फार्महाउस बनेको थियो ट्रामाडोलको गोदाम, २ लाखभन्दा बढी क्याप्सुलसहित १३ जना पक्राउ


काठमाडौं ।

फार्महाउसको आवरणमा नियन्त्रित लागूऔषध ट्रामाडोल तथा अन्य लागूऔषधको अवैध कारोबार गर्दै आएको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौंको टोखा र चन्द्रागिरि क्षेत्रमा सञ्चालित केही फार्महाउसलाई निगरानीमा राखी गरेको विशेष अपरेशनका क्रममा भारतबाट लागूऔषध ल्याएर फार्महाउस परिसरभित्र जमिनमा खाडल खनेर लुकाई राख्ने तथा मागअनुसार बजारमा बिक्री वितरण गर्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार २०८३ जेठ २७ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको अभियानमा नियन्त्रित लागूऔषध ट्रामाडोल २ लाख ९ हजार क्याप्सुल, बुप्रेनोर्फिन, डाइजेपाम र फेनार्गन २ हजार ४ सय एम्पुल, नगद ७ लाख ८७ हजार ५ सय रुपैयाँ तथा विभिन्न कम्पनीका २८ थान मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट, रुपन्देही, भक्तपुर, सिन्धुली, कालिकोट, बाजुरा, बारा, पर्सा र काठमाडौंका विभिन्न स्थानका १३ जना रहेका छन्। उनीहरूमा पुरुष र महिला दुवै संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये नुवाकोटका निमा तामाङ र विक्रम लामा, रुपन्देहीका सागर बुढाथोकी, भक्तपुरका उद्धव श्रेष्ठ र विकास काफ्ले, सिन्धुलीकी माया विश्वकर्मा, कालिकोटका खड्क रोकाया र कमला थामी, बाजुराकी मेनुका थामी, बाराका प्रदीप भनिने सञ्जय साह सोनार, पर्साका प्रमोद प्रसाद कलवार तथा काठमाडौंका मोनिका श्रेष्ठ र सुशील (थर नखुलेको) रहेका छन्।

प्रहरीले फार्महाउस, गोदाम तथा उच्च जोखिमयुक्त अन्य स्थान प्रयोग गरी लागूऔषध लुकाउने र वितरण गर्ने सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ।

प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति र सम्भावित सञ्जालबारे पनि अनुसन्धान जारी रहेको छ।