गाजर किन सुन्तला रंगको हुन्छ ?


गाजर  एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र मिठाइमा पनि प्रयोग गरिन्छ. यसको रंग सामान्यतया सुन्तला भए पनि सेतो, पहेंलो, बैजनी र रातो रंगका गाजर पनि पाइन्छन्।

गाजरको मूल इतिहास हेर्दा, यो सुरुमा अहिलेको जस्तो सुन्तला रंगको थिएन। यो वनस्पति मध्य एशिया (आजको अफगानिस्तान वरिपरि) बाट उत्पत्ति भएको मानिन्छ र सुरुमा यसलाई यसको पात र बिउका लागि मात्र खेती गरिन्थ्यो।

त्यसबेलाका प्रारम्भिक गाजरहरू सेतो रंगका पनि हुन्थे। तर १०औँ शताब्दीमा खेतीयोग्य बनाइँदा धेरैजसो गाजरहरू गाढा बैजनी रंगका भए।

पछि १६औँ शताब्दीमा नेदरल्यान्ड्सका कृषकहरूले विभिन्न जातका गाजरहरूलाई क्रस-ब्रिडिङ गरेर नयाँ प्रकार विकास गरे। उनीहरूले गाजरलाई कम तीतो  र जाडोमा लामो समयसम्म भण्डारण गर्न मिल्ने बनाउने प्रयास गरे। त्यसै क्रममा आज हामीले खाने सुन्तला रंगको गाजर विकास भयो।

गाजरको सुन्तला रंग बट काराटेन  नामक प्राकृतिक रसायनका कारण हुन्छ। यही  नै शरीरमा भिटामिन ए मा परिवर्तन हुन्छ, जुन आँखा र स्वास्थ्यका लागि राम्रो मानिन्छ।

एक रोचक कुरा के पनि छ भने, नेदरल्यान्ड्सको राजपरिवारको प्रतीकात्मक रंग पनि सुन्तला भएकाले यो रंग लोकप्रिय हुन अझ सहयोग पुगेको हुन सक्छ।