पारिवारमा शान्तिको खोजी

376
Shares

मानिसलाई व्यक्तिगत शान्तिको आवश्यकता छ । व्यक्तिगत शान्ति नभएसम्म यो संसारमा कहिल्यै शान्ति स्थापना हुन सक्दैन । हाम्रो देशको अवस्थालाई नियाल्ने हो भने, महिला र पुरुषका बीचमा जस्तो समझदारी विकसित हुनुपथ्र्यो त्यसरी विकसित भएको पाइँदैन । यसकै कारणले धेरैजसो आपसी कलह हुने गर्छ । त्यो झगडा सृजना हुन नदिन अनि घरमा शान्ति कायम राख्नका लागि मानिसले के गर्नुपर्छ ?

सबैभन्दा पहिला त महिला र पुरुष दुवैले एक–अर्कालाई राम्रोसँग बुझ्नु आवश्यक छ । अनि ‘दुवै मानिस हुन्’ भन्ने कुरा बोध गर्नु पनि उत्तिकै आवश्यक छ । प्रकृतिले महिला र पुरुष दुवैलाई बनायो, किनभने दुवै मिलेर अघि बढ्न सकून् । विवाहपश्चात् चाहे ऊ नारी या पुरुष जो भए पनि उसलाई जीवनमा कुनै न कुनै कमीको महसुस भएको हुन्छ । त्यो अभावले उसलाई सताएकै कारणले ऊ चिन्तित भएर त्यो चिन्तालाई कोही अरूमाथि पोख्न चाहन्छ । उसलाई थाहा छ, आफ्नो समस्या अन्यत्र त पोख्न सकिन्न ।

फलतः जसलाई उसले माया गर्नुपर्ने हो तिनै बालबालिकामाथि आफ्नो कुण्ठा पोख्न थाल्छ । परिवारमा यस्तो अवस्था उत्पन्न हुनुको मूल कारण के हो ! किनभने, एउटा मान्छे आपूmभित्र अभाव महसुस गरिरहेको छ । उसलाई देखेपछि बिस्तारै–बिस्तारै परिवारका अरू सदस्य पनि दुःखी हुन थाल्छन् ।

एउटा गाउँमा एकजना एकदमै पारङ्गत सन्त आएका थिए । राजकुमारीलाई यो कुरा थाहा भएपछि उनी निकै उत्साहपूर्वक भेट गर्न गइन् । राजकुमारीले सन्तसँग जिज्ञासापूर्वक सोधिन्, ‘कृपया ! मलाई मेरो भविष्य बताइदिनुहोस् न !’
तब सन्त भन्छन्, ‘मलाई थाहा छ, तिम्रो भविष्य कस्तो छ । तिम्रो कारणले युद्ध हुनेछ, जसले गर्दा धेरै मानिसले मर्नुपर्ने छ ।’ राजकुमारीले अत्तालिएर भनिन्, ‘म मेरो कारणले कुनै युद्ध नहोओस् र मेरो कारणले कसैको मृत्यु पनि हुनुहुँदैन भन्ने चाहन्छु । कृपया, कुनै उपाय बताइदिनुहोस् ।’

त्यसपछि सन्त राजकुमारीलाई सम्झाउँदै भन्छन्, ‘ठीक छ, यदि तिमी भविष्यमा यस्तो केही नहोओस् भन्ने ठान्छ्यौ भने यसका लागि म तिमीलाई एउटा उपाय बताइदिन्छु– तीनवटा कुरालाई यदि तिमीले पालना ग¥यौ भने यो सबै कुरा हुँदैन । तिमीले मात्रै तीनवटा कुरालाई पालना गर्नुपर्छ ।’

