काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावास र पाकिस्तान नेपाल एल्मुनाई नेटवर्क (पीएनएएन) को संयुक्त आयोजनामा नागार्जुन नगरपालिका–४ मा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो।
स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित शिविरमा पाकिस्तानबाट अध्ययन पूरा गरेका चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो। शिविरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको दूतावासले जनाएको छ। परीक्षणका क्रममा केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा रिफर गरिएको छ भने आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।

कार्यक्रममा पीएनएएनका अध्यक्ष डा. दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा, स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो। पाकिस्तानी दूतावासले स्वास्थ्य शिविर सफल बनाउन सहयोग पुर्याउने पीएनएएनका चिकित्सक, स्थानीय निकाय तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै उपप्रमुख सुशीला अधिकारीले नागार्जुनका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तानी दूतावास र पीएनएएनलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले समुदायको स्वास्थ्य सेवामा सकारात्मक योगदान पुर्याउने बताइन्।

त्यसैगरी, पीएनएएनका अध्यक्ष डा. मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तानी दूतावासले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यक्रमले नेपाल–पाकिस्तानबीचको जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।दूतावासका अनुसार शिविर नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सामाजिक सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।











प्रतिक्रिया