शिक्षणको सकस र रूपान्तरणको बाटो

846
Shares

आधुनिक विद्यालयीय शिक्षा, परम्परागत रैथाने ज्ञान र तीव्र गतिको आधुनिक प्रविधिबीचको जटिल संक्रमणकालीन मोडमा उभिएको छ अहिलेको शिक्षण कार्य । एकातिर हाम्रा पौराणिक शास्त्र, शाश्वत नैतिक मूल्य, तपोभूमिजन्य रैथाने ज्ञान र पूर्वीय चिन्तनका उदात्त दर्शनहरू छन् भने अर्कातिर प्रविधिको तीव्र गतिमा दौडिरहेको, स्क्रिनमा संसार नियाल्ने जेनजी पुस्ताको विलासी रुचि छ । यसो हुँदा, शिक्षकले बुझाउन खोज्ने जीवनको गहन दर्शन र विद्यार्थीले खोज्ने तत्कालको भौतिक–आर्थिक उपयोगिताबीचको खाडल दिनप्रतिदिन गहिरिँदै गएको महसुस हुन्छ । आजको शिक्षण प्रक्रिया केवल सूचनाको प्रवाह वा पाठ्यक्रमको यान्त्रिक हस्तान्तरण मात्र नभएर दुई विपरीत धारका रुचि, भिन्न संस्कार र द्रुततर गतिमा बदलिँदो आवश्यकताहरूबीचको अत्यन्तै कठिन व्यवस्थापन बन्न पुगेको छ । परम्परा र आधुनिकताको यो तीव्र द्वन्द्वले वर्तमान शिक्षा प्रणालीलाई अन्योलको चौबाटोमा उभ्याइदिएको छ ।

यही अन्योलपूर्ण परिवेशमा विद्यार्थीहरूमा संस्थागत रूपमै बढ्दै गएको ‘परीक्षाकेन्द्रित संकुचित मानसिकता’ ले ज्ञानको वास्तविक गहिराइ र सिकाइको अन्तर्निहित सौन्दर्यलाई सतही, व्यापारिक र उपभोक्तावादी बनाइदिएको छ । आज शैक्षिक जगत्मा ज्ञान आर्जनभन्दा पनि अङ्क, जीपीए र ग्रेडसिटको चिन्ताले मुख्य डेरा जमाएको छ, जसले मानवीय चेतनालाई नै बन्धक बनाएको भान हुन्छ । शिक्षकले कुनै जीवनी अध्यापनको सिलसिलामा पाठ्यपुस्तकमै उल्लिखित ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ जस्ता निष्काम कर्मका दार्शनिक श्लोक सेतो पाटीमा लेख्दै गर्दा, विद्यार्थीहरू आधुनिक बजारमा त्यसको ‘एक्सचेन्ज भ्यालु’ अर्थात् बजार मूल्य खोजिरहेका हुन्छन् । यसको अर्थ, ज्ञानलाई केवल मार्कसिटमा प्रतिविम्बित हुने मृत अङ्कको रूपमा न्यूनीकरण गरिँदै छ र सिकाइलाई आर्थिक उन्नतिको भ¥याङ मात्र ठानिँदै छ । यही प्रवृत्तिका कारण हाम्रा शिक्षालयहरू प्राविधिक रूपमा कुशल मेसिन त उत्पादन गर्दै छन् तर संवेदनाले भरिएका, विवेकशील र पूर्ण मानव निर्माणको मूल मार्गबाट चाहिँ विमुख भइरहेका छन् ।

