वीणा पौड्याल : साहित्य र साधनाको अजस्र भङ्गालो

564
Shares

जीवनमा कतिपय भेटहरू समयको बन्धनभित्र बाँधिएर पनि अनन्त प्रतीक्षाको सुन्दर सँघारमा उभिएका हुन्छन् । आदरणीय प्रा.डा. वीणा पौड्याललाई भेट्ने र मेरा अक्षरका कोसेलीहरू उहाँको हातमा टक्य्राउने तृष्णा मेरो मनमा धेरै पहिलेदेखि अङ्कुरित भएको हो । तर, कहिले उहाँको भौतिक निवासको दूरी त कहिले विभिन्न साहित्यिक कार्यक्रमहरूको व्यस्तता !

लाग्थ्यो, समयले हामीबीचको भेटको सुन्दर संयोगलाई क्षितिजपारि धकेलिरहेको छ । कार्यक्रमहरूमा उहाँलाई देख्नु, उहाँको ओजस्वी उपस्थिति र वक्तव्यलाई नियाल्नु तर आफ्ना भावना र कृति अर्पण गर्ने उपयुक्त अवसर नजुरेर त्यो सिलसिला भागिरहँदा पनि एउटा सर्जकका लागि मीठो छटपटीको विषय नै बन्दो रहेछ । तथापि, दूरीले भौतिक शरीरलाई टाढा राखे पनि यसरी वैचारिक र आत्मिक रूपमा म उहाँको बौद्धिक उचाइको सामीप्यमै थिएँ ।

नेपाली कला, साहित्य, इतिहास र संस्कृतिको विशाल क्यानभासमा प्रा.डा. वीणा पौड्याल एउटा यस्तो नाम हो, जसले आफ्नो जीवनको ऊर्जावान् समय यसै माटोको सुवास खोज्न र उत्खनन गर्न समर्पित गर्नुभयो । उहाँ प्राज्ञिक व्यक्तित्व मात्र हुनुहुन्न, बल्कि विचारमा स्पष्टता र बोलीमा निष्कपट सत्यता बोक्ने एक सबल र निर्भीक वक्ता पनि हुनुहुन्छ । उहाँको अनुभवको गहिराइ र त्यसै गहिराइबाट जन्मिएका विशिष्ट अनुसन्धानमूलक कृतिहरूले नेपाली वाङ्मयको श्रीवृद्धिमा युगीन गुन लगाएका छन् । उहाँका विचार, अनुसन्धान र कृतिहरू आज हजारौँ विद्यार्थी, जिज्ञासु पाठक र अनवरत लागिपरेका शोधकर्ताहरूका लागि मार्गदर्शन र प्रेरणाको अजस्र स्रोत बनेका छन् ।

उहाँसँग मेरो सुखद भेट साहित्यिक यात्राको अमूल्य र ऐतिहासिक पल बन्न पुग्यो । अनेकौँ व्यस्तताबीच पनि उहाँले मसँग एकछिन् रोकिने र संवाद गर्ने आत्मिक उदारता देखाउनुभयो । सोही अवसरमा मैले आफ्ना कृति–कोसेलीहरू उहाँको आदरवन्त हातहरूमा हस्तान्तरण गरेँ । उहाँको व्यस्तताको आयतन कति विशाल छ भने, लेखन र अध्ययन–अनुसन्धानको अविरल साधना त उहाँको नित्य कर्म छँदै छ, यसका अतिरिक्त विभिन्न प्राज्ञिक एवं साहित्यिक कार्यक्रमहरूमा प्रमुख वक्ताका रूपमा ओजपूर्ण विचार राख्नु अनि रेडियो र टेलिभिजनका अन्तर्वार्ताहरूमा उपस्थित भई ज्ञानको आलोक छर्नु उहाँको अर्को पुनीत कार्य बन्दै आएको छ । समयको यस्तो कडा अनुशासन र कर्मप्रतिको यो एकाग्रता विरलै मानिसमा पाइन्छ ।

प्रा.डा. वीणा पौड्याल नेपाली साहित्य र संस्कृतिको आकाशमा एउटा चम्किलो नक्षत्र मात्र हुनुहुन्न, बरु हाम्रो समाजकी एक अनुकरणीय उदाहरण र जीवन्त विद्वताको मूर्ति पनि हुनुहुन्छ । उहाँको प्राज्ञिक उचाइ जति अग्लो छ, उहाँको स्वभाव र व्यवहार त्यति नै विनम्र र शालीन छ । उहाँसँगको छोटो तर अर्थपूर्ण भेटमा मैले उहाँको त्यही सरल स्वभाव, आत्मीय बोली र न्यानो व्यवहारको साक्षात अनुभूति गर्ने अवसर पाएँ । उहाँको यो शालीनताले मलाई उहाँको सामीप्यमा झन् हार्दिक रूपले नजिक पु¥यायो । वास्तवमा, एक सच्चा बौद्धिक व्यक्तिको पहिचान नै प्रेरणादायी र सर्वसुलभ हुनु हो, जुन गुण उहाँमा प्रचुर मात्रामा झल्किएको मैले सहजै महसुस गरेँ ।

