महिला क्रिकेट उपाधि काठमाडौंलाई


हेटौंडा, (नेस) ।

बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् महिला क्रिकेटको उपाधि काठमाडौंले जितेको छ । शुक्रबार चितवनको गौतमबुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा घरेलु टोली चितवनलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले उपाधि उचालेको हो । यसअघि पुरुष क्रिकेट र एथ्लेटिक्समा चितवन प्रथम भएको थियो भने तेक्वान्दोमा ललितपुर प्रथम भएको छ ।

उपाधि विजेता काठमाडौंले ७० हजार र चितवनले ५६ हजार नगद प्राप्त गरे । चितवनकी कप्तान गुरुङ प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् । उनले ट्रफीसहित २० हजार नगद पुरस्कार प्राप्त गरिन् ।

एथ्लेटिक्सतर्फ चितवनले प्रथम स्थान हासिल गरेको छ । चितवनले १५ स्वर्ण, १३ रजत र ३ कास्य पदक जितेको हो । काठमाडौं ८ स्वर्ण, १ रजत र १ कास्य पदकसहित दोस्रो र भक्तपुर ५ स्वर्ण, ५ रजत र ३ कास्य पदकसहित तेस्रो भयो ।

तेक्वान्दोमा ललितपुर ७ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित प्रथम भएको छ । काठमाडौं ४ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित दोस्रो भयो भने काभ्रेपलाञ्चोक ३ स्वर्ण, १ रजत र २ कास्य पदकसहित तेस्रो स्थानमा रह्यो ।