विद्यार्थीहरू मानव निर्माणको मूल मार्गबाट विमुख हुनुको मुख्य कारण डिजिटल लत र प्रविधिको अनियन्त्रित उपलब्धता हो, जसले नयाँ पुस्तामा संज्ञानात्मकरूपमा एकाग्र हुने क्षमताको ठूलो खडेरी पैदा गरिदिएको छ । टिकटकका १५ सेकेन्डका छोटा भिडियो र सामाजिक सञ्जालका रङ्गीन ‘रिल्स’मा आजको पुस्ता पूर्णतः सम्मोहित भएकाले उनीहरूमा धैर्य गर्ने र गम्भीर विमर्श गर्ने क्षमता ह्रास हुँदै गएको छ । उनीहरूको मस्तिष्कले सधैँ ‘डोपामाइन’ को गन्ध पछ्याउँदै द्रुत नतिजा र तत्कालको सस्तो मनोरञ्जन मात्र खोज्ने हुँदा शास्त्रीय वा दार्शनिक विषयहरू निरस लाग्नु स्वाभाविकै हो । कक्षाकोठाको शान्त, गम्भीर र चिन्तनशील वातावरण उनीहरूका लागि कष्टकर ‘कैद’ जस्तो बन्न थालेको छ । यो, प्रविधिको अति प्रयोगका कारण उत्पन्न अवस्था हो, जसले विद्यार्थीको रचनात्मक सोच, मौलिकता र कल्पनाशीलतालाई क्षतविक्षत पार्दै उनीहरूलाई वैचारिक संघर्षबाट प्राप्त हुने मानसिक आनन्दबाट वञ्चित गराएको छ ।

प्रविधिको लतसँगै ज्ञानको बलियो आधारशिला निर्माण गर्ने किशोर अवस्थाको तीव्र शारीरिक, मानसिक र संवेगात्मक परिवर्तनले कक्षाकोठाको संकटलाई थप चुनौतीपूर्ण बनाएको छ । यो उमेर समूहमा हुने हर्मोनल उतारचढावले उनीहरूलाई स्वभावैले बढी जिज्ञासु, चरम विद्रोही र मानसिकरूपमा अस्थिर बनाउने गर्दछ । उनीहरूमध्ये धेरैजसोलाई जीवन र जगत्का गहकिला दर्शनभन्दा समकालीन पप वा ¥याप गीतका चर्को धुन, खेलकुदका गतिविधि, फिल्मी दुनियाँ र भर्चुअल सङ्गत बढी आकर्षक लाग्छ । यो उमेरजन्य रूचिको कुरा पनि हो । यस्तो बेला विद्यालयको चार पर्खालभित्रको कठोर अनुशासन उनीहरूलाई आफ्नो नैसर्गिक स्वतन्त्रतामाथिको बन्देज लाग्ने हुनाले कक्षाकोठा व्यवस्थापन झन् जटिल बन्दै गएको छ ।

तसर्थ, यो बदलिँदो बालमनोविज्ञानलाई सम्बोधन गर्न आजकल शिक्षकले एउटा हातमा अनुशासनको अदृश्य सूत्र र अर्को हातमा आत्मीय प्रेम, करुणा र सहानुभूतिपूर्ण स्पर्श लिएर मात्र कक्षाकोठामा प्रवेश गर्नुपर्ने बाध्यात्मक एवं चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ ।
बालमनोविज्ञानको यो जटिलता र कक्षाकोठाभित्रको कठोर अनुशासनकै कारण विद्यार्थीहरूमा विद्यालयप्रति एक किसिमको भयानक मानसिक थकान र दिक्कलाग्दो अवस्था सिर्जना भइरहेको छ । दिनहुँ एउटै खाले कोठे वातावरण, पाठ्यपुस्तकको निरस भारी र कण्ठस्थ गर्ने परम्परागत शैलीले उनीहरूको बालसुलभ ऊर्जा र नवीन क्षितिजलाई कुण्ठित बनाइदिएको छ ।

विद्यालय जानु उनीहरूका लागि खुशी र उत्साहको विषय नभएर एउटा बाध्यात्मक दैनिक कार्यतालिका मात्र बनेको देखिन्छ । विद्यार्थीहरूलाई विद्यालयमा अनुभव हुने यो दिक्क लाग्दो अवस्थाबाट मुक्त गर्नका लागि पनि अब शिक्षण सिकाइ प्रक्रिया र विद्यालयको साप्ताहिक कार्यतालिकामा पुनरावलोकन गर्न ढिला भइसकेको छ ।