डा. वीणा पौड्यालको यो साहित्यिक र प्राज्ञिक निष्ठा संयोग मात्र होइन, उहाँको रगतमा बगेको गौरवशाली वंशानुगत विरासतको प्रतिफल पनि हो । उहाँको पारिवारिक पृष्ठभूमि नेपाली वाङ्मयको इतिहाससँग निकै गहिरो गरी जोडिएको छ । उहाँका तीन पुस्ताअघिका बूढा हजुरबुबा चिरञ्जीवि पौड्याल नेपाली साहित्यको प्रारम्भिक चरणका एक ऐतिहासिक र विशिष्ट लेखक हुनुहुन्थ्यो ।

त्यसै गरी, उहाँका हजुरबुबा प्रेमराज पौड्याल र पूजनीय बुबा रामराज पौड्यालले नेपाली साहित्य र पत्रकारिताको इतिहासमा अविस्मरणीय एवं महत्वपूर्ण योगदान दिनुभएको छ ।
यसरी पुर्खाको अद्वितीय बौद्धिक जग, पारिवारिक वातावरण र समृद्ध परम्परालाई अक्षुण्ण राख्दै समयको गतिसँगै अघि बढाउने क्रममा उहाँ पनि साहित्यिक एवं प्राज्ञिक क्षेत्रमा अविचलित रूपमा समर्पित हुनु नितान्त स्वाभाविक र गौरवको विषय हो । उहाँले आफ्ना अग्रजहरूको सुकीर्तिको ध्वजालाई अझ उच्च बनाउनुभएको छ ।

मेरा निम्ति उहाँसँगको भेट दुई सर्जकबीचको प्रेमिल संवाद र एउटा पुस्ताले अर्को पुस्ताको जीवन्त इतिहास र साधनालाई नजिकबाट चिन्ने र आदर गर्ने अपूर्व अवसर थियो । उहाँको पारिवारिक विरासतको गौरव र उहाँको व्यक्तिगत सरलताको सङ्गमले मलाई भित्रैदेखि उद्वेलित बनाएको छ । उहाँजस्तो साधकको सामीप्य पाउनु मेरो साहित्यिक यात्राको एउटा सुखद कोसेढुङ्गा हो । उहाँको यो उदाहरणीय जीवन, अटुट साधना र प्रेरणादायी मार्गदर्शन आगामी पुस्ताका लागि समेत सधैँ एउटा उज्यालो प्रकाशस्तम्भ बनिरहनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।

प्रा.डा. वीणा पौड्यालको बौद्धिक उचाइ र अनुसन्धानको गहिराइलाई उहाँद्वारा सिर्जित वाङ्मयका अमूल्य रत्नहरूले प्रमाणित गर्छन् । उहाँले नेपाली संस्कृति, कला, इतिहास र अध्यात्मका विविध पक्षलाई समेटेर डेढ दर्जनभन्दा बढी प्राज्ञिक कृतिहरू नेपाली समाजलाई उपहारस्वरूप दिनुभएको छ । तीमध्ये कतिपय महत्वपूर्ण कृतिहरू मलाई सूक्ष्म रूपले पढ्ने र उहाँको ज्ञानको गहिराइसँग साक्षात्कार गर्ने सुअवसर मिलेको छ ।
कुनै पनि साधकका लागि पुरस्कार आफैँमा साध्य त होइन, तर उसले पु¥याएको युगीन योगदानका लागि समाज र राज्यले प्रकट गर्ने कृतज्ञता अवश्य हो । डा. पौड्यालको जीवनभरको निष्काम कर्म र साधनाको कदर गर्दै नेपालकै सर्वोच्च प्राज्ञिक सम्मान तथा राष्ट्रिय पुरस्कारहरू प्रशस्त पाउनुभएको छ ।

पुर्खाको अजस्र साहित्यिक विरासतलाई आफ्नो काँधमा बोकेर नेपाली वाङ्मयको क्षितिजलाई विश्वभर फैलाउनुहुने पौड्यालज्यूको जीवन आफैँमा एउटा खुल्ला विश्वविद्यालय हो । उहाँका डेढ दर्जनभन्दा बढी अनमोल कृतिहरू र उहाँलाई प्राप्त राज्यका सर्वोच्च सम्मानहरूले उहाँको व्यक्तित्वलाई अमर बनाएका छन् । उहाँसँगको भेट, संवाद र पुस्तक हस्तान्तरणको क्षण मेरो साहित्यिक यात्राको एउटा अविस्मरणीय पाना बनेर सुरक्षित रहनेछ । गौरवशाली विद्वत् प्रतिभा एवं आदरणीय विदुषीको सत्सङ्ग पाउनु मेरो अहोभाग्य हो । उहाँको मार्ग अनुकरणीय छ र उहाँको यो ज्ञान–यात्राले नेपाली वाङ्मयको आकाशलाई सधैँ आलोकित पारिरहनेछ ।

साधनाको यो उज्यालो मार्गमा उहाँको यात्रा अझै लामो र प्रखर बनिरहोस् । आदरणीय प्रा.डा. वीणा पौड्यालको निरन्तर साहित्यिक–सांस्कृतिक सफलता, सदासर्वदा उत्तम स्वास्थ्य, दीर्घायु र नव–ऊर्जासहितको प्रेरणादायी यात्राको हार्दिक मङ्गलमय कामना गर्छु ! उहाँको ममतामयी छहारी र प्राज्ञिक आलोक हामीमाझ सधैँ सजीव रहिरहोस् ।