एजेन्सी।
अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’ भएको घाेषणा भएसँगै एशियाली बजारमा कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ ।
पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको हो । बीबीसीले अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घट्दै प्रति ब्यारेल ८३ अमेरिकी डलर ८१ सेन्टमा झरेको जनाएकाे छ । त्यस्तै, अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य करिब ४ दशमलव ७ प्रतिशतले घटेर प्रतिब्यारेल ८० डलर ८९ सेन्टमा पुगेको हाे।
विशेषज्ञहरूले आगामी केही दिन तेल बजार अत्यन्त अस्थिर रहने अनुमान गरेका छन् । इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरुद्ध भएको थियो । जहाँबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा एलएनजी आपूर्ति हुने गर्छ ।
ऊर्जा विश्लेषक एन्ड्रयू लिपोले यो मार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्ने जनाएकाे छ । युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल करिब ७० डलरबाट बढेर करिब १ सय २० डलरसम्म पुगेको थियो ।
पश्चिम एशियामा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एशियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको विशेषज्ञहरूले बताएका छन् ।











प्रतिक्रिया