विश्वमा यस्ता थोरै मात्र चीजहरू छन्, जसले रंग, जाति, धर्म, राष्ट्रियता र भाषाको पर्खाललाई भत्काएर सिङ्गो ब्रह्माण्डलाई एउटै सूत्रमा बाँध्न सक्छन् । तिनै विरलै माध्यमहरूमध्ये सबैभन्दा शक्तिशाली र सर्वव्यापी माध्यम फुटबल हो । वस्तुतः फुटबल केवल छालाको एउटा गोलो पङ्खा र २२ जना खेलाडीहरूबीचको प्रतिस्पर्धा मात्र नभएर यो त मानव सभ्यताको एउटा यस्तो संसारको महाकुम्भ पनि हो, जहाँ हरेक चार वर्षमा विश्वका सम्पूर्ण भावना, संस्कृति र सपनाहरू एउटै मैदानमा समाहित हुन्छन् । तसर्थ विश्वकप फुटबललाई खेलकुदको सर्वोच्च शिखर मात्र नभएर यसलाई फुटबल युगको महाकुम्भ पनि भनिन्छ ।
जसरी परम्परागत महाकुम्भहरूमा मानिसहरू आत्मिक शुद्धि र मिलनका लागि भेला हुन्छन्, त्यसरी नै फुटबलको यो महाकुम्भमा विश्वभरका अर्बौं मानिस भाइचारा, सहअस्तित्व र मानवीय श्रेष्ठताको उत्सव मनाउन एकत्रित हुन्छन् ।
फुटबलको उदय र विश्वकपको जन्म ः फुटबलको आधुनिक स्वरूप १९औँ शताब्दीमा बेलायतमा विकसित भएको हो । त्यसअघि विभिन्न सभ्यताहरूमा बल खेल्ने परम्परा भए पनि आधुनिक नियमसहितको फुटबल बेलायतबाट विश्वभर फैलियो । सन् १८६३ मा इङ्ल्यान्डमा फुटबल एसोसिएसन स्थापना भएपछि खेललाई व्यवस्थित नियम प्राप्त भयो । यसरी फुटबलको अन्तर्राष्ट्रिय विस्तारसँगै सन् १९०४ मा अन्तर्राष्ट्रिय फुटबल महासंघ स्थापना भयो । यसको उद्देश्य विश्वभर फुटबलको विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्नु थियो । पहिलो फिफा विश्वकप सन् १९३० मा उरुग्वेमा आयोजना भयो । त्यस प्रतियोगितामा १३ राष्ट्रहरुले भाग लिएका थिए । यसर्थ आयोजक उरुग्वेले पहिलो विश्वकप उपाधि जितेर इतिहास बनायो । त्यसपछि विश्वकप फुटबल विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता बन्दै गयो ।
विश्वकप– खेलको उत्सव ः
विश्वकपमा सहभागी हुने प्रत्येक राष्ट्रका लागि यो केवल खेल मात्र नभएर राष्ट्रिय गौरवको विषय हुन्छ । साना तथा ठूला सबै देशहरू विश्वकपमा आफ्नो पहिचान देखाउन चाहन्छन् । यसमा खासगरी ब्राजिल, अर्जेन्टिना, जर्मनी, इटाली, फ्रान्स, स्पेन, इंग्ल्यान्डजस्ता देशहरूले विश्व फुटबलमा लामो इतिहास बनाएका छन् । तर विश्वकपले कहिलेकाहीँ साना राष्ट्रलाई पनि विश्वमञ्चमा चिनाउने अवसर दिएको छ ।
ऐतिहासिक पृष्ठभूमि ः
फुटबलको इतिहास मानव सभ्यता जत्तिकै पुरानो र रोचक छ । इतिहासकारहरूका अनुसार प्राचीन चीनमा कुजु नामको खेल खेलिन्थ्यो, जसलाई फुटबलको सबैभन्दा प्रारम्भिक रूप मानिन्छ । त्यस्तै, प्राचीन ग्रीस, रोम र इजिप्टमा पनि गोलो वस्तुलाई खुट्टाले हानेर खेल्ने गरिएका प्रमाणहरू भेटिएका छन् । तर आधुनिक फुटबलको जग भने सन् १८६३ मा इंग्ल्यान्डमा फुटबल एसोसिएसनको स्थापनासँगै खेलको शुरुवाती ब¥यो । यसमा पनि खासगरी नियमहरू बाँधिएपछि यो खेल बेलायती उपनिवेशहरूसँगै विश्वभर फैलियो ।
