पेटभित्र लुकाएर ल्याएको डेढ किलो कोकिनसहित तीन जना पक्राउ


काठमाडौं ।

लागू औषध नियन्त्रण ब्युरोले पेटभित्र लुकाएर नेपाल भित्र्याइएको करिब डेढ किलो कोकिनसहित एक विदेशी नागरिक र दुई भारतीय महिलालाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत काठमाडौं आउने विदेशी नागरिकहरूको निगरानी गर्ने क्रममा जेठ २६ गते कतार एयरवेजको उडान नम्बर QR-646 मार्फत इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका ४३ वर्षीय एक विदेशी नागरिकलाई शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक जाँचका क्रममा काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित होटलमा बसिरहेका ती व्यक्तिको साथबाट मुखमार्फत निलेर पेटभित्र लुकाई ल्याइएका १६ वटा प्लास्टिक कोटेड कोकिन क्याप्सुल फेला परेको ब्युरोले जनाएको छ।

थप अनुसन्धानका क्रममा स्वास्थ्यकर्मीको सहयोगमा उपचार प्रक्रियामार्फत उनको पेटभित्र रहेका अन्य ६० वटा क्याप्सुल समेत निकालिएको थियो। यसरी कुल ७६ वटा प्लास्टिक कोटेड क्याप्सुलबाट १ किलो ५०० ग्राम कोकिन बरामद गरिएको ब्युरोले जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान अघि बढाउने क्रममा उक्त कोकिन भारतको दिल्लीबाट काठमाडौं ल्याउन सहयोग गरेको आशंकामा ठमेलस्थित होटलमा आएका दुई भारतीय महिलालाई समेत जेठ ३१ गते पक्राउ गरिएको ब्युरोले जनाएको छ।

पक्राउ पर्नेहरूमा ४३ वर्षीय एक विदेशी नागरिक तथा भारतको हिमाचल प्रदेश निवासी ३६ वर्षीया रुविनी र ३१ वर्षीया सोनिया रहेको ब्युरोले जनाएको छ।

उनीहरूको साथबाट एक थान राहदानी, दुई थान भारतीय आधार कार्ड र तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ।

लागू औषध नियन्त्रण ब्युरोले पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय लागू औषध तस्करीमा संलग्न नेटवर्कको पहिचान तथा संलग्न अन्य व्यक्तिहरूको खोजीका लागि अनुसन्धान जारी रहेको छ।