काठमाडौं।
ललितपुरको पुल्चोकस्थित लबिम मलमा विश्वप्रसिद्ध सौन्दर्य ब्रान्ड द बडी शपले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ।
क्रुएल्टी–फ्री (पशु परीक्षणविहीन) सौन्दर्य उत्पादन तथा दिगो व्यवसायिक अभ्यासका लागि परिचित ब्रान्डले नेपालमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने उद्देश्यसहित नयाँ शाखा सुरु गरेको हो।नयाँ स्टोरको औपचारिक उद्घाटन बिहीबार नेपालका लागि बेलायती राजदूत रोव फेनले रिबन काटेर गरेका थिए।
द बडी शपले दरबारमार्गस्थित आफ्नो विद्यमान स्टोरसँगै लबिम मलको नयाँ शाखामार्फत नैतिक तथा जिम्मेवार सौन्दर्य उत्पादनलाई उपभोक्तासम्म अझ सहज रूपमा पुर्याउने लक्ष्य लिएको जनाएको छ।

द बडी शप नेपालकी निर्देशक सरु आर्याल प्रधानले नयाँ स्टोर सञ्चालनलाई व्यापार विस्तारभन्दा पनि दिगोपना र नैतिक सौन्दर्य उद्योगप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गरिन्।
“लबिम मलमा नयाँ स्टोर सञ्चालन गर्नु केवल अर्को खुद्रा बिक्री केन्द्र थप्नु मात्र होइन, यो नेपालमा नैतिक सौन्दर्य, दिगोपना र सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतीक हो,” उनले भनिन्।
कम्पनीका अनुसार व्यापार विस्तारसँगै महिला नेतृत्वको प्रवर्द्धन, जिम्मेवार उद्यमशीलता, सामुदायिक कल्याण तथा दिगो व्यवसायिक अभ्यासलाई समेत प्राथमिकता दिइएको छ। नयाँ स्टोरमार्फत ग्राहकहरूले अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय स्किनकेयर, बडी केयर, हेयरकेयर, सुगन्ध तथा वेलनेससम्बन्धी उत्पादनहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
सन् १९७६ मा बेलायतमा स्थापना भएको द बडी शप विश्वभर क्रुएल्टी–फ्री सौन्दर्य अभियान, कम्युनिटी ट्रेड साझेदारी तथा वातावरणमैत्री व्यवसायिक मूल्यका लागि परिचित छ। पशु परीक्षणविरुद्धको स्पष्ट अडान र नैतिक स्रोतबाट प्राप्त सामग्रीको प्रयोगका कारण द बडी शप जिम्मेवार सौन्दर्य ब्रान्डका रूपमा स्थापित भएको छ।

लबिम मलमा नयाँ स्टोर सञ्चालनसँगै कम्पनीले नेपाली उपभोक्तामाझ पशु परीक्षणविहीन, नैतिक तथा दिगो सौन्दर्य उत्पादनको पहुँच अझ व्यापक हुने विश्वास व्यक्त गरेको छ।











प्रतिक्रिया