काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र राजनीतिक सरगर्मी बढेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी वैचारिक, सांगठनिक तथा राजनीतिक दिशा तय गर्ने भएकाले यसलाई रास्वपाका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
पार्टीले वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गर्दै महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् भने केही जिल्लामा प्राविधिक कारणले अधिवेशन बाँकी रहेको सो पार्टीले जनाएको छ । रास्वपाले ६१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको थियो भने बाँकी जिल्लामा दोस्रो चरणमा अधिवेशन गर्ने तयारी गरेको छ ।
महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट प्रक्रियासमेत पूरा भइसकेको छ । प्रदेश अधिवेशनमार्फत निर्वाचित प्रतिनिधिहरू, जिल्ला तथा स्थानीय तहबाट चयन भएका प्रतिनिधिहरू र पार्टी विधानले तोकेका पदाधिकारीहरू महाधिवेशनमा सहभागी हुनेछन् । रास्वपाले आफ्नो स्थापना दिवसकै अवसर पारेर चितवनमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । पार्टी नेतृत्वका अनुसार महाधिवेशनले संगठनलाई संस्थागत बनाउने, नेतृत्व चयन गर्ने तथा आगामी राजनीतिक रणनीति तय गर्नेछ ।
चार वर्षअघि स्थापना भएको रास्वपाले छोटो अवधिमै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाएको थियो । तर, पार्टी विस्तारसँगै संगठनभित्र शक्ति सन्तुलन, नेतृत्व व्यवस्थापन र विचारगत बहस पनि तीव्र बन्दै गएको देखिन्छ ।
पार्टीभित्र अध्यक्ष पदमा वर्तमान सभापति रवि लामिछाने नै पुनः निर्वाचित हुने सम्भावना बलियो रहेको नेताहरू बताउँछन् । पार्टीको स्थापना, विस्तार र राष्ट्रिय पहिचानसँग लामिछानेको प्रत्यक्ष सम्बन्ध भएकाले अध्यक्ष पदमा चुनौती कमजोर देखिएको उनीहरूको भनाइ छ ।
तर, बालेन शाह समर्थक भूपदेव शाह पनि अध्यक्षको आकांक्षी रहनुभएको छ । महाधिवेशन नजिकिँदै जाँदा अन्य पदहरूमा भने प्रतिस्पर्धा बढिरहेको छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री, सचिव र केन्द्रीय सदस्य पदमा आकांक्षीहरूको संख्या उल्लेख्य रहेको बताइन्छ ।
रास्वपाका एक केन्द्रीय नेताले नाम नछाप्ने सर्तमा भने, ‘अध्यक्ष पदमा ठूलो प्रतिस्पर्धा नदेखिए पनि पदाधिकारी र केन्द्रीय सदस्यमा निकै कडा प्रतिस्पर्धा हुनेछ । यो महाधिवेशन नेतृत्व चयनभन्दा पनि संगठनभित्रको शक्ति सन्तुलन परीक्षण गर्ने मञ्च बन्ने देखिन्छ ।’ पार्टीभित्र विभिन्न समूहबीचको प्रतिस्पर्धा जिल्ला र प्रदेश अधिवेशनमै देखिएको थियो । कतिपय जिल्लामा सर्वसम्मत नेतृत्व चयन भए पनि केही स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियो ।
वागमती, कोशी, गण्डकी, लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सम्पन्न अधिवेशनहरूले पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यास देखाएको नेताहरूको दाबी छ । यद्यपि, केही स्थानमा नेतृत्व चयनका क्रममा समूहगत ध्रुवीकरण देखिएको र महाधिवेशनमा पनि त्यसको प्रभाव पर्न सक्ने आँकलन गरिएको छ । रास्वपाको स्थापना कालदेखि नै नयाँ पुस्ताको नेतृत्वलाई अगाडि ल्याउने एजेन्डा रहेको छ ।
यही कारण आगामी महाधिवेशनबाट पनि अपेक्षाकृत युवा नेतृत्वलाई प्राथमिकता दिने तयारी भइरहेको बताइन्छ ।
पार्टीका एक नेताका अनुसार संगठनलाई थप ऊर्जावान् र गतिशील बनाउन युवा पुस्तालाई बढी अवसर दिने विषयमा नेतृत्व तहमा सहमति देखिएको छ । पार्टीलाई परम्परागत राजनीतिक संस्कारभन्दा फरक पहिचान दिने उद्देश्यले नयाँ अनुहारलाई नेतृत्वमा ल्याउने रणनीति बनाइएको ती नेताको भनाइ छ ।
रास्वपा अहिले सत्तारुढ दलको रूपमा रहेको छ । सरकारमा सहभागी भएपछि पार्टीले प्रशासनिक अनुभव प्राप्त गरे पनि जनअपेक्षा पूरा गर्ने चुनौतीसमेत सामना गरिरहेको छ । सार्वजनिक सेवा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाहमा सुधारका विषयमा पार्टीले गरेका प्रतिबद्धताहरूको कार्यान्वयनको मूल्यांकनसमेत महाधिवेशनमा हुने सम्भावना छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार विपक्षमा हुँदा लोकप्रिय नारा दिन सजिलो भए पनि सत्तामा पुगेपछि परिणाम देखाउनुपर्ने भएकाले रास्वपाको परीक्षा अहिले सुरु भएको छ । महाधिवेशनमा अर्को महत्वपूर्ण बहस संगठन विस्तार र सत्ता व्यवस्थापनबीच सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा केन्द्रित हुने देखिन्छ ।
पछिल्लो समय पार्टीले देशव्यापी संगठन निर्माण अभियान सञ्चालन गरेको छ । वडा, पालिका, जिल्ला र प्रदेश तहमा संगठन विस्तारले पार्टीको आधार विस्तार भएको दाबी गरिए पनि त्यसलाई संस्थागत बनाउने चुनौती अझै बाँकी रहेको नेताहरूले स्वीकार गरेका छन् । महाधिवेशनले केन्द्रीय कमिटीको आकार, संरचना, जिम्मेवारी विभाजन तथा पार्टी सञ्चालन पद्धतिबारे पनि महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।
चितवन महाधिवेशनलाई रास्वपाको नियमित सांगठनिक कार्यक्रम मात्र नभई पार्टीको भविष्य निर्धारण गर्ने निर्णायक अवसरका रूपमा हेरिएको छ । नयाँ नेतृत्व चयन, वैचारिक स्पष्टता, संगठन सुदृढीकरण र सरकारमा रहँदा देखिएको कार्यशैलीको समीक्षा, यी सबै विषय महाधिवेशनका मुख्य एजेन्डा बन्ने देखिन्छन् ।
रास्वपाले आफूलाई पुराना राजनीतिक दलको विकल्पका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको अवस्थामा पहिलो महाधिवेशनको सफलता वा असफलताले पार्टीको आगामी राजनीतिक यात्रामा प्रत्यक्ष प्रभाव पार्नेछ । त्यसैले चितवनमा हुने तीनदिने महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियामात्र नभई रास्वपाको राजनीतिक परिपक्वताको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ ।











प्रतिक्रिया