यही दिक्क लाग्दो वातावरणको उचित विकल्पका रूपमा विद्यार्थीहरूलाई मानसिक पुनर्ताजगी प्रदान गर्न हप्तामा दुई दिन बिदा दिने कानुनी र व्यावहारिक व्यवस्था गर्नु आजको प्राथमिक आवश्यकता देखिएको छ । हप्ताको पाँच दिन विद्यालयको ‘कोठे शैक्षिक वातावरण’मा बिताएका बालबालिकालाई बाँकी दुई दिन पूर्णरूपमा पारिवारिक सामीप्य, आत्मचिन्तन र व्यक्तिगत रुचिका क्षेत्रमा समय खर्चिन दिनुपर्छ । यो दुईदिने बिदाले उनीहरूलाई अर्को हप्ताको सिकाइका लागि नयाँ ऊर्जा, उत्साह र मानसिक सन्तुलन प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । दुई दिन बिदा हुँदा, विद्यार्थीले कम सिक्न पाउने, कोर्स नसकिने भन्ने हुँदैन । यहाँ त सिकाइ र कोर्स बढ्ता भएको अवस्था छ । त्यसैले, हाल पेट्रोलियम पदार्थ आपूर्तिमा असहजतामा उत्पन्न भएको कारणलाई, ‘विद्यार्थीको मानसिक स्वास्थ्यलाई ताजा बनाउन’ भनेर परिभाषित गर्दै हप्तामा दुई दिन बिदा दिने नीतिगत व्यवस्था लागू गरिनु आवश्यक छ । यस्तो बिदा, विद्यार्थीहरूमा श्रमप्रतिको महत्व बुझाउने खालका व्यावहारिक काममा सक्रिय बनाउन उपयोग गरिनुपर्छ ।

श्रम र व्यवहारसँग नजोडिँदा जीवन निरस हुन्छ । केवल कुनै एउटा प्राज्ञिक विषय वा प्राविधिक विधाको ज्ञानमा मात्र संकुचित हुँदा जीवन अपूर्ण पनि हुन्छ । वास्तवमा जीवन त अनेकौँ मानवीय कलाहरूको सुन्दर सङ्गम हो । केवल गणितका अमूर्त सूत्र वा विज्ञानका कण्ठस्थ पारिएका परिभाषाले मात्र दैनिक जीवनका थुप्रै उतारचढाव र संकटहरू समाधान हुन सक्दैनन् । वास्तविक जीवनको रङ्गमञ्चमा त मीठो बोलीवचन, अर्काको विचार सुन्ने अद्वितीय धैर्य, अरूको दुःख बुझ्ने मानवीय संवेदना र प्रतिकूल परिस्थितिसँग जुध्ने अदम्य सङ्कल्पको खाँचो पर्छ । तर, हाम्रो वर्तमान पाठ्यक्रम, परीक्षा प्रणाली र व्यावहारिक जीवनबीच तादात्म्य मिल्न नसक्दा विद्यार्थीहरू सधैँ अन्योल र अलमलमा परेका देखिन्छन् । जब सिकाइले जीवनका व्यावहारिक र आर्थिक समस्याहरू समाधान गर्न प्रत्यक्ष सहयोग पु¥याउँदैन, तब समग्र पाठ्यक्रममाथि नै शैक्षिक वितृष्णा, नैराश्य र उदासीनता पैदा हुनु स्वाभाविकै हो ।