फिफाको स्थापना र विश्वकपको उदय ः संसारमा खेलको बढ्दो लोकप्रियतालाई एउटा अन्तर्राष्ट्रिय स्वरूप दिन सन् १९०४ मा पेरिसमा खेलको स्थापना भयो । फलतः फिफाको स्थापनापछि एउटा यस्तो प्रतियोगिताको परिकल्पना गरियो, जसले संसारकै सर्वोत्कृष्ट टोली निर्धारण ग¥यो । इतिहासको सुनौलो पानामा लेख्नको लागि सन् १९३० मा उरुग्वेमा पहिलोपटक फिफा विश्वकपको आयोजना भयो । केवल १३ राष्ट्रहरूको सहभागिताबाट शुरु भएको त्यो सानो प्रतियोगिता आज २ सयभन्दा बढी देशहरूले प्रतिस्पर्धा गर्ने र अर्बौं दर्शकले हेर्ने आधुनिक युगको सबैभन्दा ठूलो सांस्कृतिक र खेलकुद महाकुम्भ बनेको छ । फुटबलको महाकुम्भ (विश्वकप) हरेक चार वर्षमा आयोजना हुन्छ । तर यसको तयारी र छनोट प्रक्रिया भने वर्षौंसम्म निरन्तर चलिरहन्छ । यो महाकुम्भ केवल एक महिनाको प्रतियोगिता मात्र नभएर यो त चार वर्ष लामो कडा तपस्या र प्रतीक्षाको सुखद परिणाम पनि हो ।
छनोट चरणको महासंग्राम ः विश्वकपको मुख्य प्रतियोगितामा पुग्नका लागि फिफाका ६ वटा महादेशीय महासंघहरूमा अफ्रिका, एसिया, युरोप, उत्तर अमेरिका, ओसिनिया र दक्षिण अमेरिकाअन्तर्गत रहेका राष्ट्रहरूबीच भीषण प्रतिस्पर्धा हुन्छ । वस्तुतः स–साना टापु राष्ट्रदेखि लिएर विश्वका महाशक्ति मुलुकहरू सबैले मैदानमा समान अवसर पाउँछन् । यो छनोट प्रक्रिया आफैँमा एउटा ठूलो उत्सव हो । जसले गर्दा विश्वका कुना–कुनामा फुटबलको ऊर्जा सञ्चार गर्छ ।
रङ्गभेद र विभेदविरुद्धको हतियार ः फुटबलले सधैँ समानताको वकालत गरेको छ । यो मैदानभित्र छिरेपछि खेलाडीको पहिचान उसको छालाको रङ्ग वा आर्थिक हैसियत हुँदैन । केवल उसको कौशल र खेल भावना हुन्छ । भन्ने नै हो भने, पेले, म्याराडोना, जिनेदिन जिदान, क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सीजस्ता महान् खेलाडीहरू सामान्य वा विपन्न पृष्ठभूमिबाट उठेर विश्वकै नायक बनेका हुन् । फुटबलले ब्ल्याक लाइभ्स म्याटरजस्ता सामाजिक आन्दोलनलाई विश्वव्यापी मञ्च प्रदान गरेको छ ।
राष्ट्रिय गौरव र एकताको प्रतीक ः विश्वकपको समयमा कुनै पनि देशका नागरिक आफ्नो राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन्छन् । यसर्थ राजनीतिक मतभिन्नता, आन्तरिक द्वन्द्व र आर्थिक संकटलाई बिर्सेर मानिसहरू आफ्नो टोलीलाई समर्थन गर्न सँगै आउँछन् । सन् २००६ को विश्वकप छनोटका क्रममा गृहयुद्धले जर्जर बनेको आइभोरी कोस्टका स्टार खेलाडी डिडिएर ड्रोग्बा र उनका साथीहरूले राष्ट्रिय टेलिभिजनमा घुँडा टेकेर युद्धविरामको अपिल गरेका थिए । परिणामस्वरूप वर्षौंदेखि चलिरहेको गृहयुद्ध रोकिएको थियो । यो फुटबलको शक्तिको एउटा जीवन्त उदाहरण पनि हो ।