राजकुमारी सोध्छिन्, ‘त्यो के हो ?’ सन्त भन्छन्, ‘पहिलो– कसैलाई अपमान नगर्नू । दोस्रो– यदि कसैले तिम्रो अपमान गरे भने नरिसाउनू । अनि तेस्रो कुरा– यदि तिमीले अपमान व्यहोर्नु पनि प¥यो र तिमीलाई रिस उठ्यो भने पनि कहिल्यै बदला नलिनू ।’
तर जब द्रौपदीको विवाह भयो, दुर्योधन चिप्लिएर पानीमा खसेपछि द्रौपदीले हाँसोमा उडाइन् । यो घटनाले दुर्योधनलाई ठेस लाग्यो । त्यसपछि चीरहरण भयो, फलस्वरूप द्रौपदीलाई पनि ठेस लाग्यो । उनले बदला लिने बारेमा सोचिन् । यसै कारण युद्ध भयो ।

यदि यी तीनवटा कुरालाई हामीले आफ्नो परिवारमा अपनायौँ भने– पहिलो कुरा त श्रीमान्–श्रीमती दुवैले एक–अर्कालाई ठेस पु¥याउने कुनै कुरा नगरून् । यदि ठेस पुगिहाल्यो भने पनि बदलाको भावना नराख्ने हो भने सबै कलह र शङ्का हटेर जान्छ ।

चाहे जस्तोसुकै परिवार भए पनि हरेक दिन मानिसले परिवारमा शान्ति स्थापना गर्ने कोशिश गर्नु आवश्यक छ । मानिसहरू त एकपटक केही गरिदिएपछि सधैँ शान्ति स्थापना हुन्छ भन्ने ठान्छन् तर यस्तो हुँदैन । तपाईं खाना खानुहुन्छ, के एकपटक मात्रै खानुहुने हो त ? होइन ! हरेक दिन खानुपर्छ, किनभने हरेक दिन खानु आवश्यक हुन्छ । तिर्खा लागेका बेलामा तपाईंले पानी पिउनुपर्ने हुन्छ । यो आवश्यकताको कुरा हो । परिवारका लागि शान्तिको आवश्यकता पनि यस्तै हुन्छ । यसका लागि सबैभन्दा पहिला तपाईंले नै शुरुवात गर्नुपर्छ । त्यसपछि तपाईंले अरूसमक्ष शान्तिको माहोल सिर्जना गर्न सक्नुहुन्छ ।

हिजोआज धेरैजसो घरमा अशान्तिको मूल कारक बच्चाहरू हुन्छन् । आमाबुबाको कुराले चिन्तित भएर– या त उनीहरूले गलत कदम उठाउन पुग्छन् या त घर छाडेर हिँड्छन् । यसका लागि उपाय के हुन्छ ? बालबालिकाले जति पनि हैरानी व्यहोर्छन्, त्यस कुरामा उनीहरूले आफ्ना आमाबुबालाई नै दोषी ठह¥याउँछन् । चाहे श्रीमान्ले श्रीमतीलाई या श्रीमतीले श्रीमान्लाई या बच्चाले आफ्ना आमाबुबालाई दोषारोपण गरून्, उनीहरूका सपना पूरा नभएपछि त्यसको दोषी आपूmलाई ठान्दैनन् । उनीहरूले आमाबुबालाई दोष दिन्छन्– ‘तपाईंहरूले यदि केही गर्नुभएको भए, तपाईंहरू पढालेखा हुनुभएको भए, तपाईंहरूले यसो गर्नुभएको भए त मेरो सपना पूरा हुन्थ्यो नि !’ तर मानिसले आपूmतिर हेर्न शुरु गरेपछि उसमा परिवर्तन आउन सक्छ ।

यदि मेरो अनुहारमा केही कालो दाग लागेको छ भने त्यसलाई मैले कसरी देख्न सक्छु ? मेरो आँखा पनि त छ । मेरो आँखाले सबैलाई देख्न सक्छ तर मलाई नै देख्न सक्दैन । यदि मेरो आँखाले मलाई हेर्नुप¥यो भने मलाई ऐनाको आवश्यकता पर्दछ । हिजोआजको समयमा ऐना सबैतिर फर्केको छ तर मतिरचाहिँ फर्केको छैन । जब ऐनालाई मतिर फर्काउँछु तब मात्रै मैले मेरो मुखमा लागेको कालो चीजलाई देख्न सक्छु अनि म त्यसलाई सफा गर्न सक्छु ।

