जोरपाटीमा प्राइम टायल्सको नयाँ लक्जरी शोरुम सञ्चालनमा


काठमाडौँ ।

प्राइम टायल्सले काठमाडौँको जोरपाटीस्थित नेपालटारमा नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ। स्वागत ट्रेडिङ ग्रुपमा स्थापना गरिएको शोरुमको आइतबार औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झा, क्षेत्रीय बिक्री प्रमुख किरण राज पन्तलगायतको उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार तीव्र रूपमा बढिरहेको शहरीकरण तथा आवासीय र व्यावसायिक भवन निर्माणको मागलाई ध्यानमा राख्दै ग्राहकलाई गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो।

रौतहटको चन्द्रनिगाहपुरमा रहेको प्राइम टायल्सको उत्पादन उद्योगले वार्षिक ४० लाख वर्गमिटरभन्दा बढी टायल्स उत्पादन गर्दै आएको जनाएको छ। कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका टायल्स उत्पादन गर्दै आएको र हालै नेपाल सरकारबाट प्रदान गरिने नेपाल गुणस्तर प्रमाण चिन्ह (एनएस) ६१७ प्राप्त गरेको जनाएको छ।

नयाँ शोरुममा विभिन्न आकार, डिजाइन, टेक्स्चर र फिनिसिङका टायल्स उपलब्ध रहेका छन्। आवासीय, व्यावसायिक, होटल तथा अन्य निर्माण परियोजनाका लागि आवश्यक फ्लोर, वाल, टेरेस तथा डेकोरेटिभ टायल्सका विकल्प ग्राहकले एउटै स्थानमा पाउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार शोरुमलाई बिक्री केन्द्रका साथै इन्जिनियर, आर्किटेक्ट तथा निर्माण व्यवसायीहरूलाई उत्पादनसम्बन्धी जानकारी, डिजाइन सुझाव र प्राविधिक परामर्श उपलब्ध गराउने केन्द्रका रूपमा समेत विकास गरिएको छ।

प्राइम टायल्सले स्वदेशमै उत्पादन भएका गुणस्तरीय टायल्समार्फत नेपाली निर्माण क्षेत्रको आवश्यकता पूरा गर्दै आएको बताउँदै आगामी दिनमा देशभर आफ्नो बिक्री सञ्जाल विस्तार गर्ने योजना रहेको जनाएको छ।