खर्बौंको बजार र विकासको इन्जिन ः आधुनिक युगमा फुटबल खेल मात्र रहेन, यो एउटा विशाल उद्योगमा परिणत भएको छ । फुटबल महाकुम्भले विश्वको अर्थतन्त्रमा अर्बौं डलरको योगदान पु¥याउँछ । विश्वकप आयोजना गर्ने अवसर पाउनु कुनै पनि देशका लागि आर्थिक र पूर्वाधार विकासको स्वर्णिम मौका हो । अत्याधुनिक रंगशालाहरू, यातायात नेटवर्क (मेट्रो, विमानस्थल), होटल र सञ्चार प्रविधिको विकास तीव्र गतिमा हुन्छ । यसले लाखौँ रोजगारीका अवसर सिर्जना गर्छ र पर्यटन उद्योगलाई नयाँ उचाइ दिन्छ । यसले गर्दा कर्पोरेट बजार र मिडिया अधिकार पनि यसले दिन्छ । विश्वका ठूला–ठूला बहुराष्ट्रिय कम्पनीहरू फुटबल महाकुम्भको प्रायोजक बन्न लुछाचुँडी गर्छन् । यसमा टेलिभिजन र डिजिटल प्रसारण अधिकारको बिक्रीबाट फिफाले खर्बौं रुपियाँ आर्जन गर्छ । यसको ठूलो हिस्सा विश्वभर फुटबलको विकास, आधारभूत पूर्वाधार निर्माण र महिला फुटबलको प्रवद्र्धनमा खर्च गरिन्छ ।
फुटबलका महानायकहरू र मिथकहरू ः जसरी धार्मिक महाकुम्भहरूमा देवी–देवता र सन्तहरूको चर्चा हुन्छ, त्यसरी नै फुटबलको महाकुम्भमा केही यस्ता महानायकहरूको उदय भएको छ, जसलाई विश्वले फुटबलका भगवानका रूपमा पुज्ने गर्छ । तिनका कथाहरू पुस्तौँपुस्तासम्म प्रेरणाको स्रोत बनिरहनेछन् । हुन त जहाँ उज्यालो हुन्छ, त्यहाँ छाया पनि अवश्य हुन्छ भनिन्छ । फुटबलको यो भव्य महाकुम्भ पनि केही विवाद र चुनौतीहरूबाट अछुतो रहेको भने छैन ।
भ्रष्टाचार र अनियमितता ः फिफाभित्र हुने वित्तीय अनियमितता, विश्वकप आयोजनाको अधिकार पाउनका लागि गरिने मत खरिद–बिक्री (भ्रष्टाचार) ले समय–समयमा खेलको साखमा धक्का पु¥याएको छ । सन् २०१५ मा फिफाका उच्च अधिकारीहरू पक्राउ परेपछि यसको प्रशासनिक सुधारमा केही प्रयासहरू भएका छन् ।
मानवअधिकार र आप्रवासी श्रमिकको सवाल ः कतार विश्वकप २०२२ का क्रममा रङ्गशाला निर्माण गर्दा आप्रवासी श्रमिकहरू (यहाँ ठूलो संख्यामा नेपालीहरू पनि थिए) को श्रमशोषण र असुरक्षित कार्यवातावरणका कारण ज्यान गएको विषयले विश्वव्यापीरूपमा गम्भीर प्रश्न खडा ग¥यो । यसले के देखाउँछ भने, फुटबलको चमकदमकपछाडि श्रमिकहरूको रगत र पसिनाको ठूलो मूल्य लुकेको हुन्छ । यसप्रति फिफा र आयोजक राष्ट्रहरू सधैँ जवाफदेही हुनुपर्छ ।
हुलिगनिज्म र डम्पिङ ः खेलका नाममा हुने हिंसा, रङ्गभेदी दुव्र्यवहार र खेल मिलेमतोजस्ता कुराहरू फुटबलका कलंक हुन् । यसका विरुद्ध फिफाले ‘से नो टु राज्याम’ जस्ता कडा अभियानहरू चलाउँदै आएको छ ।