एकदमै सामान्य कुरा हो तर भनाइको अर्थ के हो भने, दोष हामी एक–अर्कालाई दिन्छौँ तर हामीले ‘मैले यस्तो के गरेँ’ भनेर आपूmतिर हेर्दैनौँ । आमाबुबाले हामीलाई जन्म दिनुभयो । यसका लागि हाम्रो जीवनमा हामीभित्र आभार हुनुपर्छ । चाहे उहाँहरूले मेरा लागि अरू केही नगर्नुभएको भए पनि, मेरा सपनालाई पूरा गर्न नसक्नुभएको भए पनि केही छैन । मलाई जन्म त दिनुभयो । मेरो जन्म भएकै कारणले मलाई जीवन प्राप्त भएको छ । त्यसकारण ममा शक्ति छ– म स्वयंले नै आफ्नो सपनालाई साकार पार्न सक्छु । बालबालिकाले यो कुरा बुझेपछि धेरै कुरा बदलिन सक्छ ।

तपाईंको जीवनमा चारवटा कुरा हुनुपर्छ– एउटा कुरा त के हो भने, आपूmले आपूmलाई चिन्नुहोस् । दोस्रो कुरा, तपाईंको जीवनमा आभार हुनुपर्छ । वास्तवमा हामी त आपूmसँग के छैन भनेर हेर्छौं । के छ भनेर कहिल्यै हेर्दैनौँ । कसैले भन्छ– ‘तपाईंसँग त्यस्तो कार छ अनि मसँग यस्तो कार छ । तपाईंको कार मेरोभन्दा राम्रो छ । मलाई तपाईंको जस्तै कार चाहिएको छ ।’

मानिसहरूले यो श्वास हामीभित्र आइरहेको छ, गइरहेको छ अनि यसको महत्त्व कति छ भनेर हेर्दैनन् ! यदि कसैले आफ्नो श्वासलाई बेच्न सक्ने भए यो संसारमा कोही गरिब नै रहने थिएन । तर, यो अमूल्य चीज हो अनि यसका लागि हामीसँग कुनै आभार नै छैन ।

तेस्रो कुरा अत्यन्तै आवश्यक छ । त्यो के हो भने– ‘कसैले मेरा बारेमा के सोचिरहेको छ भनेर यस कुरालाई वास्ता नगर्नुहोस् ।’ त्यस्तै चौथो कुरा के हो भने, हामी आफ्नो जीवनमा असफल र असफलताका बारेमा बुझौँ । असफल त हामी अवश्य हुन्छौँ तर हामीले असफलतालाई कहिल्यै स्वीकार गर्नुहुँदैन । हामी बालापनमा हिँड्न सिकिरहेका बेलामा धेरैपटक असफल पनि भएका थियौँ । उभियो, फेरि लड्यो तर हामीले कहिल्यै पनि हार मानेनौँ । यदि हामीले आफ्नो जीवनमा यी सबै कुरालाई अपनायौँ भने हाम्रो जीवनमा एउटा ठूलो परिवर्तन आउन सक्छ । आफ्नो परिवारको दुईवटा कुरा भए पनि सुन्नुहोस् । यदि ती दुईवटा कुरा सुन्न थाल्नुभयो भने त्यो एकदिन तीन शब्दमा बदलिनेछ– ‘आई लभ यु’ अर्थात् ‘म तपाईंलाई माया गर्छु ।’

हामीले आफ्नो जीवनमा, आफ्नो काँधमा विनाकामको बोझ उठाएका छौँ, जुन हामीलाई केही काम लाग्दैन । यसले अहिले पनि तपाईंलाई दुःख दिइरहेको छ र पछि पनि दुःख दिइरहन्छ । जबसम्म तपाईं त्यस बोझलाई आफ्नो काँधबाट तल राख्नका लागि सोच्नुहुन्न, त्यसको उपायका बारेमा जानकारी लिनुहुन्न तबसम्म त्यो बोझ भइरहनेछ । परिणामतः तपाईंले आपूmभित्र रहेको चीजको फाइदा लिन सक्नुहुन्न । किनभने, मनका कामनाहरू हुन्छन्, मन त प्रिन्टरजस्तै हो । यसले फोटो प्रिन्ट गरिरहन्छ– ‘हेर्दा यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ ।’ जिन्दगीमा ती कुराहरू प्राप्त नभएपछि मानिस दुःखी हुन्छ– ‘मेरो यो इच्छा पूरा भएन । मेरो यो कुरा पूरा भएन ।’

