मदन भण्डारी कप यु–१९ भलिबल आजदेखि


काठमाडौं, (नेस) ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ ।

शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेका मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसीले जानकारी गराए । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । अफिसिय बल पार्टनरमा मोल्टन रहेका छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २७ लाख रुपैयाँ खर्च हुनेछ । मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा हुने लागेको ४ दिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी खेलाइने छ ।