नेपाल र फुटबल महाकुम्भ ः दक्षिण एसियाली मुलुक नेपाल फिफा वरियतामा निकै पछाडि भए पनि र आजसम्म विश्वकपको नजिक पुग्न नसके पनि, फुटबल महाकुम्भको समयमा नेपालमा जुन रौनक देखिन्छ, त्यो कुनै विश्वकप खेल्ने राष्ट्रको भन्दा कम हुँदैन । नेपाली फ्यानहरूको उत्साहलाई हेर्ने हो भने हिमालदेखि तराईसम्मका गाउँ–घर, चोक र गल्लीहरू पनि ब्राजिल, अर्जेन्टिना, जर्मनी, फ्रान्सका झन्डाहरूले रंगिन्छन् । युवाहरू आफ्नो मन पर्ने खेलाडीको जर्सी लगाएर मध्यरातसम्म जागा बस्छन् । यसर्थ चिया पसलदेखि सामाजिक सञ्जालसम्म फुटबलकै बहस चल्छ । देशका लागि यो महाकुम्भ एउटा यस्तो झ्याल हो, जहाँबाट नेपालीहरू विश्वस्तरीय खेलकुदको आनन्द लिन्छन् र भविष्यमा कुनै दिन नेपालको राष्ट्रिय टोलीले पनि यो मञ्चमा पाइला टेक्नेछ भन्ने एउटा सुन्दर, सुदूर सपना देख्छन् । नेपालमा एन्फाले भुइँ तहदेखि नै फुटबलको विकास गर्न सकेमा र खेलाडीहरूलाई व्यावसायिक वातावरण दिन सकेमा यो सपना असम्भव भने छैन ।
फुटबल विश्वकप केवल एउटा खेल प्रतियोगिता मात्र नभएर यो विश्व मानवताको साझा उत्सव पनि हो । यसले प्रतिस्पर्धा, मित्रता, भावना, संस्कृति र राष्ट्रिय गौरवलाई एउटै मञ्चमा ल्याउँछ । फुटबल युगको यो महाकुम्भले संसारलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ । तर यसमा भिन्नता भए पनि मानिसहरू साझा सपनाका लागि एक हुन सक्छन् । यसलाई भन्ने नै हो भने मैदानमा २२ खेलाडी प्रतिस्पर्धा गर्छन् तर करोडौँ मानिस एउटै भावनाले जोडिन्छन् । त्यसैले विश्वकप फुटबल खेल मात्र नभएर यो विश्व एकताको प्रतीक, युवाको प्रेरणा र मानव सभ्यताको एउटा महान् सांस्कृतिक उत्सव हो ।
समग्रमा भन्नुपर्दा फुटबल केवल एक खेल मात्र नभएर यो जीवनको ऐना हो । फुटबल युगको महाकुम्भ सन् २०२६ विश्वकप फुटबल युगको सबैभन्दा ठूलो र ऐतिहासिक महाकुम्भ बनेको छ । यसपटक पहिलोपटक ४८ राष्ट्रहरूले सहभागिता जनाउँदै प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो स्वरूपमा विस्तार भएको हो । यसमा ४८ टोली, १०४ खेल र ३९ दिन लामो प्रतिस्पर्धासहितको यो संस्करणलाई विश्वकपको नयाँ युगको शुरुवातका रूपमा हेरिएको छ ।
यसले हामीलाई सिकाउँछ कि कसरी ढलेपछि पुनः उठ्नुपर्छ ? कसरी अन्तिम सेकेन्डसम्म आशा नमारेर लड्नुपर्छ र कसरी टिमवर्कले ठूला–ठूला अवरोधहरूलाई पन्छाउन सकिन्छ ? मैदानको ९० मिनेटले मानिसलाई धैर्य, अनुशासन र भ्रातृत्वको पाठ सिकाउँछ । मूलतः फुटबल युगको यो महाकुम्भ प्रत्येक चार वर्षमा आउँछ र संसारलाई एउटा सुन्दर सन्देश दिएर जान्छ । जबकि हामी फरक भूगोलमा बस्न सक्छौँ, हाम्रा भाषाहरू फरक हुन सक्छन् तर हाम्रो मुटुको धड्कन एउटै खेलका लागि चल्छ । अतः प्रविधिको विकास र व्यावसायिकताको व्यावसायिक दबाबका बीच पनि फुटबलको यो आत्मिक र मानवीय रूप कहिल्यै धमिलो हुनेछैन । यो महाकुम्भ मानव सभ्यता रहुन्जेलसम्म यसरी नै अनवरतरूपमा चलिरहनेछ, अर्बौं मुटुहरूलाई जोडिरहनेछ र नयाँ–नयाँ इतिहास लेखिरहनेछ । यो खेलकुदको उत्सव वास्तवमै मानव जातिकै सबैभन्दा सुन्दर र गौरवशाली साझा विरासत हो ।











प्रतिक्रिया