हामी आफ्नो जीवनमा के चाहन्छौँ भन्ने कुरा त हामीमाथि नै निर्भर रहन्छ । कसैलाई पनि निराशा मन पर्दैन । दुःख कसैलाई पनि राम्रो लाग्दैन । यसर्थ हामी सबै दुःखबाट बच्न चाहन्छौँ । हामी सबै निराशाबाट बाहिरिन चाहन्छौँ । सबैले निराशा नहोओस् भन्ने चाहना राख्छन् । यद्यपि जबसम्म हामीले यस्तो स्रोत खोज्दैनौँ, जुन स्रोतबाट केवल आशा नै आशा मात्र प्राप्त हुन्छ, तबसम्म हाम्रो जीवनमा दुःख नै नहोओस्, निराशा नै नआओस् भन्ने कुरा कसरी सम्भव होला र ! किनकि, हामीलाई थाहा नै हुँदैन । हामीले आपूmभित्र बसेको आनन्द र हामीभित्र अवस्थित परमात्मा हाम्रै स्रोत हुन् भन्ने कुरा बुझेपछि हामी कहिल्यै पनि निराश हुनुपर्दैन । चाहे जेसुकै होओस्, हाम्रो जीवनमा उनी सधैँ हाम्रो साथमा छन् । दुःखमा अनि सुखमा पनि । तिनै एउटा यस्ता चीज हुन्, जसले दुःखमा पनि हामीलाई सुख दिन सक्छन् । अनि उनी नै एउटा यस्ता चीज हुन्, जसले सुखमा रहँदा पनि सुखलाई अभैm बढाउन सक्छन् ।

कति व्यक्तिहरुले कुवा खन्छन्, अनि कुवा खनेपछि पनि त्यो सुकेर जान सक्छ । सुकेपछि उनीहरु चिन्तित हुन्छन् । वर्षातको मौसम आएपछि थोरै–थोरै गरेर त्यसमा पानी जम्मा हुन थाल्छ । त्यसपछि त्यो कुवा भरिन्छ । तसर्थ, यस्तो कुवा चाहिन्छ, जुन कुवा सधैँभरि गर्मी या जाडोमा, वर्षात या सुख्खा समयमा पनि भरिएको होओस् । त्यस्तो कुनचाहिँ वस्तु छ ? त्यस्तो चीज तपाईंभित्रै छ । त्यस्तो चीज तपाईंभित्र भएका कारणले तपाईं भाग्यशाली हुनुहुन्छ । तपाईं तिर्खाएर आत्तिनुपर्ने आवश्यकता छैन । किनकि, तपाईंभित्र एउटा यस्तो कुवा छ, जसमा अटुटरूपमा पानी हुन्छ । त्यस्तो चीज तपाईंभित्र छ । तथापि, जबसम्म तपाईंले त्यही चीजलाई आफ्नो जीवनमा यी कुराहरूको स्रोतका रूपमा हेर्नुहुन्न, जबसम्म हामी आपूmले आपूmलाई चिन्दैनौँ, पहिचान गर्दैनौँ, जबसम्म हामी आफ्नो जीवन सचेतरूपले जिउँदैनौँ, आफ्नो हृदय आभारले भरिपूर्ण तुल्याउँदैनौँ तबसम्म यो संसारमा केही न केही त भइरहन्छ । तसर्थ, त्यो चीज, त्यो स्रोतलाई चिन्नुहोस् र पहिचान गर्नुहोस्, जसले गर्दा तपाईंको जीवनमा पनि त्यो साँचो आनन्द प्राप्त होओस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागिwww.premrawat.com)