी छन्।

सार्वजनिक तस्वीरहरूमा उनी निधारमा रातो टीका र गलामा रुद्राक्षको माला लगाएको अवस्थामा देखिएकी छन्। उनले पशुपतिनाथ परिसरका विभिन्न स्थानमा पुगेर स्मरणीय तस्वीरहरू पनि खिचाएकी छन्।

हैदराबादमा जन्मिएकी शर्लिन भारतीय मनोरञ्जन उद्योगमा परिचित नाम हुन्। उनले हिन्दी र तेलुगु भाषाका विभिन्न चलचित्रमा अभिनय गरेकी छन्। ‘रेड स्वस्तिक’, ‘गेम’ र ‘दिल बोले हडिप्पा’ जस्ता चलचित्रमार्फत उनले दर्शकमाझ लोकप्रियता हासिल गरेकी थिइन्।

अभिनयसँगै मोडलिङ, टेलिभिजन प्रस्तुति र डिजिटल सामग्री निर्माणमा पनि सक्रिय रहेकी शर्लिन सन् २०१२ मा अमेरिकी पत्रिका प्लेबोयका लागि गरेको फोटोसुटपछि अन्तर्राष्ट्रिय रूपमा समेत चर्चामा आएकी थिइन्।

पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल, रियालिटी शो तथा विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय देखिएकी शर्लिनको पशुपतिनाथ दर्शनसम्बन्धी पोस्टमा उनका प्रशंसकहरूले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।