व्यावहारिक जीवन र शिक्षाबीचको यही असामञ्जस्यताका कारण अहिलेको शिक्षण प्रक्रिया शिक्षक र विद्यार्थी दुवैका लागि एउटा बोझिलो र यान्त्रिक कर्मजस्तो देखिनु आधुनिक शिक्षा क्षेत्रको सबैभन्दा निराशाजनक पक्ष हो । शिक्षकमाथि निर्धारित पाठ्यक्रम समयमै सिध्याउनुपर्ने, प्राविधिक अभिलेखहरू दुरुस्त राख्नुपर्ने र परीक्षामा शतप्रतिशत नतिजा देखाउनुपर्ने प्रशासनिक तथा संस्थागत दबाबको भारी छ । अर्कोतिर, विद्यार्थीमाथि जसरी पनि उच्च अङ्क वा ‘ए प्लस’ ग्रेड ल्याएर उत्तीर्ण हुनुपर्ने पारिवारिक प्रतिष्ठा र सामाजिक बाध्यताको पहाड छ । यो दोहोरो मानसिक दबाबले गर्दा कक्षाकोठाको स्वाभाविक रचनात्मकता, नवीनता र प्रश्न गर्ने लोकतान्त्रिक स्वतन्त्रता पूरै हराएर गएको छ । परिणामतः सिकाउने र सिक्ने दुवै पक्ष उत्प्रेरणाविहीन बन्दै कक्षाकोठा केवल रोबोट उत्पादन गर्ने यान्त्रिक केन्द्रमा परिणत भएजस्तो लाग्छ । यस्तो सोचाइले मानिसको प्राज्ञिक र व्यक्तिगत विकासलाई सदाका लागि ठप्प पारिदिने हुँदा यसमा आमूल परिवर्तन आवश्यक छ । हामीले दिने शिक्षाले विद्यार्थीलाई माटो, संस्कृति र जीवनका वास्तविक पाटाहरूसँग जोड्न सकेको देखिँदैन, बरु उल्टै रैथाने परिवेशबाट विमुख गराउँदै छ । तसर्थ, विद्यार्थीले केवल ‘यो परीक्षामा आउँछ कि आउँदैन’ भनेर सोच्नुको सट्टा ‘यस ज्ञानले मेरो चेतना र व्यक्तित्वलाई कसरी उजिल्याउँछ’ भनेर सोच्नु नै वास्तविक शिक्षाको सुन्दर शुरुवात हो ।

निष्कर्षमा, वर्तमान शिक्षाको संकट समाधान गर्न आजको शिक्षक केवल सूचनाको पोको बोकेर हिँड्ने पुराना ‘इन्साइक्लोपिडिया’ वा डाटा ट्रान्सफर गर्ने निर्जीव साधन मात्र भएर पुग्दैन । उसले विद्यार्थीको तीव्र गतिमा बदलिँदो मनोविज्ञान, संवेग र डिजिटल साक्षरतालाई सूक्ष्मरूपमा बुझ्ने कुशल सहजकर्ता र मेन्टर बन्नु आवश्यक छ । पुराना शाश्वत, रैथाने मानवीय मूल्यहरू र आधुनिक प्रविधिको तीव्र गतिबीचको यो विकराल द्वन्द्वलाई कम गर्न हाम्रो परम्परागत शिक्षण विधिलाई समयसापेक्ष, प्रविधिमैत्री र प्रयोगात्मक बनाएर आमूल परिमार्जन गर्नै पर्छ । विद्यार्थीका नवीन जिज्ञासा र तार्किक प्रश्नहरूलाई सहर्ष स्वीकार गर्दै तिनलाई जीवनको बृहत्तर अर्थ, सामाजिक उत्तरदायित्व र नैतिकतासँग जोड्न सक्नु नै आजको शैक्षिक नेतृत्वको प्रमुख चुनौती हो । ज्ञानलाई परीक्षा उत्तीर्ण गर्ने साधन मात्र नभई जीवन जिउने एउटा उत्कृष्ट, सन्तुलित र बहुआयामिक कलाका रूपमा पुनःस्थापित गर्नु नै आजको शैक्षिक जगत्को अन्तिम समाधान हो ।